काठमाडौँ, मंसिर २० । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टी–२० क्रिकेट आज भएको खेलमा नेपाल विजयी बनेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनमात्र बनाएपछि नेपाल विजयी भएको हो ।
पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय ६३ रन बनाएको थियो । नेपालका लागि करन केसीले सर्वाधिक ४० रन बनाए । अन्तिम समयमा मैदान प्रवेश गरेका करणले १६ बलमा २ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्र सिंह ऐरिले ३९ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले १९ रनमात्र बनाए । यसैगरि आरिफ शेख र विनोद भण्डारीले समान १९(१९ रन, पारस खड्का ११ र रोहीतकुमार पौडेल १० रनमा आउट भए ।
बलिङतर्फ माल्दिभ्सका लिम शाफिगले सर्वाधिक ३ विकेट लिए । अमुल मौरुफले २ विकेट लिँदा उमर आदाम र मोहम्मद माहफुजले एकएक विकेट लिए ।
जवाफी ब्याटिङमा माल्दिभ्सका लागि महोम्मद आजमले सर्वाधिक १७ रन बनाए । माल्दिभ्सका सबै खेलाडीहरुको ब्याटिङ क्षमता निकै कमजोर देखिएको थियो । बलिङतर्फ नेपालका लागि ललितनारायण राजवंशी र सुसान भारीले समान दुई(दूई विकेट लिए । यस्तै पवन सर्राफले एक विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलंका यू(२३ सँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई १४१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अर्को खेल भोलि (शनिबार) बंगलादेशको २३ वर्षमुनिको टोलीसँग खेल्नेछ ।