काठमाडौं, २ पुस । संसदीय पत्रकार समाजको निर्वाचनलाई लिएर नेकपा निकट पत्रकार संगठन भित्र तिब्र विवाद शुरु भएको छ । विवाद सामाजिक सञ्जालमै छताछुल्ल देखिएको छ ।
प्रेस चौतारीका अध्यक्ष समेत रहेका एक अनलाईनका सम्पादक गणेश बस्नेतले समाजको अध्यक्षबाट पराजित भएका अन्नपूर्ण पोस्टका संवाददाता नरेन्द्र साउदसँग पैसा मागेको र आफूले दिन नसकेपछि पराजित गराइएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमै बस्नेतले लेखेको स्ट्याटसमा कमेन्ट गर्दै साउदले यस्तो आरोप लगाएका हुन् ।
आइतबार सम्पन्न अधिवेशनबाट गोरखा पत्र दैनिकमा कार्यरत नारायण काफ्ले अध्यक्षमा निर्वाचित भएका थिए । काफ्ले व्यावसायीक पत्रकार भएता पनि उनलाई नेकपा निकट विचारधारा राख्ने पत्रकारको रुपमा बुझिन्छ । यद्धपी अध्यक्षमा निर्वाचित काफ्ले स्वयं भने कुनै पनि पार्टी वा विचार समुहसँग निकट नभएको बताउँछन् । नेपाली कांग्रेस निकट पत्रकारले काफ्लेलाई उम्मेदवार बनाएका थिए । यता साउद पक्षधरले भने प्रेस चौतारीकै अध्यक्षको निर्देशनमा काफ्लेलाई जिताएको आरोप लगाएका छन् ।
पूर्व गृहमन्त्री तथा प्रेस चौतारीकै पुराना पत्रकार विश्वमणी सुवेदीले सामाजिक सञ्जालबाटै अध्यक्ष बस्नेतमाथि प्रहार गरेका छन् ।
‘सवाल नरेन्द्र साउदले हारेको मात्र होइन । राणा शासन चलाएपछि अरु थुप्रै मोर्चा धरापमा छन्,’ सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् ।
यता प्रेस चौतरी निकट पत्रकारहरुले सामाजिक सञ्जालबाटै संसदीय मामिला पत्रकार समाजको सदस्यता विस्तारमै गोलमाल भएको बताएका छन् ।
उनीहरुले उक्त अधिवेशनमा ‘नेतृत्वबाट अन्तरघात भएको आरोप लगाएका छन् । यता प्रेस चौतारीका अध्यक्ष बस्नेतले सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन् ।
‘गल्ती आफू गर्ने, दोष चाहिँ नेतृत्वले लिई दिनुपर्ने ? जानकारी भएकै विषय हो भष्मासुरले जता हात राख्छ त्यहीँ खरानी हुन्छ,’ उनले यस्तो लेखेपछि प्रतिक्रिया दिँदै अन्नपूर्ण पोस्टका संवाददाता तथा अध्यक्षका प्रत्यासी नरेन्द्र साउदले लेखेका छन्,‘हो, अध्यक्षज्यु, निर्वाचन परिचालनका लागि भन्दै हजुरले मागेको खर्च दिन नसक्नु गम्भीर कमजोरी भयो ।’