महिनावारी बहस: ‘पुरुषहरूको योनी’बाट प्रत्येक महिना रगत नबग्ने हुँदा पनि यो कुरा ओझेलमा परेको हो

diyopost.com
राजु झल्लु प्रसाद
  मंगलबार, पौष ०६, २०७८ | १४:५९:५०

महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन्, जुन अनिवार्य जैविक प्रक्रिया हो । चिम्पाञ्जीको उदयसँगै वा चार खर्ब वर्षदेखि महिनावारी विद्यमान भएको रेकर्डमा देखिन्छ ।

सामान्यतया स्वस्थ बालिका १० वर्ष पुगेपछि कुनै पनि समयमा रजस्वला हुन्छिन् । बालिका १० देखि १५ वर्ष हुँदा पहिलो पटक रजस्वला हुनु स्वास्थ्यको दृष्टिकोणमा राम्रो मानिन्छ । नेपालमा धार्मिक, सामाजिक कारणले गर्दा महिनावारिको खासै कुराकानी हुँदैन । शहर वा विकसित देशमा पनि महिनावारी विभेद फरक नाम, स्वरुप वा बहानामा अभ्यासमा छन् । कतिपय ठाउँमा सजिलै देखिन्छ भने कतिपय ठाउँमा देखिँदैन ।अन्य सामाजिक अवस्थाका कारण तरिकाहरु फरक होलान् । आयाम फरक हुनसक्छन् । धेरै थोरै होलान् । तर, केही न केही विभेद जहाँसुकै छ । पुरुष मात्रै हैन नेपालमा स्वयम महिलाहरू पनि यस विषयमा खुलेर बोलेको एकदमै कम पाइन्छ ।

रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरूको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ । महिनावारिकै कारण लज्जित हुनुपर्ने, जागिरमा खटपट हुने, सम्बन्धमा दरार आउने, अमर्यादित व्यवहार नहुने, हीनताबोध हुने आदि अवस्था निस्तेज हुनुपर्छ । त्यसैले मर्यादित महिनावारी नीतिगत तहमा आई मूलप्रवाहीकरण हुनु आजको आवश्यकता हो ।

यहि कुरालाई मध्यनजर गर्दै  ‘महिनावारी बहस’ सुरु गरेको छौं । प्रस्तुत छ, दियो पोस्टका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री:

अनिता पण्डितसँग ‘महिनावारी बहस’

महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बीबीसीले बताइसकेको थियो । यस्तो बेला सरकारले प्याडको मूल्य अझ बढायो । मेन्स्ट्रुअल कप, टेम्पोनमा उत्तिकै कर लगाइरहेकै छ । सरकारको नालायककीलाई कसरी हेरिरहनु भएको छ ?

पैसामा हुने खर्च भन्दा अघि यहाँ महिनावारी हुँदा छाउगोठमा ज्यान गुमाएका तमाम महिला र किशोरीहरूको आँकडामा सोच्न बाध्य भइन्छ। नेपालको सन्दर्भमा यो क्षति के मा नाप्न सकिएला र ?

खर्चकै कुरा गर्दा ठ्याक्कै कति महँगो हो तथ्याङ्कबारे अनभिज्ञ नै छु। अर्को महत्त्वपूर्ण कुरा, नेपालमा महिनावारी हुने कति प्रतिशत महिलाहरूले बजारबाट किनेर प्याड प्रयोग गरिरहेका छन्, त्यो तथ्याङ्क हुन आवश्यक छ। अझ, मेन्स्ट्रुअल कप र टेम्पोनबारेमा व्यक्तिगत रूपमा मलाई पनि ज्ञान भएको धेरै भएको छैन। राजधानीमा वर्षौँ बसिसकेका मान्छेको लागि त नौलो लाग्ने यो कुराहरूबारे गाउँ घरका अधिकांश महिलाहरूलाई पत्तै छैन भन्दा गलत नहोला।

मलाई लाग्छ नेपालका अधिकांश महिलाहरू अझै पनि पुरानो धोतीका टुक्राहरू नै प्रयोग गरिरहेका छन्। यद्यपि प्याड प्रयोग गर्ने सङ्ख्या अवश्य बढिरहेको छ। कामकाजी महिलाहरू, किशोरीहरू, युवतीहरू आज प्याड नै रुचाउँछन्। नेपालमा प्याड सस्तो छैन। तर, कुरा यो पनि हो, नेपालमा के चाहिँ सस्तो छ र? राज्य व्यवस्था आम जनताको हितमा नीति बनाउने खालको नहुँदा यी समस्याहरू स्वाभाविक रूपमा निरन्तर आइरहने छन्। प्याड सस्तो बनाउने विकल्पको लागि राज्य तयार छैन। नीति निर्माणमा ठाउँ ओगटेका तमाम ‘पुरुषहरूको योनी’बाट प्रत्येक महिना रगत नबग्ने हुँदा पनि यो कुरा ओझेलमा परेको हो।

अध्ययनअनुसार, नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन् । तपाईँको आफ्नो भोगाई के छ ? पेनकिलर ट्याब्लेट (यदि प्रयोग गर्नुहुन्छ भने), प्याड लगायतका लगायताका सामग्रीहरू प्रयोग गर्दा तपाईँको महिनावारी खर्च कति पुग्न जान्छ?

महिनावारीमा हुने खर्च हिसाबकिताब गर्ने बानी बसेको छैन। तर, खर्च हुन्छ। आजकल म प्याड प्रयोग गर्छु। तर महिनावारी सुरु हुँदाताका कपडा प्रयोग गर्थे। प्याडले पनि समस्याहरू ल्याउने, कम गुणस्तरका प्याडले क्यान्सर समेत भएको खबरहरूले अत्ताउँछ।

एक वर्षअघि घरेलु प्याड प्रयोग गर्ने भन्ने हामी केही साथी बिच सल्लाह भयो, पिरियडकै लागि बनाइएको कपडाको प्याड किनियो। तर त्यो झन् कम गुणस्तरको परेछ, जमलको एक पसलमा विशेष रूपमा पाइने त्यो प्याडको कपडाबाट रङ्ग छुट्ने रहेछ। मलाई डर लाग्यो र मैले त्यो प्रयोग गर्न छाडेँ।

मलाई महिनावारी हुँदा धेरै पेट दुख्छ, म पहिलो दिन दिनभर थला पर्छु। पेन किलर महिनावारी सुरु हुनु लगत्तै नलिए दिनभर भोमिटिङ हुन्छ केही खान पनि सक्दिन। सुरुवात देखि मैले हरेक पटक महिनावारी हुँदा एक या दुई वटा ‘मेफटाल ५००’ लिन्छु। हिँडिरहनु पर्ने हुँदा धेरैजसो यो औषधी घरमा छुट्छ स्टक हुँदा हुँदै पनि किन्नुपर्छ।

आमा हजुरआमाले पुराना मक्किएका कपडा प्रयोग गरेर प्याड बनेको र सुकाउने ठाउँ नहुँदा दोस्रो वस्त्र मुनि चेपेर सुकाउने गरेको देखेको हुँ । अहिले चाल पाउँछु, ससुरा-देवर भएका संयुक्त गोपनीयताको कुरा पनि रहेछ त्यहाँनेर । र, त्यसरी घाम सुक्न नै नपाएका ती प्याडहरू हानिकारक पनि थिए । तर,  आजभोलि कपडाका स्यानिटरी प्याड कसरी बनाउने र कसरी स्वच्छता कायम गर्दै प्रयोग गर्ने भनेर तालीमहरू पनि हुन लागेका छन् । तपाईँ के भन्नुहुन्छ, रेडिमेड प्याड कि कपडाको प्याड ? मैले सोध्न आँटेको, प्याड मात्रै एकसरो विकल्प हो र ?

मेरो महिनावारी सुरु हुँदा मेरो हजुरआमा बितिसक्नुभएको थियो भने आमा जनयुद्धमा अर्ध भूमिगत हुनुहुन्थ्यो । अनि पछिल्लो समय पनि म आमासँग बसिरहेको छैन, त्यसैले हजुरआमा, आमाको कपडा प्रयोगको कुरा त रहेन। तर, म पुरानो कपडा भने प्रयोग गर्थें, पुरानो तन्ना तथा सिरकका खोलहरू र एकपटक प्रयोग गरेर फालिदिन्थें।

महिनावारी हुँदा प्रयोग भएको लुगा मात्र होइन, सहर बजारकै पनि धेरै महिला, किशोरीहरू ब्रा, पेन्टी घाममा सुकाउन लाज मान्छन्। यो लाज हटाउन धेरै काम गर्नुपर्ने छ।

आजकल, प्याडको घरेलु विकल्पको बारेमा तालिमहरू हुन्छन् तर ती पनि ज्यादै प्रभावकारी म देखिरहेको छैन। नाफाकै लागि घरेलु प्याड बनाउन सिकेकाहरू मध्येबाट पनि बजारमा कमसल, रङ्ग निस्कने कपडाहरू प्रयोग गरिरहेका छन्। त्यो त झन् हानिकारक भयो नि। प्याडको विकल्पबारे त सोच्दै गर्नुपर्छ। विकल्प नहुने भन्ने छैन। पहिले तपाईँले उल्लेख गर्नुभएको मेन्ट्रुअल क्याप र ट्याम्पोन पनि विकल्प हो।

माथिकै प्रसङ्गलाई जोडे, महिलाका लुगा खाली ठाउँ सुक्नु आज पनि लाजकै विषय नै त बनिरहेको छ, होइन ?

हो, लाजको विषय छ। यो कुरा महिनावारीसँग मात्र पनि जोडिएको छैन। समग्र सोच र चिन्तन पद्धतिसँग पनि सम्बन्धित छ। महिलाहरू पुरुषले नुहाएर त्यसै छोडेको पेन्टी आफैँ धोएर घाममा सुकाउने काम गरिरहने र आफ्ना ब्रा पेन्टी चाहिँ लुगाले छोपी-छोपी सुकाउने कुरा पनि पितृसत्ताले सिकाएको दासताको एक अभिव्यक्ति हो। यो कुरा परिवर्तन गर्न वैज्ञानिक चेतना प्रवाह र पितृसत्तात्मक दासत्वको अन्त्य गर्ने व्यापक अभियान र कार्यदिशाको खाँचो छ। लाज र सरम हटाउन विद्रोह जरुरी छ। तब पो ‘काठमाडौंको सोचाइ जस्ता छाउगोठ’हरू पनि भत्किन्छन् र फेरी बन्दैनन्।

महिनावारी सम्बन्धी गलत अभ्यासको खुलेर आलोचना गर्ने महिला/पुरुषहरू अझै पनि घरमा महिनावारीको समयमा कुनै न कुनै हिसाबले प्रतिबन्ध अभ्यास गरिरहेका देखिन्छन् । के तपाईँ महिनावारीको समयमा मन्दिर, पूजा, भान्छा लगायत हरेक ठाउँमा प्रवेश गर्नुहुन्छ ?

तपाईँ सही भनिरहनु भएको छ। आराम हुन्छ भनेर भान्सामा नजाने, मन्दिरमा चैँ नछुने भन्ने कुरालाई धेरै महिलाहरूले गौरवको विषय बनाइरहेका छन्। त्यस्ता अभ्यास गर्न धेरै ठाउँमा बाध्य पारिने परिवेश पनि छ। म महिनावारीको समय असह्य पीडामा हुने र सँगै रहेका सबैले थाहा पाउने हुँदा केही वर्ष अघि परिबन्ध परेर कतिपय व्यक्तिको आँखा अगाडी भान्सामा नपसेका घटना छन् तर हाम्रो घरमै चाहिँ त्यो प्रतिबन्ध छैन। मेरोमा पूजा कोठा वा मन्दिर छैन र राख्न जरुरी पनि लाग्दैन।

सावित्री गौतमका अनुसार ‘कण्डोमभन्दा इमर्जेन्सी सामाग्री प्याड हुनसक्छ । यसकारण प्याड कण्डोम जत्तिकै सर्वसुलभ हुनुपर्दछ ।’ तपाईँको विचार ? कण्डोम (एचआइभी एड्स,..) लाई जुन हिसाबले प्रचार-प्रसार गरियो/गरिँदै छ, सोही हिसाबमा प्याड (महिनावारी) को प्रचार-प्रसार किन भइरहेको छैन ?

कण्डोम र प्याड फरक प्रयोजनमा प्रयोग हुने भएकाले यी एक अर्काका परिपूरक हुन सक्दैन। बहसलाई अलि अर्कौ कोण दिन जरुरी छ जस्तो लाग्छ। प्याड या महिनावारीको व्यवस्थापनका सामग्री सस्ता गुणस्तरीय र सहज रूपमा उपलब्ध हुनै पर्ने कुरा एजेन्डा बनाउन सकिन्छ । महिलाको एजेन्डामा राज्य एकदमै असंवेदनशील भएकैले यो सब भएको हो। महिनावारी व्यवस्थापनको बहस धेरै भएको छैन, अहिले यो बहसले पनि नयाँ सुरुवात गर्ला की!

महिनावारीसँग जोडिएको मानसिक चिन्ता, हैरानी र उत्पीडनका बारेमा पाठ्यपुस्तक, सम्बन्धित निकायहरूको बेवास्ता के-कति कारण होला ?

महिनावारीसँग जोडिएका कुरा मात्र होइन, हाम्रा पाठ्यक्रममा ज्ञानको बारेमा अवधारणा नै सही छैन। कुनै पनि व्यवहारिक शिक्षा हाम्रो सिकाइमा समावेश छैन भन्दा गलत नहोला। महिनावारी त अझै महिलाको समस्या हो, त्यसैले सधैँ उपेक्षित नै छ।

रगत लाज, भेदभाव, अपवित्र फोहोर, प्रदूषित रगत जस्ता भाष्यहरूको पछाडि के-कस्ता अर्थहरू लुकेको भेट्नुहुन्छ ? ‘कर्णालीमा चामल छैन , काठमान्डु बस्नेलाई प्याड चाहियो’ भन्नेहरूलाई तपाईँ के भन्नुहुन्छ ?

पहिलो कुरा अवैज्ञानिक चेतनाले नै रगत लाज, भेदभाव, अपवित्र फोहोर र प्रदूषित रगत भन्ने भाष्य बनाएको हो। यसमा अरू अर्थ खोजी रहनुपर्ने जरुरत छैन। ‘कर्णालीमा चामल छैन, काठमान्डुमा बस्नेलाई प्याड’ भन्ने जमातलाई गज्जबको थप्पड तब हुन्छ जब कर्णालीका महिलाहरूले पनि सहजै महिनावारी व्यवस्थापनको लागि आवश्यक प्याड लगायत सबै सामग्री सहजै पाउने वातावरण बन्छ। हामीले त्यो कसरी गर्न सकिन्छ भन्ने तर्फ सोच्नुपर्ला।

अबको बहसमा शारीरिक अशक्तताको मुद्दाहरू छुटाउनु हुँदैन। मैले कतिपय मानसिक रोगीहरूलाई देखेको छु, जो कपडाभरि रगतको टाटा लिएर हिँडिरहनुहुन्छ। बहस प्रभावकारी बनाउन हरेक कोणबाट मुद्दालाई हेरिनु जरुरी छ। 

आजभोलि महिनावारीलाई स्वास्थ्य तथा सरसफाइको आँखाबाट मात्रै बहस गरिँदै छ, जबकि यो मानव अधिकारको कुरा हो, सशत्तिकरणको कुरा हो । शारीरिक अशक्तता भएका महिलाहरू अझै पनि यस बहसमा अटाएका छैनन् । महिनावारीको विषयमा नेपालमा भएका बहसहरू कत्तिको प्रभावकारी देख्नुहुन्छ? बहसलाई प्रभावकारी बनाउन के गर्न सकिएला ?

बहस भएकै पाउँदिन म त। महिनावारी हुँदा मुख्य रूपमा सरसफाई र स्वास्थ्य नै प्रमुख हुन आउँछ। अबको बहसमा शारीरिक अशक्तताको मुद्दाहरू छुटाउनु हुँदैन। मैले कतिपय मानसिक रोगीहरूलाई देखेको छु, जो कपडाभरि रगतको टाटा लिएर हिँडिरहनुहुन्छ। बहस प्रभावकारी बनाउन हरेक कोणबाट मुद्दालाई हेरिनु जरुरी छ।

महिनावारीका सबै सीमा तोड्न स्वास्थ्य, शिक्षा, सरससफाइ, मानव अधिकार एवं सशक्तीकरण जस्ता विभिन्न आयामबाट विभिन्न प्रयासहरू भइरहेता पनि प्रयासकर्ताहरू एकजुट हुन् नसकिरहेका जस्तो पनि देखिन्छ । संयुक्त प्रयासले भइरहेका बहस र छलफललाई समाधान केन्द्रित गर्ने थियो कि ?

महिनावारीको मुद्दा अलग्गै मुद्दा होइन, यसमा पनि पितृ सत्ता, नाफामुखी व्यवस्था, धार्मिक सांस्कृतिक रुढीवाद उत्तिकै जोडिएको छ। यी सबै खाले मुद्दालाई समेटेर सर्वतोमुखी जागरण अभियान र आन्दोलनहरू उठाउन जरुरी छ । आजभोलि आन्दोलन र अभियानहरूले बृहत्तर उद्देश्य राखेर सञ्चालन भएको पाइँदैन। त्यसैले मुद्दाहरू अलपत्र हुने गर्छन्।

महिनावारीको पहिलो अनुभव कस्तो थियो ? कति वर्षको हुनुहुन्थ्यो ? महिनावारी भएको हो कि होइन भनेर झुक्किनु पनि भयो कि ? तपाईँ र तपाइको आमाको अनुभवबिच के कति फेरबदल आएको पाउनुहुन्छ ?

महिनावारीको पहिलो अनुभव मैले परिवारमा सुनाएको छैन। पहिलो पटक महिनावारी हुँदा म आठ कक्षामा पढ्थे। तेह्र वर्षकी थिएँ। मेरी दिदीको महिनावारी मेरो भन्दा दुई-ढाई सालपछि भयो, त्यसैले मैले हिचकिचाएर दिदीको महिनावारी नहुँदासम्म आफू महिनावारी भएको बारे घरमा कसैलाई जानकारी दिइन। त्यति बेला आमा साथमा नहुनाले र घरमा अरू महिलाहरू पनि नहुनाले पत्तो भएन। त्यति बेला पेट दुख्दा म टाउको दुखेको बहाना गरेर टाउको बेरेर बस्थे। महिनावारी भएकोबारे मैले सजिलै थाहा पाएँ।

म र मेरी आमाको अनुभव फरक छ। मेरी आमाको महिनावारी सुरु हुनु अघि नै बिहे भइसकेको थियो। मेरी आमा पनि महिनावारी बार्न छोड्नुभएको वर्षौँ भयो।

तपाईँमा ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम (पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायत समस्या)’ देखिने गर्दथ्यो या देखिँदैन थियो ? त्यसलाई कसरी ट्याकल गर्नुहुन्छ ?

प्रायजसो महिनावारीको सुरुको एक दिन धेरै कष्टपूर्ण हुन्छ। पेट दुख्ने, खान मन नलाग्ने, भोमिटिङ हुने हुन्छ। औषधीको प्रयोग गर्छु। हट ब्याग पेट र कम्मरमा राख्ने गर्छु। तर सधैँ त्यो सम्भव हुँदैन। दुखाइमा पनि बाहिर निस्किरहेको हुन्छु। महिनावारी सुरु भएको दोस्रो दिन पछि सामान्य हुन्छ।

महिनावारीलाई गौरवपूर्ण रूपमा व्यवस्थापन गर्न के गर्नुपर्ला ?

आवश्यक सामाग्री सहज, गुणस्तरीय र सस्तो उपलब्ध हुने, गाह्रो हुनेका हकमा कार्यस्थलमा वा स्कुल, कलेजमा बिदा पाउने व्यवस्था हुनुपर्छ र आवश्यक आराम तथा आहारको व्यवस्था गर्ने हो भने महिनावारीको गज्जब व्यवस्थापन हुन्छ। त्यति भएपछि गौरव गरिरहनुपर्ने धेरै कुरा छैन!

यो पनि पढ्नुहोस्;

रेशम पत्नी रञ्जिता भन्छिन्- १२ दिनसम्मको लागि म आफ्नै घरमा अछुत भएँ

प्याड महंगो भए ‘धोतीको टालो हाल्’ भन्नेजस्तो व्यवहार सरकारले देखाइरहेको छ

महाधिवेशन प्रतिनिधि करिना पुरी भन्छिन्, “खाजा खाने पैसाले प्याड किनेँ, घर जाने पैसा थिएन”

सम्बन्धित खबर