काठमाडौँ, पुष ५ । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’को नारा दोहोर्याइरहेका छन् । तर, उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् । मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक सेवा–सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरूले मन्त्रालय वा मातहतका कार्यालयबाट तेल हालिरहेका छन् ।
प्राप्त विवरणअनुसार अर्थमन्त्री युवराज खतिवडाबाहेक सबै मन्त्री र राज्यमन्त्रीले नियमित रुपमा इन्धन वापत एकमुष्ट पैसा लिएका छन् । उपप्रधानमन्त्रीले इन्धनका लागि मासिक २४ हजार ५ सय १४ रुपैँया, मन्त्रीहरूले मासिक २१ हजार ३ सय २१ रुपैँया र राज्यमन्त्रीले मासिक १८ हजार ५४० रुपैँया लिने गरेका छन् ।
शक्ति बस्नेतः १८० लिटर
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सचिवस्तरको निर्णय गराएर े मासिक एक सय ८० लिटर इन्धन लिँदै आएका छन् । उनका स्वकीय सचिवले पनि मन्त्रालयबाट गाडी र इन्धन लिएका छन् । अन्य सचिवालय सदस्यहरूले पनि नियमित इन्धन लिने गरेका छन् ।
पद्माकुमारी अर्यालः १५० लिटर
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई गृह मन्त्रालयले गाडी सुविधा दिएको छ । तर, उनले इन्धनलगायत सुविधा मन्त्रालयबाटै लिइरहेकी छिन् । मन्त्रालयबाट मासिक इन्धन मात्र १५० लिटर लिने गरेकी छिन् ।
भानुभक्त ढकालः १६८ लिटर
अन्य मन्त्रीहरूले जस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पनि मासिक १६८ लिटर इन्धन हाल्ने गरेको मन्त्रालयले जनायो । अन्य मन्त्रीहरूलाई जस्तै गृह मन्त्रालयले गाडी उपलब्ध गराएको छ । तर, मन्त्री ढकालले थप एउटा प्राडो र अर्को कार मन्त्रालयबाट लिँदै आएका छन् । प्राडो मन्त्रीले नियमित प्रयोग गरे पनि सानो कार भने झन्डा नराखी पारिवारिक काममा प्रयोग गर्ने गरिएको छ । उनको स्वकीय सचिवले पनि मन्त्रालयबाट स्कारपिओ गाडी र इन्धन सुविधा लिँदै आएका छन् ।
विना मगरः २०० लिटर
खानेपानीमन्त्री विना ५ जनाको सचिवालयको तलब सुविधा र आफ्नो तलबभत्तासहित मन्त्रिपरिषद् कार्यालयबाट मासिक १ लाख ९५ हजार ७ सय ९३ रुपैयाँ बुझ्दै आएकी छिन् । उक्त पैसाभित्र उनको इन्धन सुविधाबापतको पैसा पनि जोडिएको छ । सो गाडीका लागि मासिक एक सय ५० देखि २ सय लिटरसम्म इन्धन पनि मन्त्रालयबाटै लिइरहेकी छिन् ।
मोहम्मद इस्तियाक राईः १३० लिटर
सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईलाई गृह मन्त्रालयले गाडी सुविधा दिएको छ । गाडीमा हाल्ने इन्धन किन्न मन्त्रिपरिषद् कार्यालयले मासिक २१ हजार ३ सय दिन्छ, तर फोर्ड कम्पनीको करिब एक करोड पर्ने गाडी चढ्ने उनले मन्त्रालयबाट मासिक एक सय ३० लिटरसम्म इन्धन हाल्छन् ।
गिरिराजमणि पोखरेलः ३०० लिटर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफू र ८ सदस्यीय स्वकीय सचिवालयको इन्धन खर्च मन्त्रालयबाटै लिने गरेका छन् । महिनामा दुईदेखि तीन सय लिटरसम्म इन्धन लिने गरेका छन् ।
थममाया थापाः १५० लिटर
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मन्त्रिपरिषद् कार्यालयले मासिक तलब तथा अन्य सुविधा भुक्तानी गरेको बिलमा इन्धन शीर्षकमा मासिक २१ हजार ३ सय लिएको देखिन्छ । तर, मन्त्रालयबाट मासिक एक सय ५० लिटर लिइरहेको मन्त्रालयका लेखाका उपसचिव मिठु थापाले जनाए ।
दोहोरो सुविधा लिनु भ्रष्टाचार होः शारदाप्रसाद त्रिताल, पूर्वसचिव
पूर्वसचिव शारदाप्रसाद त्रिताल मन्त्रीले मन्त्रिपरिषद् कार्यालयबाट मात्र सुविधा लिन पाउने बताउँछन् । उनका अनुसार मन्त्रिपरिषद्बाट प्राप्त सुविधाको अतिरिक्त मन्त्रालयबाट कुनै सुविधा लिन मिल्दैन ।
पुष्प ढुंगानाले विहीबारको नयाँ पत्रिकामा खबर लेखेका छन् ।