विकास बैंक र फाइनान्सका १५ सीईओमाथि राष्ट्र बैंकको कारबाही, नामावलीसहित

दियोपोस्ट संवाददाता  

काठमाडौँ : नेपाल राष्ट्र बैंकले एकैसाथ १५ वटा वित्तीय संस्थाका सीईओ (प्रमुख कार्यकारी अधिकृत) लाई कराबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्र बैंकले यस्तो कारबाही गरेको हो । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैंकले सात विकास बैंक र आठ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो । सहुलियतपूर्ण कर्जा दुरुपयोग जस्तो गम्भिर अयोगमा राष्ट्र बैंकले सचेत मात्रै गराएर कारबाही गरेको बुझिएको छ । जबकी कर्जा दुरुपयोग अपराधको घटनामा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले अनुसन्धान गर्ने गरेको छ । तर, राष्ट्र बैंकले भने सचेत मात्रै गरेर कारबाही टुंग्याएको छ ।

‘पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनमा ती संस्थाहरूबाट प्रवाह भएका कर्जामध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखापरीक्षणबाट तयार गरी यस बैंकमा प्रतिवेदन पेस भएको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘प्रतिवेदनमा खुलाइएअनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियतपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सोसम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम ती वित्तीय संस्थाका कार्यकारी प्रमुखलाई सचेत गराइएको छ ।’

राष्ट्र बैंकका अनुसार लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहोरा, महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल, कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली, मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युम्न पोखरेल, सालपा विकास बैंकका सीईओ योगेन्द्र पुन, गरिमा विकास बैंकका सीईओ माधव प्रसाद उपाध्याय, सप्तकोशी डेपलपमेन्ट बैंकका सीईओ दिनेश कुमार पोखरेल कारबाहीमा परेका छन् ।

त्यस्तै कर्जा दुरुपयोग गरेकै अभियोगमा ८ वटा फाईनान्स कम्पनिका सीईओ पनि कारबाहीमा परेका छन् । राष्ट्र बैंकको प्रतिवेदन अनुसार समृद्धि फाईनान्सका सीईओ टिकानिधी लोहनी, पोखरा फाईनान्सका सीईओ रवि चन्द्र गुरुङ, प्रोग्रेसिभ फाइनान्सका सीईओ अनिल श्रेष्ठ, आईसीएफसी फाइनान्सका सीईओ सुनिल पन्त, जानकी फाइनान्सका सीईओ दिनेश कुमार शर्मा, रिलायन्स फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठ, गुडविल फाइनान्सका सीईओ सरोज काजी तुलाधर र सेन्ट्रल फाइनान्सका सीईओ राजोज मान श्रेष्ठलाई पनि राष्ट्र बैंकले कारबाही गरेको छ ।

त्यस्तै दुई विकास बैंक र दुई फानान्स कम्पनिले भने राष्ट्र बैंक कानुन उलंघन गरेको अभियोगमा अर्को थप कारबाही समेत गरिएको छ । नियामकीय व्यवस्था उल्लंघन गरेको आरोपमा राष्ट्र बैंकले ती संस्थालाई कारबाही गरेको हो । यसरी कारबाही भोग्नेमा गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्स छन् ।

गरिमा विकास बैंकले कालोसूचीमा रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएपछि सचेत गराइएको राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ भने अहिले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ ।