भिजिट भिषामा दुबई मानव तस्करी गर्ने गिरोहले श्रीमतीलाई समेत धन्दामा सामेल गराएको खुलाशा !

diyopost.com
दियो पोस्ट  आइतबार, पौष १८, २०७८ | २१:२४:५२

काठमाडौं । नेपालबाट अवैध रुपमा भिजिट भिषामा दुबई मानव तस्करी गर्दै आएको गिरोहले आफ्नो श्रीमतीलाई समेत तस्करीमा प्रयोग गर्दै आएको खुलेको छ ।

दुबईमा कार्यालय रहेर नेपालबाट भिजिट भिषामा मानव तस्करी गर्दै आएको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीजका मालिक कोमलराज उपाध्याय (प्याकुरेल)ले आफ्नी श्रीमती रञ्जना ढकाल प्याकुरेलको नाममा कारोबार गर्ने गरेको पाइएको हो ।

 

त्रिनेत्रबाट दुबई पुगेका ५ सय जनाभन्दा नेपाली विचल्ली परेका छन् । ती नेपालीहरुले उनै ढकालको नाममा रकम जम्मा गर्ने गरेको पाइएको हो । काठमाडौंमा खगेन्द्र लामिछाने नाम गरेका व्यक्तिले आफूहरुलाई सम्पर्कमा ल्याएको र उनै मार्फत  उपाध्यायकी श्रीमती प्याकुरेललाई प्रतिव्यक्ती ३ लाख रुपैयाँ बुझाएको पीडितहरुले बताए ।

 

पीडितहरुले दियोपोस्टलाई उपलब्ध गराएको विवरण अनुसार उपाध्यायले आफ्नी श्रीमती ‘रञ्जना डि प्याकुरेल’ को नाममा प्रभु बैंकको एकाउन्ट नम्बर १२६०**********१५ नम्बरमा रकम जम्मा गर्न लगाएका थिए ।

 

‘हामीले रञ्जनाकै नाममा प्रतिव्यक्ति ३ लाख रुपैयाँ जम्मा गर्यौँ । ५० हजार रुपैयाँ त विमानस्थल सेटिङकै लागि भनेर मागिएको थियो । त्यो पनि हामीले दियौँ,’ ती पीडितले दियोपोस्टसँग भने,‘अहिले दुबईमा आएर न हामीले काम पायौँ । न रकम फिर्ता पायौँ । खान समेत नदिएर बन्धक बनाएर राखेका छन् । कोमलले हामीलाई गुण्डा लगाएर पिट्ने काम समेत गरेको छ ।’

 

उपाध्यायको समुहले  ५ सय भन्दा बढी नेपालीलाई  पासपोर्ट समेत बन्धक बनाएर राखेको छ ।

‘हामीलाई पासपोर्ट दिइएको छैन । यदि पासपोर्ट लिन गयो भने २ लाख रुपैयाँ कटाउने कुरा छ । त्यतिपैसा हामीसँग छैन । हामीलाई यहाँ विचल्ली पारिएको छ,’ ती नेपालीले भने,‘जो पासपोर्ट लिन जान्छ उसलाई सन्तोष सुवेदी, कमल उपाध्याय, राजन साह ठकुरी लगायत समुहले कुट्ने गरेका छन् । कतिलाई कुटेर नेपाल फर्काइएको छ । प्रहरीलाई कुरा गर्दा केही गरेको छैन । यहाँ दुबईमा सबै कमलको सेटिङ रहेछ ।’

दलालहरुले आकर्षक तलब र जागिर मिलाइदिन्छु भन्दै यो समुहले मानव तस्करी गर्दै आएकोे विषयमा दियोपोस्ट डटकमले यसअघि नै खुलाशा गरिसकेको छ ।

नेपाली कामदारसँग कमलराज उपाध्याय बनेर कागज गरेपनि दलाल उपाध्यायले सामाजिक सञ्जालमा भने कमल प्याकुरेल नाम राखेका छन् । उनले आफ्नो नाममा समेत विभिन्न बैंकमा खाता खोलेर सोही खातामा रकम राख्न लगाएका छन् ।

 

नेपालीहरुले कोमलराज उपाध्यायको नाममा रहेको सानीमा बैंकको एकाउन्ट नम्बर ०७६१…….९१७ मा पटक पटक रकम पठाएका छन् ।

उपाध्यायको समुहले दुबईमा विचल्ली बनाएका नेपालीहरुको भिडियो समेत दियोपोस्टसँग सुरक्षित रहेको छ ।

सम्बन्धित खबर