त्रिशुलीमा खसेको गाडीका चालक सकुशल :प्रहरी

खुमा वली  

मुग्लिन–नारायणगढ सडक खण्डबाट मंगलबार बिहान त्रिशुली नदीमा खसेको गाडीका चालक सकुशल रहेका पाइएको प्रहरीले जनाएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट मंगलबार बिहान त्रिशुली नदीमा गाडी खसेको थियो।

मंगलबार बिहान ४:६० बजेको समयमा भारतीय नम्बर प्लेट बी आर ०९ जी सी १४३९ भएको गाडी त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। गाडी सडकबाट करिब १०० मिटर तल नदीमा खसेको थियो।

स्थानीयले गाडी खसेको जानकारी गराएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौज परिचालन भएको थियो।