
काठमाडौं । सन् २०२३ मा १६ लाख तीन हजार ८३६ जना नेपाली विदेशमा पुगेका छन्। यो संख्यामध्ये आठ लाखभन्दा बढी रोजगारीको लागि मात्रै र थप ८ लाख नेपाली अन्य विविध कारण विदेश पुगेका छन्।
रोजगारीपछि घुम्न जानेको संख्या धेरै छ। यो वर्ष दुई लाख चार हजार ५१८ जना घुम्ने प्रयोजनमा विदेश पुगेको तथ्यांक छ। करिब ७१ हजार नेपालीले त स्थायी बसोबास गर्नकै लागि विदेशीएको विवरण खुलाएका छन्।
अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १२ लाख ६३ हजार ४६९ जना नेपाली विदेशबाट फर्किएका छन्। यसमा नेपाली नागरिकता भएका व्यक्तिको मात्रै संख्या गणना गरिएको छ।
विभागको तथ्यांकले सन् २०२३ मा विदेश गएको कारण नेपालमा बस्नेको संख्या तीन लाख ४० हजार ३६७ घटेको देखाउँछ।
यो वर्ष गएकामध्ये कति फर्किए भन्ने तथ्यांक अध्यागमन विभागसँग पनि छैन।
विभागको तथ्यांकअनुसार सन् २०२३ मा सबैभन्दा धेरै नेपाली गएका १५ देशमध्ये दुइटा देशबाट फर्कनेको संख्या बढी छ। त्यस्तै १३ वटा देशमा जानेको संख्या बढी छ।
यो वर्ष भारतबाट दुई लाख २०८ जना नेपाली फर्किएका छन्। भारत जानेको संख्या एक लाख ८१ हजार १६ जना छ।
त्यस्तै कतारबाट एक लाख ९२ हजार ८८९ जना फर्किदा कतार जानेको संख्या एक लाख ७९ हजार ४४१ जना पुगेको छ।
सन् २०२३ मा सबैभन्दा धेरै मलेसियामा ६४ हजार ३८२, दुबईमा ५३ हजार ९२९, जापान, ३६ हजार ९१८ जना नेपाली थपिएका छन्।
त्यस्तै अष्ट्रेलियामा ३५ हजार ९६६, साउदीअरबमा २९ हजार ६७२, बेलायतमा २२ हजार ८५६ जना र अमेरिकामा २१ हजार २६३ जना नेपाली थपिएका छन्।
