
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसबाट कुनै समय समानुपातिक सांसद बनेकी ओमदेवि मल्लले नेपाल प्रहरी दुरुपयोग गरेको पाइएको छ । केही वर्षअघि मात्रै नेपाल प्रहरीका एसपी केदार ढकालसँग विवाहा बन्धनमा बाँधिएकी मल्लले प्रहरी नियमावली विपरित प्रहरी जवानदेखि हवल्दार समेतलाई दुरुपयोग गरेको पाइएको हो ।
प्रहरी नियवमाली अनुसार प्रहरी उपरिक्षक एसपीलाई राज्यबाट तलब र राशन मात्रै उपलब्ध हुनुपर्ने हो तर, ढकालले भने श्रीमतीका लागि प्रहरी संगठनकै दुरुपयोग गरेका छन् ।
ढकालले आफ्नी श्रीमती मल्लको सुविधाका लागि प्रहरीकै दरबन्दीको सिपाहीलाई चालकको रुपमा खटाएको खुलाशा हुँदा समेत प्रहरी प्रधान कार्यालयले खासै चासो दिएको छैन । ढकालले आफूले समेत प्रहरीकै चालक राखेका छन् ।
ढकालकी श्रीमती मल्ल राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष समेत हुन् । त्यस्तै उनी बहुउद्देश्यीय सहकारी सञ्चालक संघमा समेत क्रियाशिल छिन् । श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्थासँग करोडौँ कारोबार गरेकी मल्लको अकुत सम्पत्ति रहेको बताइएको छ ।
ललितपुरको शंखमुलमा रहेको भव्य बागमति अपार्टमेन्टमा बस्दै आएका ढकालले श्रीमतीका लागि लिला श्रेष्ठ नामक प्रहरी जवान तथा चालकलाई दुरुपयोग गरेका छन् ।
यता घरमा खाना पकाउन र सहयोगीका रुपमा भने इन्फेन्टीमा सामाखुसीमा कार्यरत प्रहरी जवान कृष्ण पौडेललाई दुरुपयोग गरेको पाइएको छ । समाखुसी स्थित पहरा गणमा कार्यरत पौडेललाई ढकाल दम्पत्तिले दुरुपयोग गरेको देखेपछि उक्त गणमा समेत तिब्र असन्तुष्टि छ ।
यता अपराध महासाखामा दरबन्दी रहेका चालक लिला श्रेष्ठलाई भने अपराध महासाखा जान दिनुको सट्टा अपार्टमेन्टमै बन्धनमा पारिएको छ ।
यता ढकालले पूर्वि नेपाल तर्फ बन्दै गरेको नयाँ घरमा भने अपराध महासाखामै दरबन्दी रहेका अर्का एक प्रहरी जवानलाई रेखदेख गर्न खटाएको अपराध महासाखाकै एक प्रहरी अधिकृतले बताए ।
ढकाल भन्छन्,‘तपाईंलाई किन चाहियो ?’
यस विषयमा एसपी ढकाललाई सम्पर्क गर्दा उनले शुरुमा तपाईंलाई किन चाहियो भन्दै झर्किने कोशिस गरे । तर, समाचार प्रयोजनको लागि बताएपछि भने आफ्नो विषयमा कपोकल्पीत कुरा कसैले लगाएको उनले बताए ।
‘मसँग एउटा ड्राइभर हुन्छ । तपाईंले नाम लिनु भएको लिला श्रेष्ठ अहिले विहेमा गएको छ,’ उनले भने,‘अरु कोही छैन । कसैले कपोकल्पीत कुरा लगाइदियो भन्दैमा एउटा प्रोफेश्नल अफिसरको क्यारियरमा असर गर्दैन र ?’