नियमविपरीत १६ जिल्लामा कामु सिडिओ

दियो पोस्ट  

६ महिनाभन्दा बढी समय कामुमा खटाउन नपाइने तथा ६ महिनापछि स्वतः निमित्त हुने प्रावधानविपरीत कामु सिडिओ

काठमाडौं, मंसिर १६ । निजामती सेवा ऐनको व्यवस्थाविपरीत सरकारले १६ जिल्लामा ६ महिनाभन्दा बढी समयदेखि कायममुकायम प्रमुख जिल्ला आधिकारी (सिडिओ) खटाएको छ । सहसचिवको दरबन्दी भएका जिल्लाहरूमा ६ महिनाभन्दा लामो समयदेखि उपसचिवहरूले कामु सिडिओका रूपमा काम गर्दै आएका हुन् । निजामती ऐनमा कुनै पनि कर्मचारीलाई ६ महिनाभन्दा बढी कायममुकायम बनाएर खटाउन नपाइने प्रावधान छ ।

इलाम, उदयपुर, सिन्धुली, सप्तरी, सिरहा, महोत्तरी, बारा, सिन्धुपाल्चोक, तनहुँ, बाग्लुङ, स्याङ्जा, गुल्मी, नवलपरासी, नवलपरासी (पूर्व), बर्दिया र डोटीमा ६ महिनाभन्दा लामो समयदेखि कामु सिडिओ छन् ।

सहसचिव अभाव भएकाले धेरै जिल्लामा उपसचिवलाई कामुको जिम्मेवारी दिएर खटाउनुपरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । ‘सहसचिवको अभाव भएकाले कामु सिडिओहरूलाई नै निरन्तरता दिइएको हो,’ उनले भने, ‘यसका लागि विगतको नजिरका आधारमा सरकारले सहसचिव उपलब्ध नभएसम्म उनीहरूलाई अधिकार दिएको छ ।’ लोकसेवा आयोगले सहसचिवको नयाँ विज्ञापन नखुलाएको र धेरै सहसचिवलाई प्रदेशमा खटाइएकाले पनि उपसचिवलाई कामु दिएर खटाउनुपरेको गृहका अधिकारी बताउँछन् ।

विगतमा पनि गृहले उपसचिवलाई कामु सिडिओका रूपमा खटाउने गरेको थियो । तर, ६ महिनासम्म मात्र कामुमा खटाउने गरिएकोमा यसपटक बढी समयसम्म निरन्तरता दिइएको छ ।

मन्त्रालय स्रोत भने सहसचिव नपाएर भन्दा पनि आफूनिकट व्यक्तिलाई सिडिओ बनाउन यस्तो ‘नीतिगत बदमासी’ गरिएको बताउँछन् । ‘सिडिओमा जान चाहने र अनुभवी थुप्रै सहसचिव छन्,’ मन्त्रालयका ती कर्मचारी भन्छ्न, ‘तर, निकटलाई सिडिओ बनाउन यसरी कामु बनाइएको हो, उपसचिव तहकै कर्मचारी ती जिल्लामा पर्याप्त हुन्छ भने सहसचिवको दरबन्दी किन चाहियो ?’

कामुको अवधि सकिएपछि सिडिओ लेख्दै
मन्त्रिपरिषद्बाटै निर्णय गराएर सहसचिव उपलब्ध नहुँदासम्म उपसचिवलाई कामु सिडिओका रूपमा खटाइएको थियो । तर, ६ महिनापछि पनि उनीहरूलाई नै निरन्तरता दिइएपछि कामु सिडिओले पनि सिडिओ मात्रै लेख्न थालेका छन् । जब कि निजामती सेवा ऐनमा कामुहरू ६ महिना सेवापछि स्वतः निमित्त हुने प्रावधान छ । १६ जिल्लामै कार्यरत कामु सिडिओहरूले निमित्तको सट्टा सिडिओकै रूपमा काम गर्दै आएका छन् ।

संवेदनशील जिल्ला पनि कामु सिडिओकै भरमा
सुरक्षाका दृष्टिले संवेदनशील जिल्ला पनि कामु सिडिओकै भरमा चलेका छन् । सिरहा, सप्तरी, महोत्तरी, बारा, नवलपरासी, बर्दियालगायत जिल्ला सुरक्षामा संवेदनशील मानिन्छन् । तर, यी जिल्लामा ६ महिनाभन्दा लामो समयदेखि कामु सिडिओ नै छ ।

गृहले सुरक्षा संवेदनशीलताकै आधारमा विभिन्न जिल्लाका सिडिओमा सहसचिवको दरबन्दी कायम गरेको थियो । तर, लामो समय उपसचिवलाई जिम्मेवारी दिँदा शान्तिसुरक्षालगायतमा असर पुग्न सक्ने गृहका अधिकारीहरूको चिन्ता छ ।

६ जिल्लाका सिडिओ फेरिए
गृह मन्त्रालयले शुक्रबार ६ जिल्लाका सिडिओ सरुवा गरेको छ । पर्सा, रौतहट, गोरखा, दाङ, अर्घाखाँची र मनाङका सिडिओ हेरफेर भएका हुन् । पर्सामा नारायण भट्टराईलाई पठाइएको छ । भट्टराई यसअघि गोरखामा कार्यरत थिए । पर्साका लोकनाथ पौडेललाई रौतहट तथा रौतहटका गोविन्द रिजाललाई दाङ सिडिओमा सरुवा गरिएको छ । दाङका गजेन्द्र श्रेष्ठलाई गोरखा खटाइएको छ ।

गृहका अनुसार अर्घाखाँचीमा प्रेमलाल लामिछाने र मनाङमा रुद्रनाथ देवकोटालाई पठाइएको छ । अर्घाखाँचीका खिमराज भुसाललाई अध्यागमन विभाग तथा मनाङका हरिप्रसाद पन्तलाई गृह मन्त्रालय सरुवा गरिएको छ । केहीको नियमित सरुवाअन्तर्गत र केहीलाई कार्यसम्पादन चित्त नबुझेकाले जिम्मेवारी हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।