शान्तिनगरस्थित ग्ल्यासियर स्कुलका संचालकहरु ठगी मुद्दामा फरार, पक्राउ पुर्जी जारी

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ स्थित शान्तिनगरमा रहेको ग्ल्यासियर ईन्टरनेश्नल स्कुल एण्ड कलेजका संचालकहरु रकम ठगी गरि फरार भएका छन् । उनीहरुलाई फरार सूचिमै राखेर जिल्ला प्रहरी कार्यालय काठमाडौंले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ भने जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई फरार सुचीमै राखेर अभियोग पत्र अदालतमा दर्ता गरेको छ ।

स्कुलका प्रिन्सिपल दिवस शाक्य र सहायक प्रिन्सिपल जानकी शरण यादवले ठगी गरेको भन्दै पीडित सानुबाबु दाहालसहितका व्यक्तिहरुले दिएको जाहेरीका आधारमा उनीहरु विरुद्ध पक्राउ पुर्जी समेत जारी भएको हो । पक्राउ पूर्जि जारी भएपनि उनीहरुलाई पक्राउ नै नगरी प्रहरीले अभियोजन गरेको हो । जाहेरवालालाई रकम फिर्ता गर्छु भन्दै विश्वासमा पारी २१ लाख रुपैयाँ ठगी गरेको अभियोग पत्रमा उल्लेख छ ।

विभिन्न मितिको बाउन्स भएको ५ थान चेकसहित पीडितले दिएको जाहेरी दर्ता भएको थियो । चेकमा कम्पनिका संचालकहरु मध्ये ४ जनाको दस्तखत हुनुपर्नेमा २ जनाको मात्रै दस्तखत गरि दिएकोमा प्रहरीले ठगी मुद्दा चलाएको हो ।

करिब १ वर्षअघि अर्थात २०८० माघ १० गते जाहेरी दर्ता भएको थियो । जिल्ला अदालत काठमाडौंले २०८० चैत्र १६ गते पक्राउ पुर्जी जारी गरेको थियो ।