‘हामी घर खोजिरहेछौँ, तिमीहरु बस्ती जलाउँदैछौ’

diyopost.com
दियो पोस्ट  आइतबार, पौष ०४, २०७८ | २०:४४:१०

फूलमती

“हामी घर खोजिरहेछौं, तिमीहरु बस्ती जलाँउछौ”

आइतबार माइतीघर मण्डलामा आन्दोलनमा आएकाहरु यस्ता नारा घन्काइरहेका थिए । ।
बाँदरझुला गाउँबाट आएका उनीहरु व्यथा कहालीलाग्दो छ ।

भुमिहिन, सुकुम्बासी , गरिब किसानलाई मुक्ति दिलाउन भन्दै १० वर्षे जनयुद्धको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी क्षेत्र हो बाँदरझुला ।

चितवन जिल्लाको भरतपुर महानगरपालिकाबाट दक्षिण माडी नगरपालिका वडा नं ९ मा बाँदरझुला गाउँ अवस्थित छ ।
बाँदरझुला गाउँको उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको सिमानामा पर्दछ । बाँदरझुला गाउँमा २०१८ सालदेखि मानिसहरु बसोबास गर्दै आएका छन् तर उनीहरुले आफ्नो जग्गाको लालपुर्जा पाएका छैनन् ।

२०१८ सालमा बसेको बस्ती २०३६ सालमा उठ्यो । हालको बस्ती भने २०४७ सालमा बहुदलपछि विभिन्न ठाउँमा छरिएर रहेका भूमिहिन सुकुम्बासीहरुले कटेरो बनाएर स्थापित भएको हो । लामो समय बाँदरझुला गाउँमा बसोबास गरिरहेका स्थानीयहरुलाई राज्यबाट कुनै व्यवस्थापन हुन सकेको छैन । राज्यले व्यवस्थापन गर्नुपर्ने तर त्यसको विपरित २०५८ सालको माघमा आगो र हाती लगाएर बस्ति जलाउने र बाँदरझुलाका जनतालाई त्यहाँबाट जबरजस्ती हटाउने काम गर्यो । जसको कारण त्यहाँका बासिन्दाहरु अमुवा खोलाको तिरमा बस्न बाध्य भएका थिए ।

बाँदरझुला गाउँबाट माइतीघर आइपुगेका स्थानियहरुले आफूले धेरै दुख भोगेको र अहिलेसम्म गाउँमा बिजुली पनि नपुगेको बताए । “करिब ५ महिना सम्म खोलाको तिरमा बसेका हामीहरु २०५९ सालमा आफ्नै ठाँउ फर्केर पुनः कटेरो बनाई बस्दै आईरहेका छौं । आज पनि विभिन्न बहानामा राष्ट्रिय निकुञ्जको कानुनको आधारमा हामीलाई दुख दिने र झुट्टा मुद्दा लगाउने कार्य भईरहेको छ । तर बादँरझुला गाउँ निकुञ्ज घोषणा हुनु पूर्व बसेको बस्ती हो र हालको सिमाङकनमा पनि निकुञ्ज भित्र सो क्षेत्र पर्दैन, ” एक आन्दोलनकारी भन्दै थिए ।
भूमिहिन, सुकुम्बासी, गरिब किसानको लागि दस वर्षे जनयुद्ध लडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धेरै पटक बाँदरझुला गाउँमा पुगेका छन् ।

उनले भूमिहिन समस्या हल गर्ने, तत्काल स्थायित्व प्रधान गर्ने जस्ता भाषण गरे । तर, उनी पटक पटक सत्तामा पुग्दा पनि बाँदरझूलाको मुद्दा विर्सिए । पार्टीले भूमिसुधार मन्त्रालय समेत पायो तर, समस्या जहाँको तहीँ छ ।
रामको जन्मभुमि भनेर माडी नगरपालिकालाई प्रचार गर्ने नेकपा एमालेका अध्यक्ष केपी ओलिले पनि स्थानियको आवाज सुन्ने प्रयत्न नगरेको आन्दोलनकारीको भनाई छ । “राम मन्दिर बनाउन उनले हर प्रयत्न गरिरहेको बेला हाम्रो समस्या उनका लागि गौण हुन पुगेको छ । यो खेदजनक छ,’ ती आन्दोलनकारी भन्छन्, “राजनितिक दलहरुले यस क्षेत्रलाई केबल आफ्नो भोट बैँकको रुपमा प्रयोग गर्दै आएका छन् । विभिन्न समयमा हामीले आफ्नो हकको लागि आवाज उठाए तापनि त्यसलाई नगरपालिका स्तरसम्म मात्रै सिमित गरिने र राजनितिक दबाबमा आन्दोलन निस्तेज हुँदै आईरहेको छ ।”

 

बाँदरझुला गाउँका स्थानियहरु हालसम्म पनि राज्यको सेवा सुविधाबाट टाढा छन् । उनीहरुलाई बाली लगाउँदा ट्याक्टर लगाउने अनुमति छैन । र घरअघि ढलेको सुकेको रुख पन्छाउन पनि उनीहरुले पाउदैनन् । यस्ता तमाम समस्याहरुको कारण जग्गाको स्वामित्व नै रहेको उनीहरुको दाबी छ । जबसम्म आफ्नो भूमिमा आफ्नो अधिकार हुँदैन तबसम्म राज्यले विभिन्न बहानामा दुख दिई रहने भएकोले उनीहरु यतिबेला काठमाडौं आईपुगेको बताए । “हाम्रो एउटै माग छ , हाम्रो भूमिको लालपुर्जा हामीलाई देउ । करिब हरेक घर धुरिको प्रतिनिधित्व रहेको यस भूमिको स्मामित्व प्राप्तिको आन्दोलन अब उधारो झुटो सहमतीमा टुङगीन हुन्न भन्नेमा हामीहरु सजग छौं र । यो प्राप्त नभएसम्म हामीले आन्दोलन छाड्ने छैनौं,” अर्का आन्दोलनकारीले भने ।

नगरपालिकाबाट समस्याको समाधान नहुने भएपछि प्रकाश तामाङको नेतृत्वमा बाँदरझुला संघर्ष समिति निर्माण गरी स्थानिय भूमि प्राप्तिको आन्दोलन संगै धर्ना कार्यक्रमको लागि संघीय राजधानी काठमाडौं आइपुगेका हुन् ।

 

सम्बन्धित खबर