काठमाडौं । भिजिट भिषाको नाममा नेपालबाट युनाइटेड अरब इमिरेट्स (दुबई) मानव तस्करी गर्दै आएको गिरोहले आफ्ना आफन्त र नातागोताको नाममा अवैध रुपमा रकम संकलन गर्दै आएका छन् ।
पछिल्लो समय उनीहरुले नेपालबाट भिजिट भिषाको नाममा विमानस्थलमा समेत सेटिङ मिलाएर मानव तस्करीको धन्दा नै चलाउँदै आएका छन् । नेपालमा दर्तासमेत नरहेका उनीहरुले लाखौँ रकम उठाएपनि सरोकारवाला निकाय मौन छन् ।
दुबईमै दर्ता गरेर नेपालबाट भिजिट भिषाको नाममा मानव तस्करी गर्दै आएको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीजका मालिक कमलराज उपाध्याय (प्याकुरेल)ले आफ्नी श्रीमती रञ्जना ढकाल प्याकुरेलको नाममा अवैध रकम जम्मा गर्दै आएका छन् । उनले रकम उठाएको केही स्लिप समेत दियोपोस्ट डटकमले फेला पारेको छ ।
पैसा जम्मा गर्ने पीडितको गोपनियताको संरक्षण गर्दै नाम छोपिएको छ ।
त्रिनेत्रबाट दुबई पुगेका र दुबईमा पुगेर विचल्ली भएका नेपालीहरुले कमलको श्रीमती ढकालको नाममा लाखौँ रकम जम्मा गर्ने गरेको बताएका छन् । उनीहरुले उपलब्ध गराएको प्रमाण अनुसार ढकालको विभिन्न बैंकमा खाता रहेको र उक्त खाताहरुमा भिजिट भिषामा दुबई जाने नेपाली कामदारले रकम जम्मा गरेको फेला परेको छ ।
दियोपोस्टले फेला पारेको प्रमाण अनुसार रञ्जनाको नाममा उपाध्यायले सनराइज बैंकमा रहेको उनको एकाउन्ट नम्बर ०३२………२००१ नम्बरमा एकै प्रति व्यक्ति एक लाख ६० हजार रुपैयाँ असुली गरेका छन् ।
उक्त रकम ‘एजेन्ट पेमेन्ट’को रुपमा असुल गरिएको छ । एजेन्टको नेपाली शब्दार्थ ‘दलाल’ भन्ने हुन्छ ।
तर, कम्पनिका मालिक उपाध्यायले भने दियोपोस्टलाई खण्डन पठाउँदै उक्त रकम टिकट बापत असुल गरिएको बताएका छन् । ‘उक्त रकम म र म समेतको लगानीमा रहेको इमिरेट्स ट्राभल एण्ड एजेन्सीले वैदेशिक रोजगारीमा जाने आउनेहरुको हवाई टिकट व्यवस्था गर्छ । नेपालबाट जाने टिकट काट्दा मेरो श्रीमतीको बैंक एकाउन्टमा डिपोजिट गर्ने गरिएको छ,’ कोमलले भनेका छन् ।
पैसा जम्मा गर्ने व्यक्तिले उपलब्ध गराएको डिपोजिट स्लिपमा भने ‘टिकट पेमेन्ट’ भनिएको छैन ‘एजेन्ट पेमेन्ट’ भनिएको छ । त्यसो त नेपालबाट दुबई जान र आउनका लागि समेत ३ लाख २० रुपैयाँ प्रतिव्यक्ति पर्दैन ।
जबकी नेपालकै ट्राभल एजेन्सीहरुले ५० देखि ५५ हजार रुपैयाँमै नेपालदेखि दुबईसम्मको टिकट उपलब्ध गराउँछन् ।
उपाध्यायले समाचारको खण्डनमा समेत विभिन्न झूटो विवरण उल्लेख गरेर इमेल गरेका छन् ।