कांग्रेस नेता भन्छन्, ‘ शीर्ष नेताहरु चुनिएरै आउने विषयमा पनि कुरा उठेको छ’

दियो पोस्ट  

 जीवन परियार नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । अरु प्रभावशाली नेताहरुले समानुपातिक सूचीमा रहेर सांसद बन्ने अभिष्ट पूरा गर्दै गर्दा परियारले भने निर्वाचित भएर अनुमोदित हुन खोजेका थिए । तर पनि उनी प्रदेशसभा निर्वाचनमा कास्कीबाट पराजित हुन पुगे । तर, पनि दलित कोटाबाट स्वतः समानुपातिक सूचीमा पर्दै सांसद बन्ने सम्भावना हुँदाहुँदै पनि निर्वाचन लड्ने उनको सोचलाई धैरैले रुचाएका थिए । यिनै युवा नेता परियारसँग कांग्रेस महासमितिले समावेशी क्लस्टरबाट सममहामन्त्री बनाउनेदेखि गरेका अन्य व्यवस्थाबारेमा गरिएको कुराकानी :

कांग्रेसको महासमितिलाई कसरी लिनुभएको छ ?
लामो अन्तरालपछि भएको महासमिति बैठक ऐतिहासिक रुपमै सम्पन्न भएको छ । महासमिति बैठकले संविधान बमोजिम संघीय संरचना अनुसार नेपाली कांग्रेसको पनि संरचनालाई व्यवस्थित गरेको छ । २०७२ सालमा संविधान जारी भएपछि संविधान बमोजिम नै विधान पारित हुनु राम्रो हो । विधान अनुसार संघीय संरचना जस्तै हाम्रा समितिहरु अब बन्ने अवस्था सिर्जना भएको छ ।

विधान नहुँदा हामीले तल्लो तहसम्मका संरचनालाई व्यवस्थित गर्न सकेका थिएनौं । राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पनि पारित गरेका छौं । यी प्रतिवेदनले हामीलाई चुस्तदुरुस्त बनाउँन सहयोग गर्ने हुन् ।


विधानले सबै क्लस्टरमा निर्वाचनबाट पदाधिकारी चयन गर्ने प्रावधान राखेको छ । यसलाई कसरी लिनुभएको छ ?
पार्टीमा व्यापक छलफल भइसकेपछि संविधानलाई ख्याल गर्दै पार्टीका संरचनालाई पनि संघीय संरचनामा ढालेका हौं । पदाधिकारी तहसम्म समावेशीता लागू गराउने विधान पारित भएको छ । नेपालका राजनीतिक दलमात्रै होइन विश्वका धेरै राजनीतिक दलको भन्दा कांग्रेसको विधान नमूना र उत्कृष्ट बनेको छ । कांग्रेसले समावेशी पार्टी बनाउनका लागि पहिलो पार्टी भएको छ भन्नेमा हामीले गर्व गर्नुपर्छ ।

अवसरका हिसाबले यो प्रावधान कत्ति महत्वपूर्ण हो ?
समावेशीताको हिसाबले यो विधान अति नै महत्वपूर्ण छ । विगतमा पनि पार्टीको विधान समावेशी चरित्रकै थियो । यसपटक हामीलाई संघीयता र संविधान अनुसार पनि पार्टी संरचनालाई बदलेका छौं । समावेशी चरित्रको पार्टी बनाउन हामीले नमूना नै पेश गरेका छौं । अब सबैले हाम्रो पार्टी हो भन्ने अपनत्व गर्न सक्ने अवस्था भएपछि यो भन्दा खुशीको अर्को कुरा हुन सक्दैन ।
निर्वाचित भएर आउनुपर्ने विषयलाई विधानले व्यवस्था गरेन तर, शीर्ष नेताहरुले चुनिएरै आउनेमा

सकारात्मक जवाफ दिनुभएको छ नी ?
यो अहिलेमात्र लागू भएको विषय होइन । पहिले पनि यो व्यवस्था थियो । कुनै पनि केन्द्रीय सदस्य तहका सदस्यहरुलाई यस्तो तह एक कार्यकालको लागि मात्र दिइएको हो ।

सधैंभरी दिने र रहने भन्ने होइन । एक कार्यकालको लागि मात्रै हो अर्कोपटक केन्द्रीय सदस्य नहुँदा यो व्यवस्था लागू हुँदैन । यो विषयमा कुरा उठेको छ । केन्द्रीय समितिले कसरी यो विषयलाई टुंग्याउँछ हेर्न बाँकी छ ।

एक कार्यकाल भए पनि पार्टीको बुथतहसम्म सम्बन्ध बनाइराख्न त नेताहरु तलै गएर निर्वाचनमा भाग लिंदा के बिग्रन्छ र ?
केन्द्रीय सदस्य जत्तिको मान्छे तल जाँदैनन्, गाउँ जाँदैनन् भन्नेमा मलाई विश्वास नै लाग्दैन । यो केन्द्रीय सदस्यमाथि लाग्ने गरेको आरोप हो ।

केन्द्रीय सदस्य आफ्नो जिल्लामा निर्वाचन क्षेत्रमा, गाउँमा सम्पर्कमैं रहँदैन जाँदैन भन्ने बेक्कारको कुरा हो । छलफलबाट आएको निष्कर्ष अन्तिम हुन्छ ।

सबै पदाधिकारी निर्वाचित हुने विषयले कत्तिको महत्व राख्छ ?
यो नेताहरुबीच धेरै छलफल भएपछि आएको विषय हो । पार्टीमा मनोनित गर्दा समयमा पदाधिकारी नआउँने उनीहरुले काम गर्न नपाउँने समस्या पुरानै हो । यिनै घटनाक्रमलाई हेरेर सबै पदाधिकारी निर्वाचित गर्ने विषय पारित गरेको हो । यसले पार्टीलाई नराम्रो होइन राम्रै गर्छ ।