भिआईपी ‘ठग’ : घर जग्गा दिन्छु भन्दै ठगी गरेपछि गृह मन्त्रालयद्वारा पक्राउ पुर्जी जारी !

दियो पोस्ट  

काठमाडौं, मंसिर २८ । ज्योति ग्रुपका प्रमुख रुपज्योति ८ दिनदेखि फरार भएका छन् । विज्ञेन्द्रकृष्ण मल्ललगायत अन्यलाई जग्गा र पैसा केही पनि नदिई ठगेको उजुरी परेपछि उनी ८ दिनदेखि फरार भएका हुन् । ज्योतिले ठगी धन्दानै चलाएको आरोप लगाउँदै उजुरी र मुद्दा दर्ता भएपछि उजुरीको आधारमा महानगरीय प्रहरी परिसर टेकुबाट ज्योतिलाई पक्राउ गर्न गत बिहीबार नै प्रहरी परिचालन गरिएको थियो ।

ज्योति तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिई शासन चलाएको समयमा अर्थमन्त्री समेत भएका थिए । सोही समयमा अकूत र अवैध सम्पत्तिलाई वैध बनाएर सम्पत्ति संकलन गरेको आरोप समेत उनीमाथि लागेको थियो । काठमाडौंको बाँसबारी क्षेत्रमा अपार्टमेन्ट बनाउने भन्दै सर्वसाधारणसँग उठाएको पैसा फिर्ता नगरेको आरोपमा महानगरीय प्रहरीपरिसरमा रूप ज्योतिविरूद्ध जाहेरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीको खोजी सुचीमा रहेपनि रुप ज्योती भने काठमाडौंमै रहेको बुझीएको छ । स्रोतका अनुसार उनी प्रहरीकै उच्च तहलाई सेटिङ मिलाएर काठमाडौंमै भूमिगत रहेका छन् ।

ठगी धन्दा कसरी ?

रुपज्योति ज्योति समूहका प्रमूख हुन् । ज्योति समूहले नेपालको पुरानो व्यावसायिक घराना भएको दाबी गर्दै आएको छ । आइरन, स्टिल, टेक्सटाइल तथा पर्यटनलगायत क्षेत्रमा समूहको लगानी रहेको छ । २०७० सालताका नेपालको ठूलो व्यावसायिक घराना ज्योति समूहले हाउजिङमा पनि लगानी गर्ने ‘हल्ला’ चलाएको थियो । सोही हल्ला चल्नुअघि नै ज्योति समूहले हाउजिङमा लगानी गर्ने रणनीति बनाइसकेको थियो । जसका लागि ल्याण्डमार्क डेभलपर्स प्रालि दर्ता गरिएको थियो । १० करोड १० हजार रुपैयाँबराबरको प्रथम पुँजी भएको कम्पनीमा ज्योति समूहको ५० लाख रुपैयाँको मात्र सेयर राखिएको बुझिएको छ ।

ज्योति समूहकै अर्को कम्पनी स्याकार कम्पनी प्रालिको ९ करोड ५० लाख रुपैयाँको सेयर लगानी रहेको छ । एकपटक मध्यमवर्गीय परिवारका लागि कम लगानीमै घर निर्माण गरिदिने भनेर सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको भनेर बदनाम भएको जय स्निपिङ मिल्स प्रालिले पनि ल्यान्डमार्क डेभलपर्समा १० हजार रुपैयाँको सेयर लगानी गरेको थियो ।

सो हाउजिङमा काठमाडौंका रैथानेदेखि बाहिरबाट आएर व्यापार व्यवसायमा संलग्नहरुले ‘घर’ किन्न पैसा जम्मा गरेका थिए । सो रकम जम्मा गरेकामध्ये काठमाडौं महानगरपालिका–२६ गल्कोपाखाका विज्ञेन्द्रकृष्ण मल्लले लामो समयसम्म ज्योति ग्रुपसँग गरेको सझौताअनुसार जग्गा र घर नपाएपछि ठगी गरेको भन्दै ज्योतिलाई विपक्षी बनाई मुद्दा दायर गरेपछि गत बिहीबार ज्योतिलाई पक्राउ गर्न प्रहरीनै परिचालन गर्नुपरेको हो ।

हाउजिङको नाममा ठगी

मल्लले २ जेठ २०७१ मा १० लाख रुपैयाँ अग्रिम भुक्तानी गरेर ल्याण्डमार्क डेभलपर्सले काठमाडौंको बाँसबारीमा निर्माण गर्न लागेको हाउजिङमा आफ्नो क्षेत्र ‘बुक’ गरेको बताएका छन् । मल्ललाई कम्पनीले ७ आना क्षेत्रफलमा व्यावसायिक प्रयोजनसहितको घर निर्माण गरिदिने प्रतिबद्धता जनाएको उनको दाबी छ ।

२०७१ जेठबाट हाउजिङ निर्माणको प्रक्रिया सुरु गरेको ल्याण्डमार्कले हाउजिङ निर्माणको सम्पूर्ण जिम्मा सीई कन्स्ट्रक्सनलाई दिएको थियो ।


सीई कन्स्ट्रक्सनलाई ल्याण्डमार्कले हाउजिङ निर्माण मात्र हैन, बिक्रीदेखि बुकिङका सन्दर्भमा सम्पूर्ण निर्णय गर्ने अधिकारी समेत तोकी जिम्मा दिएकोसँगै ठगीधन्दा समेत अगाडि बढ्दै गएको आरोप मल्लको छ । सीई कन्स्ट्रक्सन र ल्याण्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने उल्लेख छ । नाफामा प्रतिशत बाँडेर लिने दुवै कम्पनीबीच सम्झौता भएको पाइएको छ । मल्लले भने,‘मैले पटक–पटक ज्योतिलाई भेटेर सम्झौताअनुसार जग्गा उपलब्ध गराउन आग्रह गर्दा उल्टो मलाई नै चेतावनी दिँदै त्यो जग्गा मिल्दैन, जे गर्न सक्छौ गर भन्दै धम्क्याए ।’

मल्लले बुझाएका थिए १ करोड २६ लाख रुपैयाँ

सीईले हाउजिङमा हात हालेपछि मल्लले २०७१ को भदौमा थप १ करोड २६ लाख ७५ हजार रुपैयाँ बुझाएको बताए । उक्त पैसा सीई कन्स्ट्रक्सनले बुझेको मल्लको जाहेरीमा भनिएको छ ।

ल्यान्डमार्कले मल्ललाई बेच्ने भनेर अग्रिम रकम समेत लिइसकेको जग्गामा ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिको ‘नजर’ परेसँगै उनले सो जग्गालाई हडप्ने योजना बनाएको मल्लको दाबी छ ।


विभिन्न बहानामा मल्लको जग्गा हडपेसँगै गरेको सम्झौताविपरीत रुप ज्योतिले पालना नगरेपछि मल्ल प्रहरी–प्रशासनको शरणमा गएको बताए । सुरुमा प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि मल्लले गृहमन्त्री रामबहादुर थापालाई सम्बोधन गर्दै आफूमाथि रुप ज्योतिबाट अन्याय भएकाले न्याय पाउनुपर्ने भन्दै पत्र लेखे ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि मुद्दाको कारबाही अगाडि बुझिएको छ ।

करिब ७ आना जग्गामा कमर्सियल घर बनाइदिने वाचा गरेका सी कन्सट्रकसन कम्पनीले अहिलेसम्म पनि न त जग्गा उनको नाममा पास गरेका छन, न त अहिलेसम्म घर निर्माण गरेका छन ।

अहिलेसम्म जग्गा पनि उनको नाममा नामसारी गरिएको छैन । पटकपटक ल्यान्ड मार्क डेभलपर्सलाई उनले अनुरोध गर्दा पनि ‘आज गर्छु भोलि गर्छु भन्दै बेवास्ता गर्दै आएको बताइएको छ । सो डेभलपर्सको प्रमुख व्यक्ति डा. रूपज्योतिलाई भेटेर कुरा राख्दा पनि कुनै निकास नपाएको मल्लको गुनासो छ ।


यसअघि उक्त कोलनीमा मल्लजस्तै अन्य व्यक्तिहरू पनि ज्योतिबाट पीडित भइसकेका छन् । उनीहरूले धेरैपटक गुहार गरेर दौडधुप गरेपछि बल्लतल्ल आ–आफ्नो घर पाएको बताइएको छ । अहिले भने मल्लबाहेक सबै जनाले आफ्नो घर पाइसकेका छन ।

तर, उनलाई विगत डेढ वर्षदेखि सी कन्सट्रक्सन र ल्यान्ड मार्क डेभलपर्सका सञ्चालकहरूले ‘तपाईं पनि हामीसँग पाटर्नर भएर पाटर्नरसिपमा काम गरौं भनेर झूटा आश्वासन’ दिँदै घर भने नदिने काम गर्दै आएको उनले बताए ।

यता डा. रूप ज्योतिले भने मल्लसँग आफ्नो संस्थाको कुनै कारोबार बाँकी नरहेको बताए । कन्ट्रक्सन कम्पनीसँग कुनै कारोबार भए आफूलाई थाहा नभएको तर आफ्नो कम्पनीले उनको रकम फिर्ता गरिसकेको दाबी गरे ।

सुविधासम्पन्न अस्पताल खोल्ने नाममा लुट

ज्योति ग्रुपका प्रमुख रुपज्योतिले हाउजिङको नाममा मात्रै होइन, अनेक बहानामा सर्वसाधारणको रकम ठग्ने गरेका पाईएको छ । नेपालमा आधुनिक अस्पताल खोल्ने भन्दै उनले हजारौँ सेयर होल्डरहरुको पैसा व्यक्तिगत उठाएर झ्वाम पारेका छन् । विदेशी मापदण्डको अस्पताल खोलेर नेपालमै विदेशी अस्पतालको सेवा सुविधा दिने नाममा उनले करोडौं रुपैयाँ कुम्ल्याउने दाउ समेत गरेका थिए ।

त्यो थाहा पाएर अस्पतालको सञ्चालक समितिले रुपज्योतिलाई प्रमुखको मूमिकाबाट हटाएको थियो । अस्पतालमा उनको अझै २२ करोड रुपैयाँ बराबरको सेयर रहेको अस्पताल स्रोतले दाबी गरेको छ । त्यो सेयर उनले आफ्नो नाममा भन्दा पनि अरुकै नाममा राखेका छन् ।

 

अस्पतालमा एकथरीका सेयर होल्डरले प्रत्येकले १० करोड रुपैयाँ लगानी गरेका छन् भने अर्का सेयर होल्डरले प्रत्येकले १ सेयर बापत २२ करोड रुपैयाँ लगानी गरेका छन् ।अस्पतालको नाममा अनगिन्ती सेयर ठग्न थालेर व्यक्तिगत लगानी गरी संस्थालाई बदनाम पारेको भन्दै विभिन्न उजुरी परेपछि संस्थाबाट उनलाई निकालिएको अस्पताल स्रोतले बतायो ।

यता अस्पतालबाट निकालेपछि रिसको झोंकमा उनले जमलस्थित आफ्नै कम्प्लेसमा सोही नाममा सीटी शब्द थपेर ग्रान्डी सिटी अस्पताल सञ्चालन गरेका छन् ।

त्यसो त ज्योति स्पेनिङ मिलमा पनि ज्योति गु्रपले सयौं मजदुरहरूलाई पीडित बताएको रहस्य खुलेको छ । आजभन्दा करिब १५ वर्षअगाडि बारा जिल्लाको परवानीपुरमा रहेको ज्योति स्पेनिङ मिलमा आफैं आगो लगाउन लगाई करोडौं बिमा रकम झ्वाम पारी १०० औं स्थानीय मजदुहरूको जीवन अलपत्र पारेका थिए ।

ज्योति गु्रपले सर्वसाधारणको सेयरको रकम पनि कुम्ल्याएको आरोप छ । यी मजदुरहरूको परिवार कुनै रोजगारी न त कुनै सुविधा केही नदिई निकालेको र उनीहरूको पसिनामा पनि ठगी गरेको खुलेको हो ।

त्यसो त पछिल्लो सय चर्चित व्यवसायीका रूपमा परिचय बनाएका डा. रूप ज्योति विवादमा परेका छन् । ठगी प्रकरणले उग्र रुप लिएपछि उनी पहुँचको प्रयोग गर्दै यो मुद्दा मिलाउन लागि परेका छन् ।