काठमाडौं, १९ मंसिर । राजधानीको डिल्लीबजार स्थित सदरखोर कारागार भित्रको एउटा रहस्यमयि घटना बाहिर आएको छ । मनाङको प्रदेश नम्बर ‘ख’बाट निर्वाचित प्रदेश सांसद दीपक मनाङ उर्फ राजीव गुरुङले कारागार भित्रै एक व्यक्तिलाई कुटपीट गरेका छन् ।
डिल्लबजार सदरस्थित ब्लक ‘ख’ मा रहेका मनाङेले बुधबार दिउँसो एक व्यक्तिलाई निर्घात कुटपीट गरेको प्रत्यक्षदर्शीले दियोपोस्टलाई जानकारी दिए ।
‘करिब १ बजेर ३० मिनेट गएको थियो । बाहिर भेटघाट सकेपछि उहाँ भित्र आफ्नो कक्षमा प्रवेश गर्ने तयारीमा हुनुहुन्थ्यो । बाहिर एक जना कालो ज्याकेट लगाएका व्यक्तिलाई देखेपछि,‘जासुस्’ भन्दै कुट्न थाल्नु भयो,’ प्रत्यक्ष दर्शीले दियोपोस्टसँग भने,‘अनुहारमा मुक्कै मुक्काले प्रहार गरेपछि ती व्यक्ति थलिए । ती व्यक्ति म जासुस होइन यहीँको मान्छे हो भनिरहेको थियो ।’
ती प्रत्यक्षदर्शीका अनुसार कुटपीटबाट युवा घाइते हुँदा समेत नजिकै रहेका प्रहरी भने निरिह थिए ।
घटना भएको ८ घण्टा वितिसक्दा समेत कारागार प्रशासनले भने थाहा नपाएको बताएको छ ।
‘म साँढे एक बजेतिर अफिस पुगेको थिएँ । सामान्य केही हुँदा पनि मलाई जानकारी आउँछ,’ कारागार प्रमुख उपसचिव अरुण पोखरेलले दियोपोस्टसँग भने,‘सामान्य भनाभन भएको होला । त्यति ठूलो विषय होइन ।’
२०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समुहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समूहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घट्नामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङ्गेलाई पक्राउ गर्न पत्रचार गरेको थियो । सोही आधारमा उनलाई प्रहरीले पक्राउ गरी अदालत बुझाएको थियो ।
गत वैशाख ७ गते मनाङ्गे जेल चलान भएका थिए ।