असिम शाह : ‘मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न नसक्ने सरकारले भ्रष्टाचारका फाइल खोल्न सक्दैन ’

दियोपोस्ट संवाददाता  

काठमाडौँ । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहले सरकार गठन भएको महिनौं हुँदासम्म मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरिएको भन्दै आपत्ती जनाए।

‘यो सरकार बनेको महिनौं भइसक्यो। तर,मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरेको छैन,’उनले भने,’ सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने सोच राखेको छ। मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न नसक्ने सरकारबाट भ्रष्टाचारहरूका फाइल खोल्ने आशा गर्नु के बेकार हो त ?

सांसद शाहले सबैखाले भ्रष्टाचारका काण्डबारे छानबिन गर्न शक्तिशाली आयोग गर्न समेत माग गरे। ‘सरकारले सुशासनको देखावटी नाटक  बन्द गरोस्। मन्त्रीहरूको सम्पत्ती विवरण तुरून्त सार्वजनिक गरोस्। भ्रष्टाचारीहरूलाई कानुनको कठघरामा उभ्याओस,’उनले भने,’हिम्मत देखाएर सरकारले काण्डहरूको छानबिन गर्ने स्वतन्त्र शक्तिशाली आयोग गठन गरोस्।’