सिन्धुपाल्चोकमा एमाले निकट पूर्वमेयरद्वारा मजदुरमाथि निर्घात कुटपीट, प्रहरीमा जाहेरी

दियोपोस्ट संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका पूर्व मेयरले एक व्यक्तिमाथि कुटपीट गरेको भन्दै जाहेरी परेको छ । पूर्वमेयर निम्फुन्जो शेर्पाले जुरे क्रसरका साइड इन्चार्ज ठाकुर ध्वज खड्कालाई कुटपीट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जाहेरी दर्ता भएको हो ।

आइतबार बिहान ८ः३० बजे क्रसरमा पुगेर खड्कालाई पुर्व मेयर शेर्पाले निर्घात कुटपिट गरेको आरोप छ । शनिबार शेर्पाले क्रसरको भ्याट बिल र जेसिभिको चाबी थुतेर लगेको समेत जाहेरीमा उल्लेख छ । उनीसँगै चाबी थुत्न बिक्रम श्रेष्ठ र रोशन खत्रीसँगै गएको समेत जाहेरीमा उल्लेख छ ।

उनले शनिबार चाबी र क्रसरको भ्याट बिल लिएर गएपछि त्यसो नगर्न भन्दै अनुरोध गरेका साइड इन्चार्ज खड्कालाई मेयर शेर्पाले आइतबार दिउँसो फोन गरेर बोलाइ निर्घात कुटपिट गरेको आरोप छ पीडित खड्काका अनुसार शेर्पाले यस अघि बाह्रबिसे नगरको मेयर पदमा रहँदा लगानी गरेका थिए ।

 

‘यस अघि मेयर शेर्पालेनै मलाई काम लगाइदिएको हो । त्यतिबेला काम लगाइदिनु भयो अहिले आएर उहाँले मलाई एक्कासि निर्घात कुटपिट गरेपछि मैले प्रहरीमा जाहेरी दिएँ,’ उनले दियोपोस्टसँग भने,‘म एउटा कामदार हँु मलाई साउले अह्राए अनुसारको काम गर्ने हो, म जस्तो मजदुरलाई पूर्वमेयरले कुटपीट गरे । मैले नमस्कार भन्दाभन्दै मलाई ज्यान लिने गरि कुटपिट गरे ।’

जाहेरी दर्ता भएसँगै पूर्वमेयर शेर्पा फरार छन् । उनलाई प्रहरीले पटक–पटक सम्पर्क गर्दा उनी भने आएका छैनन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेले भने उनलाई खोजिरहेको जानकारी दिएको छ ।
उनी २०७४ मा नेकपा एमालेबाट बाह्रबिसे नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

घटनाबारे प्रतिक्रिया लिन शेर्पालाई पटक पटक सम्पर्क गर्दा उनको मोबाइलमा फोन लागेको छैन । प्रहरीले खोजी गरेका कारण उनी मोबाइल फोन अफ गरेर सम्पर्कविहिन भएको आशंका छ ।

सम्बन्धित खबर

सिफारिस