‘प्रधानमन्त्रीज्यू क्रिस्चियन धर्मको मतियार बन्नु भो’
‘जसरी पनि प्रधानमन्त्रीको विरुद्ध रिट दायर गरेरै छोडछु’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विरुद्ध धर्म परिवर्तन गराएको आरोपमा नागरिकस्तरबाट आलोचना भएको छ । नागरिकबाट मात्र होइन नेकपाभित्रैका नेताहरुले समेत विवादित युनिभर्सल पिस फेडेरेशनको कार्यक्रममा सहभागी भएकोप्रति प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएका छन् ।
युनिभर्सल पिस फेडेरेशनका नेपाल स्थित प्रमुख एकनाथ ढकाल विरुद्ध धर्म परिवर्तन गराएको मुद्दा काठमाडौं प्रहरी कार्यालयमा पुगेपनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
प्रधानमन्त्री ओली र ढकाल विरुद्ध हेटौंडा उपमहानगरपालिका ७ घर भएका हाल काठमाडौं हनुमानस्थान बस्दै आएको अधिवक्ता भुपेन्द्र पोखरेलले जाहेरी दिएपनि प्रहरीले दर्ता गर्न नमानेपछि बहस र चर्चाको विषय बनेको छ ।
राजधानीको ह्यात होटलमा सम्पन्न एशिया प्यासिफिक सम्मेलनका क्रममा धर्म परिवर्तन गरार्ईएको भन्दै जाहेरी बोकेर हिडेका अभिवक्ता पोखरले सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन कार्यालय र सर्वोच्च अदालतसम्म पुगेर भएपनि रिट दर्ता गराएर छोडने अठोट लिएका छन् । यसै विषयमा अभिवक्ता पोखरेलसँग दियो पोष्टले गरेको कुराकानीः–
प्रधानमन्त्री केपी ओलीको विरुद्ध उजुरी लिएर किन प्रहरी कार्यालय जानुभयो ?
–धर्म परिवर्तन गराएको अवस्थामा सुरुमा प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ । सबुत प्रमाण जुटाउने काम भनेको प्रहरीको हो । त्यहीँ भएर महानगरीय प्रहरी परिसरमा जाहेरी लिएर गएको हुँ ।
तर प्रहरीले तपाईको जाहेरी त लिन मानेन नि होइन ?
–काठमाडौं प्रहरीका कार्यालय प्रमुखले यो प्रमाण पुर३याउन सक्नुहुन्न । प्रधानमन्त्रीले धर्म परिवर्तन गराएको के आधार छ भनेर सोध्नु भो । मैले मिडियामा आएका विषयवस्तु हेर्न आग्रह गरेँ । पत्रिकामा आएका छन् ।
टेलिभिजनमा आएका छन । अनलाइनमा आएको यो नै प्रमाण हो भने । होटल हायतमा भएको कार्यक्रम हेर्नु नै प्रमाण हो भनेर कुरा राखे । तर उहाँले तपाई राजनीति गर्ने हो भने सडकमा जानुहोस भनेर जवाफ दिनुभयो । नत्र थुन्न पनि बाँध्य हुनेछु भनेर धम्की पनि दिनुभयो । राजनीतिक इस्यु लिएर प्रहरीकोमा आउने ? भनेर तर्साउने काम भयो
अब के प्रमाण पुर्याएर जानुहुन्छ ?
–प्रमाण भनेको मैले जुटाउने होइन । प्रमाण जुटाउने काम प्रहरीको हो । हामीले देशको हित विपरीत आएको विषयवस्तुलाई आधिकारीक रुपमा जाहेर गर्ने हो । सूचना दिने हो ।
मिति दिन र समयको बारेमा जानकारी गराएपछि प्रमाण पुर्याउने काम त सरकारको हो । यो त सरकारवादी मुद्दा हो । मैले त जाहेरी दिने हो । उक्त जाहेरीको आधारमा संलग्न व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाउने नचलाउने काम सरकारी वकिल मार्फत अदालतमा मुद्दा दायर हुने हो ।
तपाई कसैको उक्साहटमा जानु भएको आरोप छ नि ?
–म कुनै पार्टी विशेषको मुद्दा लिएर गएको होइन । म एउटा कानुन व्यवसायीको नाताले कानुनमा स्पष्ट भनिएको छ–धर्म परिवर्तन गराउन पाइदैन, धर्म परिवर्तन गराएमा कानुनले दण्ड सजाय गर्ने व्यवस्था गरेको छ ।
कानुनको नजरमा ठूलो सानो भन्ने हुँदैन । संविधानमा स्पष्ट के व्यवस्था छ भने–यो संविधानको सबैले अक्षरस पालना गर्नुपर्ने छ । सम्मानीय प्रधानमन्त्री हुनुहोस वा अन्य उच्च ओहोदाका व्यक्तिहरु । उहाँहरुले कानुन विपरित काम गर्नुभयो त सजाय त भोग्न तयार हुनु पर्यो नि ।
प्रधानमन्त्री त सबैको साझा हुनुहुन्छ । कार्यक्रममा नै जादा तपाईलाई किन आपत्ति ?
–नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएपछि राष्ट्रको धर्म पनि छैन । कुनै धर्म विशेषमा जानै पर्छ भन्ने पनि छैन । यो प्रधानमन्त्रीको आफ्नो स्वविवेकमा भर पर्छ । क्रिस्चियन धर्म प्रचारकले पाँच दिनसम्म होटल हायतमा गरेको कार्यक्रम गर्यो ।
क्रिस्चियनको छोरी भन्नेले पन्ध्र सयलाई आर्शिवाद दिने त्यो कार्यक्रममा सरकारका उच्च ओहदाका सबैलाई आउने निमन्त्रणा दिने र सम्मानिय प्रधानमन्त्रीज्युलाई कार्यक्रम सफल गराइदिए बापत हो वा अन्य केही काम गरे बापत हो पुरस्कार र तक्मा दिने । यो नेपाललाई नै प्रभावमा पार्ने खेल हो भनेर आशंका गर्ने ठाउँ छ ।
उहाँले संविधानको धारा २७७ स्वीकृति लिएर मलाई यसरी सम्मान गर्दैछ म सम्मान लिदैछु भनेर पारित गर्नुभएको पनि छैन । सुन्नमा आए अनुसार तक्मा लिएर सोमवार मात्र मन्त्रीपरिषद्बाट स्वीकृत गर्नुभएको छ ।
तक्मा र सम्मान लिएपछि स्वीकृत गर्न मिल्छ र ?
–नियम अनुसार त नपाइने हो । मानिस आज मर्यो हिजो चाहीँ अस्पताल लगेको थियो भनेर के अर्थ राख्छ र ?
प्रहरीले तपाईका जाहेरी लिएन अब के गर्नुहुन्छ ?
–कानुन अनुसार पहिलो काम प्रहरीमा गएँ । कानुन अनुसार सरकारी वकिलको कार्यालयमा जान पाइन्छ । सरकारी वकिलले पनि लिनु भएन भने जिल्ला प्रशासन कार्यालयमा जान्छु । त्यहाँ पनि लिन मानिएन भने अदालतको ढोका ढकढक्याउन जान्छु । अदालतमा रिट हाल्ने सोच बनाएको छु ।
तीनै निकायमा तपाइको रिट दर्ता भएन भने नि ?
–कानुन अनुसार रिट लिएर म जाने हो । मैले एउटा इस्यु उठाएको हो । यसमा मेरो कुनै स्वार्थ छैन । अहिले राजनीतिक आडमा धर्म परिवर्तन भयो । भोली देश नै धर्मको नाममा विखण्डमा जाला ।
यस्ता कार्यक्रम आगामी दिनमा नहोस भनेर मैले जाहेरी दिन खोजेको हो । मलाई के लागिरहेको छ भने यो रिट सरकारले दर्ता नगर्न सक्छ । किनकी दुई तिहाईको बहुमत छ । तर पनि कानुनी आधार सहित सरकारी वकिलको कार्यालयमा जान्छु ।
रिट दर्ता भएर के तपाईले भनेकोजस्तै प्रधानमन्त्रीलाई कारवाही होला ?
–विदेशको नजिर हेर्ने हो भने वहालवाला प्रधानमन्त्री र राष्ट्रपतिलाई गलत काम गरेको अवस्थामा कठघरामा उभ्याइएका छन् । नेपालमा पनि त्यो दिन आओस भनेर युद्ध र आन्दोलन भएको होलान । कानुन भन्दा माथि कोही पनि छैन भनेर संविधान बनाइएको छ । आँट गर्ने हो भने कारवाही हुन्छ ।
प्रहरीले पक्राउ गर्छ भन्ने तपाईलाई डर छ कि छैन ?
–मलाई पक्राउ गर्नुपर्ने कुनै कारण छैन ।
तपाईले पूर्व राजा ज्ञानेन्द्र शाहको विरुद्ध पनि रिट हाल्नु भएको थियो नि ?
–उहाँको विरुद्ध पनि मैले सम्मानित सर्वोच्च अदालतमा रिट हालेको हुँ । नागरिक भएको राजालाई राज्यले सुविधा दिनु पर्छ कि पर्दैन कुरामा कानुन रुपमा छिनोफानो होस भनेर रिट हालेको थिए ।
त्यति बेला तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालले केही समयसम्मको लागि अस्थायी वास दिएको हो । यो दिर्घकालिन होइन भनेर जवाफ आयो । त्यसपछि सर्वोच्च अदालतले राजनीतिक इस्यु भएकाले बोलिरहनु नपर्ने भन्दै रिट खारेज गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाई के सुझाव दिन चाहनुहुन्छ ?
–कार्यक्रमको आवरणमा नेपालमा धर्मको प्रचार भयो । प्रधानमन्त्रीले विश्वमा शान्तिको सन्देश फैलाउने गौतम बुद्ध जन्मिएको देश भनेर गुणगान गाउनु भएको भए देशको शीर उच्च हुन्थ्यो ।
उहाँ स्वयमं देशको प्रधानमन्त्री तीन दिन होटलमा गएर बस्नु पर्ने के कारण छ ? तीन दिनको बीचमा गोप्य कुरा के भयो ? एउटा कार्यक्रममा शुभकामना दिनु सामान्य कुरा हो । राष्ट्र प्रमुख भएको नाताले दिन पाइन्छ ।
कार्यक्रममा सहभागी भएर वाइन खाएर आर्दिवाद लिनु भनेको त प्रभु यशुमा सर्मपित भए भनेको होइन र ? भनेपछि यो धर्म परिवर्तन भएन र ? प्रधानमन्त्रीज्यूले धर्म परिवर्तनको उद्योग मात्र गर्नु भयो ।
राष्ट्र प्रमुखको रोहवरमा हुनुभएको त उहाँको रोहोबरमा भयो नि त । सबैलाई धर्म परिवर्तन गराउनु भयो भनेको होइन । उहाँ मतियार हुनुभयो । त्यो कार्यक्रममा आर्दिवाद लिने भनेको त प्रधानमन्त्रीको मौन स्वीकृति नै हो नि ।
नेकपाका नेता माधव कुमार नेपाललाई चाही के भन्न चाहानुहुन्छ ?
–उहाँलाई त हामीले हिन्दु भनेर चिन्थ्यौँ । आखिर कुरा त्यस्तो होइन रहेछ । हाम्रो नेता हिन्दु होलान भनेको त यस पटक त छर्लङ भयो । माधव नेपालले त मैले आर्दिवाद लिएको हो भनेर मिडियामा बोलिसक्नु भएको छ ।