बिहे गर्न जाँदा प्रेमीले प्रेमिकाको नै घाँटी रेटेपछि…!

दियो पोस्ट  

काठमाडौं, पुस ४ । तेह्रथुमको छथर गाउँपालिका–१ मार्गापोखरी नजिकै प्रेमिकालाई खुकुरीले घाँटी रेटेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ का ४५ वर्षीय लीलाबहादुर भण्डारीलाई प्रहरीले आज दिउँसो लुमुघाटबाट पक्राउ गरेको हो । 

भण्डारीले प्रेमिका छथर गाउँपालिका–२ की ३० वर्षीया नमुना बोहराको खुकुरीले घाँटी रेटी फरार भएका थिए । बेहोस अवस्थामा फेला परेकी नमुनालाई सोमबार स्थानीयले फेला पारेर उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका थिए । प्रहरीका अनुसार बोहरा र भण्डारी आइतबार राति डङडङेस्थित कमल शेर्पाको घरमा बाँस बसेका थिए । 

बिहान उठेर मार्गापोखरी धाममा दर्शन गर्न पनि गएका थिए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु एकआपसको सल्लाहमै विवाह गर्ने गरी मन्दिर गएको प्रहरीको भनाइ छ । घाँटी रेटिएपछि बेहोसी अवस्थामा रहेकी उनी र उनको झोला, युवकको चप्पल र झोलामा सिन्दुर पोतेसमेत फेला परेको थियो । 

प्रेमी भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको क्रममा राखिएको प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले बताए । भण्डारी विवाहित भएको र महिला अविवाहित रहेको खुलेको छ । घाँटीमा गम्भीर चोट लागेकी बोहराको अहिले उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।