देशभरका विश्वविद्यालयमा छात्राको संख्या ५३ प्रतिशत, वैदेशिक अध्ययनमा ५९ हजार विद्यार्थी

दियो पोस्ट  

काठमाडौँ, मंसिर २२ । नेपाली युवा बिदेसिने दर बढ्दो छ । १२ कक्षासम्मको अध्ययनपछि अधिकांश युवा थप अध्ययन या रोजगारीका लागि विदेश पस्ने लहरै चलेको छ । यसको प्रतिबिम्ब देशका विश्वविद्यालयमा पनि देखिएको छ । देशभित्रै उच्च शिक्षा अध्ययन गर्ने छात्रभन्दा छात्राको संख्या बढी देखिएको छ ।

वैदेशिक अध्ययनमा ५९ हजार विद्यार्थी

नेपालमा एक वर्षमा ५० देखि ६० हजार विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार आव ०७४÷७५ मा ५८ हजार ७ सय ५८ विद्यार्थीले विदेशमा अध्ययनका लागि नो अब्जेक्सन लेटर लगेका छन् । आव ०७३÷७४ मा ५० हजारले अनुमतिपत्र लगेका थिए । आव ०७५÷७६ को चार महिनामा २२ हजारले नो अब्जेक्सन लेटर लगेका छन् । नेपाली विद्यार्थी सबैभन्दा बढी अस्ट्रेलिया, जापान र अमेरिका गएका छन् । पछिल्ला वर्ष अध्ययनका लागि चीन जानेको संख्या पनि बढ्दो छ ।

शनिबारको नयाँ पत्रिकामा खबर छ– ०७४/७५ मा ६ लाख १२ हजार ६ सय ८५ नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । ५ लाख ७९ हजार ७ सय २१ पुरुष र ३२ हजार नौ सय ६४ महिला १ सय ४२ देशमा गएको तथ्यांक छ । आव ०७३र०७४ मा ६ लाख ४२ हजार ८ सय ५९ नेपाली १ सय ४१ देशमा काम गर्न गएका थिए ।

५३ प्रतिशत छात्रा

विश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्यांकअनुसार देशभरका विश्वविद्यालयमा छात्रभन्दा छात्राको संख्या धेरै छ । कुल विद्यार्थी संख्याको ५३ प्रतिशत छात्रा छन् । ३ लाख ७१ हजार १ सय ८४ विद्यार्थीमा १ लाख ९५ हजार १ सय ३३ छात्रा रहेको आयोगको तथ्यांक छ ।