काठमाडौं । गत कार्तिक १४ गते काठमाडौं महानगरका मेयर बालेन शाहले भनेका थिए,‘यो देश किन डुबेको हो हेर्न सिंहदरबार बैद्यखाना आएर हेरे हुन्छ’ । शाहले भने जस्तै सिंहदरबार वैद्यखाना यतिबेला टाट पल्टिएको छ । सामान्य कर्मचारीले वर्षौंदेखि तलब भत्ता पाएका छैनन् । औषधी उत्पादन गर्न सकिएको छैन । तर, केही सिमित कर्मचारीले भने यो समितिमा लुट मच्चाएका छन् । स्विकृति नै नभई वर्षौंसम्म विदामा बस्ने र विदा अवधिको समेत तलव भत्ता बुझेर चरम अनियमितता गरिरहेका छन् । यसरी असाधरण बेतलवी विदामा बसेर पनि तलव भत्ता बुझ्ने कर्मचारी हुन् वैद्यखाना विकास समितिका वरिष्ठ गुण नियन्त्रण अधिकृत गोविन्द शर्मा ढकाल ।
२०७८मा विकास समितिको बैठकमा उल्लेखित निर्णय अनुसार उनले २०७१ जेठ २२ गतेको निर्णय अनुसार ६ महिना २०७१ माघ ४ गतेको निर्णय अनुसार ३ महिना, २०७४ फागुन २३ गते निर्णय अनुसार २०७४ चैत्र १२ देखि २०७५ चैत्र ११ सम्म एक वर्ष बेतलबी विदामा रहेका शर्माले २०७५ फागुन १४ गते पुन ३ वर्ष असाधरण बेतलबी बिदा पाउँ भन्दै निवेदन दिए । तर, कर्मचारी प्रशासन नियमावली २०६३ को नियम ८.११ अनुसार सेवा एक पटकमा १ वर्ष नबढाई र सेवा अवधि भर ३ वर्षमा नबढाई असाधरण विदा दिन सक्ने व्यवस्था भए अनुसार उनले १ वर्ष ९ महिना विदा लिई सकेकाले बाँकी रहेको १ वर्ष ३ महिना मात्रै नियमानुसार विदा स्विकृत गर्नुपर्ने निर्णय गरेको थियो । तर, यसरी विदामा बसेका ढकालले लेखा अधिकृतलाई समेत मिलेमतो गराएर २०७८ चैत्र १३ गतेसम्मकै असाधरण र गैरकानुनी विदा बापतको तलब भत्ता खाएको आरोप छ । समितिका निर्देशक डा. प्रदिप केसी र लेखा अधिकृत उमानाथ ढकालको मिलेमतोमा भुक्तानी दिइएको आरोप छ । यद्धपी निर्देशक केसी भने ढकालले नियमानुसार नै विदा लिएको र कानुन अनुसार नै हुने दाबी गर्छन् । ढकाल तिनै कर्मचारी हुन् जसले आफ्नो बढुवा सिफारिस आफै गरेका थिए ।
स्रोका अनुसार निर्देशक प्रदिप केसीले आयुर्वेद विभागबाट सरुवा भएको ३ महिना वितिसक्दा पनि सिंहदरबार बैद्यखाना र आयुर्वेद विभागको दुवै गाडी दुरुपयोग गर्दै आएका छन् । समिति भित्र गैरकानुनी रुपमा आफन्त र नातेदार मात्रै १२ जनाभन्दा बढी भर्ना गरिएको आरोप छ । लेखा अधिकृत उमानाथ ढकाललाई पटक पटक सम्पर्क गर्दा उनले आफू कार्यालयको वैठकमा रहेको भन्दै प्रतिक्रिया दिन अस्विकार गरे ।
यद्धपी केसीले भने शर्माको बचाउ गर्दै उनले हाजिर गरेको आधारमा तलब लिएको बताए । यता कार्यालयको माइन्युटमा भने उनी बेतलवी विदामा बसेको उल्लेख छ ।