विवादास्पद व्यापारी सुहृद घिमिरे : कमलपोखरीमाथि बनेको छायाँदवीमा श्रीमतीको नाममा शेयर !

दियोपोस्ट संवाददाता

नेवारी भाषा ‘थँ’ भन्नाले सबैभन्दा जेष्ठ अर्थात माथिल्लो । ‘बहिल’ भन्नाले विहार । कान्तिपुर शहरको उत्तरी माथिल्लो भेगमा निर्माण गरिएको विहार जसलाई ‘थँबहिल भनिन्थ्यो । थँ बहिललाई विभिन्न नामले चिनिन्छ । थँबहिललाई जस्तै विक्रमशील महाविहार, धर्मधातु महाविहार तथा राजविहार पनि भनिन्छ । यस विहार क्षेत्रको नामाकरण यसै विहारबाट भएको हो । थँबहिल शब्द अप्रभंश हुँदै अहिले ठमेल बनेको छ । जसलाई राजधानी काठमाडौंको पनि राजधानी भनिन्छ ।


यस विहारको निर्माणसँगै विहारको पूजा, चाडपर्व तथा संस्कारका लागि निर्माण गरिएको कमलपोखरी, विहारको ठीक पूर्र्वितर रहेको छ, जुन तान्त्रिक विधिले बनाएको पोखरी हो । यस पोखरीको चारैतिर र बीचमा तान्त्रिक विधिले बनाएका इनारहरु थियो । उक्त पोखरीमा कमलको फूल फुलाइन्थ्यो । त्यसैले यस पोखरीलाई कमलपोखरी भनियो ।

काठमाडौं डिल्लीबजारमा नापी शाखामा रहेको फिल्ड बुकमा वि.सं.२०३३ कार्तिक १६ गते कित्ता नं.१६७ को पोखरी नै उल्लेख गरिएको छ । तर यो कित्ताको पोखरीमा यतिबेला पोखरी छैन १५ तले भव्य महल छ । जसलाई व्यापारी पृथ्वी बहादुर पाण्डेले आफ्नी आमाको नाम छायाँ देवि पाण्डेको नाममा ‘छायाँदेवि कम्प्लेक्स’ प्रा.ली बनाएर खडा गरे । कमलपोखरी हत्याएर योजनाबद्ध रुपमा छायाँदेवि कम्प्लेक्स बनाउने पाण्डेसहित ४३ जना भूमाफियाहरुको नाम पटक पटक सार्वजनिक हुँदा पनि सरकारले छायाँ सेन्टर भत्काउन र भूमाफियालाई कारबाही गर्न सकेको छैन ।


कमलपोखरी हत्याएर आफ्नो व्यापारिक स्वार्थ सिद्ध गर्ने एक व्यापारी भने बालुवाटार जग्गाकाण्डमा मात्रै होइन बालाजु औद्योगिक क्षेत्रको जग्गा कौडीको भाउमा हत्याउने पात्र रहेको खुलेको छ ।


बालाजु जग्गाकाण्ड, बालुवाटार स्थित ललितानिवास जग्गा काण्ड र कमलपोखरी हत्याएर बनाइएको छायाँदेवि कम्प्लेस काण्डका विवादास्पद व्यापारी हुन्– सुहृदराज घिमिरे ।


घिमिरेले बालुवाटारमा आफ्नी सासु आमा इन्दु शर्मा र व्यावसायीक साझेदार पुरुषोत्तम पौडेल मार्फत सरकारी जग्गा कौडीको भाउमा आफ्नो नाममा ल्याएका थिए । कमलपोखरी स्थित छायाँ सेन्टरमा भने उनले आफ्नी श्रीमती, सासु र व्यावसायीक साझेदार भनिने पुरुषोत्तम पौडेलका छोरालाई अघि सारिएको पाइएको छ ।


छायाँ सेन्टरको नाममा कमलपोखरीको जग्गा हत्याउने ४३ भूमाफियाको सुचीमा उनकी सासुदेखि श्रीमतीको विवरण दियोपोस्टले फेला पारेको छ ।


छायाँदेवि कम्प्लेस प्रा.लीको कम्पनि रजिष्टार कार्यालयमा रहेको दर्ता किताब अनुसार घिमिरले आफ्नी श्रीमती रेखा घिमिरेको नाममा सबैभन्दा बढी शेयर खरिद गरेका छन् । रेखाको नाममा ३ करोड १० लाखको शेयर रकम रहेको देखिन्छ । घिमिरेकी सासु इन्दु शर्माको नाममा भने भने ९ लाख मात्रै शेयर छ ।


उनले व्यापारिक साझेदार पुरुषोत्तम पौडेललाई पनि छायाँ सेन्टर मार्फत कमलपोखरी हत्याउने योजनाको मतियार बनाएका छन् । छायाँदेवि कम्प्लेक्सको कम्पनि रजिष्टार कार्यालयको दर्ता किताबमा रहेको पौडेलका छोरा आशिष पौड्यालका नाममा ४० लाख रुपैयाँको शेयर रहेको छ ।


घिमिरे छायाँदेविको निर्देशक !


सासु र श्रीमतिलाई अघि सारेर छायाँदेवी कम्प्लेक्सको शेयर लिएका घिमिरे आफू भने निर्देशक छन् ।


खर्बपति व्यापारीका रुपमा चिनिएका घिमिरेको दर्जनौँ कम्पनि छन् । छायाँ सेन्टरकै सबैभन्दा माथिल्लो तलामा घिमिरले सञ्चालन गरेको होटलको छुट्टै कथा छ ।

बालुवाटारदेखि बालाजुसम्म !

बहुचर्चित बालुवाटार स्थित ललिता निवासले चर्चेको सरकारी जग्गा मध्ये करिब १३ रोपनी जग्गा उनले आफ्ना आफन्तको नाममा हत्याएका थिए ।


सासु आमा इन्दु शर्मा र व्यापारिक साझेदार पुरुषोत्तम पौड्याल मार्फत उनले बालुवाटारको सरकारी जग्गा किनबेच नै गरेका थिए । बालुवाटार जग्गा प्रकरणबारे प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले छानबीन गरिरहेको छ ।


आश्चर्य त के छ भने घिमिरेले बालुवाटारको जग्गा जग्गा प्रति आना ५० हजार रुपैयाँमै हत्याए ।


विवादित व्यापारी तथा बालुवाटार जग्गा प्रकरणका प्रमुख अभियुक्त मिन बहादुर गुरुङ, बालुवाटार जग्गाकाण्डमा फरार अभियुक्तहरु रामकुमार सुवेदी र शोभाकान्त ढकालको मिलेमतोमा घिमिरले सासु आमाका नाममा जग्गा किन्ने र बेच्ने धन्दा नै चलाएका थिए ।


२०६३ मंसिर १३ गते नै घिमिरेकी सासु इन्दु शर्माको नाममा दुई पटक बालुवाटार क्षेत्रको सरकारी जग्गा राजिनामा पास भएको रेकर्डमा देखिन्छ ।

उक्त जग्गा लिखत अनुसार भाटभटेनीका मालिक समेत रहेका मिनबहादुर गुरुङ र कामना गुरुङको संयुक्त नाममा रहेको १२ आना दुई दाम जग्गा घिमिरेकी सासु इन्दु शर्माको नाममा पास भएको देखिन्छ ।


इन्दुको नाममा पास भएको उक्त जग्गाको मुल्य भने ६ लाख २५ हजार रुपैयाँ मात्रै उल्लेख छ । हिसाब गर्दा प्रति आना ५० हजार रुपैयाँ मात्रै पर्न आउँछ ।


राज्यलाई बुझाउनुपर्ने कर छली गर्नकै लागि कम मुल्य गरेर विक्री गरिएको देखिन्छ । उक्त जग्गा राजिनामा पास गरिएको कागजातमा बालुवाटार जग्गा बेचविखनका प्रमुख अभियुक्त मध्येकै रामकुमार सुवेदी र शोभाकान्त ढकाल साक्षी बसेका छन् । उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ । यद्धपी हालसम्म उनीहरु फरार नै रहेका छन् ।

इन्दु शर्माकै नाममा २०६३ मंसिर १३ गते नै अर्को जग्गा राजिनामा पास भएको रेकर्डमा देखिन्छ ।


इन्द्रदेव गुरुङको नामबाट कित्ता नम्बरहरु १९, २०, २१ र २२ का करिब १४ आना २ पैसा १ दाम जग्गा इन्दु शर्माको नाममा पास भएको देखिन्छ । उनले उक्त जग्गा पनि ७ लाख २८ हजार २ सय रुपैयाँमै पाएको देखिन्छ । उक्त लिखतमा पनि भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदी नै साक्षी बसेका छन् ।


२०६३ माघ २५ गते नै इन्दु शर्माको नाममा भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ र उनका छोरा कल्याण गुरुङको नाममा रहेको जग्गा राजिनामा पास भएको छ । लिखत अनुसार गुरुङ परिवारले घिमिरेकी सास इन्दु घिमिरेलाई १३ आना जग्गा ६ लाख ८७ हजार ५ सय रुपैयाँमा विक्री गरेको देखिन्छ ।


इन्दु शर्माकै स्वामित्वमा रहेको अधिकांश जग्गाहरु किनबेच समेत भइरहेको पाइन्छ । रेकर्ड अनुसार व्यापारी घिमिरेकै कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेजका साझेदार समेत रहेका पुरुषोत्तम पौडेलको नाममा जग्गा राजिनामा पास भएको छ ।

२०६३ साल मंसिर १३ गते नै इन्दु शर्माको नाममा रहेको कित्ता नम्बरहरु ९२,९५, ९६ र ९७ का १ रोपनी आठ आना जग्गा कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज व्यापारिक साझेदार पुरुषोत्तम पौड्याललाई विक्री गरेको रेकर्डमा देखिन्छ । उक्त जग्गा भने एक लाख २५ हजार प्रति आनाका दरले कुल ३० लाख रुपैयाँमा विक्री गरिएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि सुचना प्रकाशित गरेरै घमिरेकी सासु इन्दु शर्मालाई बयानका लागि बोलाएको थियो । अहिले ललितानिवास परिसरमा ईन्दु शर्माकै नाममा करिब ३ रोपनी जग्गा रहेको छ ।

हाल इन्दुको नाममा ललितानिवासभित्र कित्ता नम्बर ७२, ७३, ७६, १९, २१, १०५, १०७, १०९ र १११ गरी ९ वटा कित्ता जग्गा रहेको छ । यी सबै जग्गाको क्षेत्रफल जोड्दा करिब ४२ आना जग्गा इन्दु शर्माकै नाममा रहेको छ । बाँकी जग्गा भने घिमिरेले ससुरा तिर्थराज शर्माको नाममा पनि राखेको बताइन्छ ।


बालुवाटार क्षेत्रको १३ रोपनी जग्गालाई हालको बजार भाउ अनुसार डेढ अर्ब भन्दा बढी पर्छ । घिमिरेको विषयमा सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत छानबीन गरिरहेको छ । यद्धपी सम्पत्ति सुद्धिकरण विभागले घिमिरेमाथिको अकुत सम्पत्ति मुद्दाको छानबीनमा आलटाल गरेको भन्दै विभाग विरुद्ध नै उजुरी परिसकेको छ ।
राजधानीको बालाजु क्षेत्रमा करिब १२ रोपनी सरकारी जग्गा कौडीको भाउमा हत्याएर सरकारलाई भाडा तिर्न भने अस्विकार गर्दै आएका घिमिरेले कोमात्सु नामको डोजर विक्री गर्दै आएका छन् । उक्त डोजर विक्रीमा समेत अर्बौं रुपैयाँको भ्याट छली गरेको उनीमाथि आरोप छ ।

भ्याट छलीको मुद्दा लागेपछि उनले आफ्नै आमा कमला घिमिरेको नाममा रहेको जग्गा भने सट्टा पट्टा गरेर मिलाएको स्रोतको दाबी छ ।


नेपालमा विभिन्न धन्दा गरिरहेका घिमिरेले नेपालबाट अकुत सम्पत्ति विदेश लुकाएको भन्दै सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । घिमिरेले ‘ट्याक्स फ्रि जोन’ भनिएको ब्रिटिस बर्जिन आयरल्याण्डमा अकुत सम्पत्ति लुकाएको आरोप छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संस्था आइसिआइजेको डेटाबेशमा समेत घिमिरेको अफसोर लिकबारे केही उल्लेख गरिएको छ । घिमिरेले आफ्नी छोरीको नाममा इको बे नामक कम्पनि नै खडा गरेको बताइन्छ । उनले आफ्नै व्यापारिक साझेदार तथा बालुवाटार जग्गाकाण्डका अभियुक्त पुरुषोत्तम पौडेललाई प्रयोग गरेर रकम लुकाएको आरोप छ ।


सम्पत्ति सुद्धिकरणमा छानबीन नगर्न अख्तियार प्रमुखको दबाव


बालुवाटा जग्गा काण्डमा घिमिरेलाई पक्राउ गरी अनुसन्धान गर्ने अनुसन्धान टोलीको निष्कर्श थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष नविन घिमिरेले आफ्ना घिमिरे ‘बन्धु’को फाइल तामेलीमा राख्न निर्देशन थिएका छन् ।

त्यति मात्रै होइन सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले कन्टिनेन्टल कम्पोनेन्ट्सका मालिक समेत रहेका घिमिरले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान गरिहेको थियो । तर, अख्तियार प्रमुखकै दबावका कारण उनीमाथि कारबाही रोकिएको छ ।

बालुवाटार जग्गाकाण्ड : खर्बपति व्यापारी सुहृद घिमिरेले लुकाए पौडेलको नाममा अकुत जग्गा !

सेतो भवनको ‘कालो कथा’ : करोडौंको सरकारी सम्पत्ति हत्याएर सरकारी जग्गामै सुह्रिदको अवैध धन्दा !

सम्बन्धित खबर