होटल स्क्वायरको लापरबाही विरुद्ध ललितपुरवासी आन्दोलित : करेन्ट लागेर ‘कोमामा’ बिरामी

खुमा वली  

काठमाडौं । ललितपुरको पुल्चोकस्थित होटल स्क्वायर अगाडि प्रदर्शन भएको छ । गत भदौ १५ गते ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा रहेको स्विमिङ पुलमा पौडी खेलिरहेको बेला करेन्ट लागेर एकजना गम्भिर घाइते भएका थिए । घाइते हुनेमा ललितपुरको मानभवन निवासी सजिलमान शाक्य थिए । सोही विषयका होटलले गैरजिम्मेवार देखिएको र प्रहरीले पनि जाहेरी लिन नमानेको भन्दै पीडित परिवारले आन्दोलन गरेका हुन् । उनीहरुले होटल सञ्चालकलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन् । साथै निवर्तमान एसएसपी सिद्धिविक्रम शाह समेतलाई कारबाही गर्न माग गरेका छन् । शाहले घटनापछि जाहेरी दिन खोजेका पीडित परिवारको जाहेरी लिन नमानेको उनीहरुको भनाई छ । यद्यपी उनी बालकुमारी गोलीकाण्डमा प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

परिवारले आफूहरुले न्याय नपाएसम्म उक्त आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । सजिलमान करिब ५ महिनादेखि कोमामा छन् । होटलमा स्विमिङका लागि गएका बेलामा करेन्ट लगेर अचेत भएपछि होटलका कर्मचारी र उनकी पत्नीले उद्धार गरी उनलाई अस्पताल पुर्याएका  थिए ।
होटल स्क्वायरको लापरवाहीका कारण सजिललाई करेन्ट लागेको शाक्य परिवारको दाबी छ । घाइते भएपछि उनको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको उपचार भएकामा अहिले घरमा उनको उपचार भइररहेको छ । घाइतेका बुवा पुष्करमान शाक्यका अनुसार होटलमा भएको त्रुटिका कारणले आफ्नो छोरा घाइते भएको र अन्यलाई यस्तो अवस्था भोग्नुनपरोस् भन्ने मात्रै आफ्नो चाहना रहेको बताए ।

“होटलको लापरबाहीले मेरो छोरा यो अवस्था पुग्यो । जे नहुनु थियो भइसक्यो । तर अब कानुनी प्रक्रियामा जानु पर्छ । होटेलले गैरजिम्मेवार व्यवहार देखाइरहेको छ । आज उदाहरण मेरो छोरा भयो भोलि अ  रु नै पर्न सक्छन् । त्यसैले होटल सञ्चालकले पनि व्यवस्थित तरिकाले सञ्चलान गर्न जरुरी छ ।” उनले भने,“मेरो छोरा यसरी घाइते भयो । अब अरुलाई यस्तो नहोस् । हामीले सीसीटीभी फुटेज पनि हेर्यौं । त्यसमा उसलाई करेन्ट लागेको देखिन्छ । यस्तै नाडीमा पनि करेन्ट लागे जस्तो दाग छ ।”

ललितपुर प्रहरी परिसरका प्रवक्ता तथा एसपी नवराज कार्कीले विरामीलाई करेन्ट लागेर बेहोस भएको पुष्टि भएको बताए ।