कांग्रेस महासमिति बैठक: केन्द्रीय कार्यसमितिको अकर्मण्यता

दियो पोस्ट  

काठमाडौं, पौष ३ । कांग्रेस महासमिति बैठकको मुख्य एजेन्डाले अझै प्रवेश पाउन सकेको छैन । निर्धारित समय अनुसार आज मंगलबार महासमिति बैठक सकिनुपर्ने हो । तर, मुख्य एजेन्डा विधान संशोधन प्रस्तावले भने सोमबार राति अबेरसम्म पनि प्रवेश पाएको छैन । केन्द्रीय नेतृत्वले भने आज मंगलबारसम्म विधान संशोधन प्रस्तावको एजेन्डाले प्रवेश पाउने र महासमिति बैठक पनि लम्बिने दावी गरेका छन ।

केन्द्रीय समितिले विधान मस्यौदा पारित गर्न नसक्दा महासमिति बैठक कर्मकाण्डी जस्तो मात्र हँुदै गएको छ । महासमिति बैठकमा छलफल गरी पारित गर्नुपर्ने विधान संशोधन प्रस्ताव केन्द्रीय समितिले पारित गर्न नसक्दा अन्तिममा विधान मस्यौदा पेस गर्ने र पर्याप्त छलफल नगरी अनुमोदन मात्र गराउने स्थिति देखिएको छ ।

कांग्रेस केन्द्रीय समितिभित्रको किचलोले महासमिति बैठक समेत प्रभावित भएको छ । विधान मस्यौदा प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक बस्नुपर्ने भन्दै सोमबार दिउँसो महासमिति बैठक घण्टौं स्थगित भएको थियो । केन्द्रीय समिति बैठक भने दिउँसो बस्दै नबसी राति बस्ने भन्दै स्थगित भएको थियो ।
केन्द्रीय नेतृत्वको कार्यशैलीले उकुसमुकुस भएका महासमिति सदस्यहरुलाई विधान मस्यौदाबारे बँुदागत छलफल गर्न दिए कम्तीमा पनि पाँच दिनको समय लाग्ने आंकलन गरिएको छ । महासमिति बैठक चलेको यलम्बर पार्टी प्यालेस ४ गतेसम्मलाई बुक गरिएको छ ।

केन्द्रीय समितिले आज मंगलबार विधान संशोधन प्रस्ताव ल्याएमा महासमिति बैठकले विस्तृत छलफल गर्न अझै केही दिन समय चाहिन्छ । केन्द्रीय नेतृत्व भने महासमिति बैठकलाई कर्मकाण्डी मात्र बनाएर विधान संशोधन प्रस्ताव अनुमोदन गराउने तरखरमा छ ।

‘केन्द्रीय समितिका नेताहरुको व्यक्तिवादी सोच र खिचातानीले विधान मस्यौदा प्रस्ताव आउन सकेको छैन’, कांग्रेस नेता रामहरि खतिवडा भन्नुहुन्छ– ‘महासमिति बैठकको मुख्य एजेन्डा नै विधान संशोधन हो । तर, यही प्रस्ताव तीन दिनसम्म नआउनु दुर्भाग्य हो ।’

केन्द्रीय नेतृत्वको यो शैलीले महासमिति बैठक कर्मकाण्डी मात्रको हुने त छँदै छ यसको असर गाउँ तहसम्म पुग्ने उहाँ बताउनुहुन्छ । मंसिर २८ देखि पुस ३ सम्म बस्ने भनिएको महासमिति बैठकमा अन्य एजेन्डामा मात्र छलफल भइरहेको छ ।

तीन दिनसम्म पनि मुख्य एजेन्डाले प्रवेश पाएन
गच्छदारको अध्यक्षता अस्वीकार

संघीय संरचना अनुसार विधान संशोधन गर्ने मुख्य एजेन्डाका साथ कांग्रेसले महासमिति बैठक आह्वान गरेको हो । कांग्रेसको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठकमा भाग लिन देशभरबाट महासमिति सदस्य राजधानी आएको आज पाँच दिन भइसकेको छ ।

महासमिति बैठकमा पेस गरिने एजेन्डा केन्द्रीय कार्यसमितिले पारित गर्नुपर्छ । केन्द्रीय समितिले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर मात्र भएन । छपाइ कार्य समेत गरेर बैठकमा सहभागी १ हजार ६ सयभन्दा बढी सहभागीलाई वितरण गर्नुपर्छ । महासमिति सदस्यहरुले बँुदागत छलफल गर्नुपर्छ । अनि छलफलबाट आएको सुझावलाई एकीकृत गरी पुनः संशोधित विधान पारित गर्नुपर्छ ।

विधान मस्यौदाबारे केन्द्रीय समितिले यसअघि नै दुई हप्ताभन्दा बढी छलफल गरिसकेको थियो । मस्यौदा समितिले केन्द्रीय समितिमा पेस गरेको मस्यौदामा केन्द्रीय कार्यसमितिको संख्या बढाइएको भए पनि पदाधिकारीको संख्या भने बढाइएको थिएन ।

कांग्रेस केन्द्रीय समितिभित्र केन्द्रीय समितिको संख्या बढाइएसँगै पदाधिकारीको संख्या पनि बढाउनुपर्ने कुरा उठेको थियो । साथै निर्वाचित र मनोनितको कुरामा पनि केन्द्रीय समितिभित्र मतभिन्नता थियो ।

महासमिति बैठक चलिरहेकै बेला भएको केन्द्रीय समितिका नेताहरुबीच भएको छलफलमा २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्रीसहित ८ जना पदाधिकारी रहने कुरामा सहमति नजिक पुगेका थिए । तर, सबै पदाधिकारी महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुने कि केही पदाधिकारी मनोनित गर्ने भन्ने विषयमा कुरा नमिल्दा सोमबार दिउँसो केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

विधान संशोधन प्रस्तावमा मुख्य गरी पदाधिकारीको संख्या र मनोनित र निर्वाचितबारे केन्द्रीय समितिमा मतभिन्नता रहेका कारण अलमल भएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं बताउनुहुन्छ ।

संस्थापन पक्ष ८ पदाधिकारीमध्ये १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री मनोनित गर्ने पक्षमा छन् । अन्य प्रस्तावमाथि महासमिति बैठकमा भएको छलफलमा नेतृत्वको चर्को आलोचना भइरहेको थियो ।
महासमिति बैठकले उपसभापति विजयकुमार गच्छदारको अध्यक्षतालाई अस्वीकार गरेको छ ।

सोमबार दिउँसो केन्द्रीय समिति बैठक बस्ने भन्दै सभापति शेरबहादुर देउवाले उपसभापति गच्छदारलाई महासमिति बैठकको अध्यक्षता गर्न भने पनि महासमिति सदस्यहरुले अस्वीकार गरेका छन् ।
गत चुनावमा फोरम लोकतान्त्रिकबाट कांग्रेसमा समाहित भएका नेता विजयकुमार गच्छदारको अध्यक्षता अस्वीकार गरेपछि केही समय महासमिति बैठक रोकिएको थियो ।

सम्बन्धित खबर