काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालको स्वामित्व आईएमई समुहबाट संचालित सम्पूर्ण व्यापार विगत केही दशकमा निकै उकालो चढेको थियो । सामान्य परिवारबाट उदाएका ढकाल एकै पुस्तामा अर्बपति बनेका सफल व्यापारी समेत हुन् । तर, व्यापारको आकार सँगै राजनीतिक साँठगाँठमा राज्य शक्तिको दुरुपयोगमा समेत उकालो चढेका ढकाल ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरामा केवलकार संचालनको धन्दा शुरु गरेसँगै चरम विवादमा मुछिएका छन् ।
ढकालकै कारण अहिले आदिवासी जनजाती र लिम्बु समुदायको सम्भ्यता ध्वस्त बनाएको भन्दै अभियान्ताहरुले आइएमई ब्राण्डका सम्पूर्ण कारोबार बहिष्कारको अभियानलाई तिब्र बनाएका छन् । ढकाल समेत अध्यक्ष रहेको ग्लोबल आईएमई, ग्लोबल रेमिट, आईएमई पे लगायतमा कारोबार बाहिष्कारको अभियान निकै बढेको हो । सामाजिक सञ्जालमा संगठित रुपमा उनीहरुले यो अभियानलाई अघि बढाएका छन् ।
गत माघ १५ गते किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयका महासचिव निरन्ती तुम्बाम्पोद्वारा जारी विज्ञप्तिमा ग्लोबल आइएमई बैंकको खाता बन्द गरिएको घोषणा गरिएको छ । उनीहरुले विभिन्न प्रदेश तथा जिल्ला कार्यालय र विषयगत समिति र वडालाई समेत सर्कुलर गर्दै ग्लोबल आईएमई बैंकको खाता बन्द गर्न उर्दि नै जारी गरेका छन् । ताप्लेजुङस्थित याक्थुङ लिम्बु समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र स्थल मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माण गरि पवित्र आध्यात्मिक मुन्धुमी स्थल ध्वस्त बनाएको, परम्परागत पुजा प्रक्रिया विथोल्न पचासौँ हजार मुन्धुमी बोटवृक्षहरु, राष्ट्रिय फूल लालीगुराँसका रुखहरु फडानी गरी पर्यावरण सखाप पारेको लगायत आरोपसहित उनीहरुले खाता बन्द गर्न सर्कुलर गरेका हुन् ।
ढकाल समुहको आईएमई रेमिटबाट रकम नपठाउन समेत सर्कुलरमा उनीहरुको निर्देशन छ । निर्देशन अनुसार अधिकांश अभियान्ताले खाता बन्द गरेको जानकारी सहित सामाजिक संजालमा राख्न थालेका छन् । अभियान्ताहरुले खाता बन्द गर्नका लागि डिजिटल अभियान समेत थालेका छन् । सामाजिक संजालमा भेटिएका अधिकांश पोस्टरमा आईएमई बहिस्कारको नारा लेखिएको छ । कतिपयले बैंकको ब्रान्चमै गएर खाता बन्द गरेको निवेदन दिएर तस्विर खिचाएका छन् ।
यो अभियानले तिब्रता पाए ढकाल नेतृत्वको बैंक नै धरासायी बन्ने खतरा बढेको छ ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार विस्तारको नाममा ढकाल समुहले मुन्धुम सभ्यताको सर्वनास पार्दै आएको भन्दै चौतर्फी विरोध भईरहेको छ । केहीदिन अघि ढकाल समुहले स्थानिय अधिकारकर्मीमाथि प्रहरी लगाएर गोली समेत चलाएको थियो । प्रहरीको गोलीपछि ढकालको आलोचना झनै चर्किएको छ ।