
काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ स्थित रहेको ८.४ मेगावाटको आँखु खोला जलविद्युत स्थापना भएको १८ औँ वर्षमा पुग्दा पनि लाभांस दिन सकेको थिएन । कम्पनिले आफ्नो वार्षिक प्रतिवेदनमा लाभांस दिन नसकेकोमा गुनासो पोख्दै आएको थियो । वार्षिक १७ देखि २० करोडको हाराहारीमा आम्दानी गरेपनि संचालन खर्च नै धान्न नसकेर टाट पल्टिने अवस्थामा पुगेको यो जलविद्युत आयोजनाका संचालकहरु हकप्रद सेयर निष्काशन बिक्रीपश्चात भने मालामाल बनेका छन् ।

स्रोतका अनुसार राईट सेयर अर्थात हकप्रद सेयर बेचेर नै १ अर्ब १८ करोड कमाएका थिए । संचालकहरुले यसरी राइट सेयरबाट उठाएको रकम मध्ये ४० करोड रुपैयाँले प्राइम बैंकको नेतृत्वमा रहेको सहवित्तिय ऋणदाता बैंकको ऋण तिरेका छन् भने बाँकी रहेको ७८ करोड रुपैयाँले ३८ मेगावाटको माथिल्लो आँखु खोलामा लगानी गरेका छन् । सर्वसाधरणबाट उठाएको रकममा अध्यक्ष प्रकाश भनिने राम श्रेष्ठले मनोमानी गरेको स्रोतले जनाएको छ । उनले सर्वसाधरणबाट उठाएको रकमबाट माथिल्लो आँखु खोला जलविद्युत परियोजनामा लगानी गरेको भनेपनि उक्त हाईड्रो निर्माणको नाममा लुट मच्चिने खतरा छ । किनकी सामान्य त प्रतिमेगावाट १४ देखि १५ करोड लागतमा निर्माण हुनसक्ने जलविद्युत आयोजनाहरु मध्ये आँखु खोला सबैभन्दा महँगो लागतमा निर्माण भएको आयोजना हो । आँखु निर्माण गर्दा प्रति मेगावाट २८ करोड रुपैयाँ भन्दा बढी लागत देखाइएको छ । तर, यो जलविद्युत परियोजना निर्माण गर्ने रामेछाप शेर्पा कन्स्ट्रक्सनले आफूले निर्माण गरेबापत रकम नपाएको भन्दै अदालतमा मुद्दा नै हालेको थियो । जिल्ला अदालत काठमाडौंले ठेकेदारले पाउनुपर्ने रकम जलविद्युत परियोजनाले दिनुपर्ने फैसला गरेको थियो ।

पछिल्लो आर्थिक वर्षको प्रतिवेदन अनुसार यो जलविद्युत परियोजनाले १ अर्ब २३ करोड रुपैयाँ बैंक ऋण तिर्नुपर्ने थियो । वार्षिक प्रतिवेदनहरु अनुसार वार्षिक ११ करोड रुपैयाँ त बैंकहरुको ब्याज नै तिर्नुपर्ने हुन्थ्यो । गत असोज ६ गते सार्वजनिक १७ औँ वार्षिक प्रतिवेदन अनुसार निर्माण सम्पन्न भएको ११ वर्ष हुँदा समेत यहाँका संचालकहरुले लाभांस पाउन सकेका थिएनन् । वार्षिक प्रतिवेदन अनुसार परियोजनामा भएको उच्च लागत र ब्याज खर्च धान्न नसकेका कारण यो परियोजना नाफामा जान सकेको छैन । पछिल्लो आर्थिक वर्षमा यो कम्पनिले विद्युत बिक्रीबाट १७ करोड ४१ लाख आम्दानी गरेको छ । तर, पछिल्लो आर्थिक वर्षमा ब्याज खर्च बढेर ११ करोड ८१ लाख पुगेको उल्लेख छ ।

विद्युत उत्पादन वितरण खर्च नै १ करोड ८५ लाख रुपैयाँ पुगेको देखिन्छ । प्रतिवेदनमै उल्लेख भए अनुसार आर्थिक वर्ष २०८०।८१ मा १ करोड ४१ लाख ७२ हजार घाटामा गएको छ । यो कम्पनिले विद्युत व्यापार गरेर भन्दा पनि शेयर विक्री गरेर शेयरधनीलाई लाभांस दिने लक्ष राखेको प्रतिवेदनमै उल्लेख छ । यसरी टाट उल्टिएको यो कम्पनिका संचालकहरु हकप्रद शेयर विक्रीपछि भने मालामाल भएका हुन् । कम्पनिका अध्यक्ष राम श्रेष्ठलाई यस विषयमा प्रतिक्रियाका लागि पटक पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।