
काठमाडौं । नेपाली विज्ञापन व्यावसायीहरुको छाता संगठन हो नेपाल विज्ञापन संघ । यही संघको नेतृत्वमा भने ‘कु’ भएको पाइएको छ । गत पुस २३ गते सम्पन्न भएको भनिएको २४ औँ साधारण सभाले अध्यक्ष सुदिप थापाको नेतृत्वमा पदाधिकारी चयन गरेको थियो । तर, उक्त पदाधिकारी चयन प्रक्रियामा संघ बाहिरका केही व्यक्तिले कु गरेको आरोप छ ।
स्रोतका अनुसार संघको अध्यक्षमा बरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठको हक दाबी थियो । उनी थापा भन्दा सिनियर पनि हुन् । आनको आन्तरिक विधानमा बरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने प्रचलन छ । सोही प्रचलन अनुसार श्रेष्ठको नाममा सर्वसहमति भएको थियो । स्रोतका अनुसार संघले माइन्युट नै उठाएर श्रेष्ठको नेतृत्वमा कार्यसमिति निर्माण गर्ने निर्णय गरेको थियो । तर, रातारात उनको नाम हटाएर सुदीप थापा अध्यक्ष हुने गरि रहस्यमयी वातावरण कसरी आयो ? भन्ने प्रश्न अहिले विज्ञापन व्यावसायीबीच उठ्ने गरेको छ ।
हाल अध्यक्ष रहेका सुदीप थापा कुनै समय एभिन्युज टेलिभिजनका ९० प्रतिशत शेयर होल्डर थिए । थापा वर्तमान अध्यक्ष सोमप्रसाद धितालका पनि साझेदार हुन् । धिताल र थापाले एभिन्युज टेलिभिजनको ९० प्रतिशत सेयर किनेका थिए । तर, ९० प्रतिशत सेयर रहेका थापा र धिताललाई १० प्रतिशत सेयरहोल्डर भाष्कर राज राजकर्णिकारले गेटबाट समेत प्रवेश गर्न रोक लगाएका थिए । उनीहरुबीचको सेयर लफडा रकम फिर्ता माग्नेसम्म पुगेको थियो ।
भाष्करले सुदीप थापासहित धिताललाई ७ करोड रुपैयाँ फिर्ता गर्नुको सट्टा विज्ञापन व्यावसायी संघको अध्यक्ष नै बनाउन लविइङ्ग गरेको स्रोतको दाबी छ । ‘यो भाष्करको सौदाबाजी हो । हेर्दा विज्ञापन व्यावसायी संघ साधारण सभा भएर नेतृत्व चयन भएको जस्तो देखिन्छ । अधिकांश मिडियामा त्यही प्रकारको समाचार पनि आयो तर, त्यस्तो होइन यहाँ त कु भएको छ,’ एक विज्ञापन व्यावसायीले दियोपोस्टसँग भने,‘यो साधारण सभाको नाममा नाटक मात्रै गरिएको हो । भाष्करले नै कु गरेको भन्दा अन्यथा नहोला ।’
यसअघि विज्ञापन संघको बरिष्ठ उपाध्यक्ष रहेका नारायण श्रेष्ठले आफूले संघबाट राजिनामा दिएको बताए । ‘म कुनै समय बरिष्ठ उपाध्यक्ष थिएँ । आफ्नै कारण अहिले राजिनामा दिएको छु,’ उनले भने ।
भाष्कर यसअघि विज्ञापन संघका अध्यक्ष समेत थिए । उनी टेलिभिजनको आवरणमा विभिन्न धन्दा गर्दै आएका विवादास्पद पात्र हुन् । उनीमाथि चितवनमा जग्गा ठगीको आरोप लागेको थियो । यसबारेमा दियोपोस्टले लामो खोजगरि समाचार प्रकाशन गरिसकेको छ ।
प्रकाशित समाचारको लिंक हेर्नुहोस्
एभिन्युज टिभिका मालिक भाष्करराज राजकर्णिकार ‘जग्गा दलाली धन्दा’मा : ठगीको आरोप !