
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर विवादित पूर्वसचिव अर्जुन कुमार कार्कीलाई कार्यकारी निर्देशक बनाउने तयारी गरेको छ ।
उनलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न लोडसेडिङ माफियाहरुले तिब्र लबिइङ गरेका छन् । विशेष गरि नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड तथा टंकलाइन सुविधा बापत २ अर्ब ५३ करोड रुपैयाँ भन्दा बढी विद्युत महशुल नबुझाउने लोडसेडिङ माफिया साहिल अग्रवालले कार्कीलाई कार्यकारी निर्देशक बनाउन शंकाष्पद भेटघाट गरिरहेका छन् ।
कार्की विद्युत प्राधिकरण कार्यकारी निर्देशक हुँदा उनले नै नेपालमा आम सर्वसाधरणलाई लोडसेडिङ शुरु गरि व्यापारीलाई भने डेडिकेटेड र ट्रंक लाईन सुविधाको नाममा विद्युत उपलब्ध गराएको स्रोतको भनाई छ । त्यतिमात्रै होइन उनीमाथि ट्रान्सफर्मर घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरेको थियो । तत्कालिन सहरी विकास मन्त्रालयका सचिव समेत रहेका कार्कीले भूकम्पपछि त्रिपाल खरिदमा भ्रष्ट्राचार गरेको भन्दै उनलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिस गरेको थियो ।
२०७० मा तत्कालिन उर्जासचिव समेत रहेका कार्कीकै कार्यकालमा ट्रान्सफर्मर खरिदमा भ्रष्ट्राचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।
११ करोडको गुणस्तरहिन त्रिपाल किन्दा अख्तियारको कारबाही सिफारिस
२०७२ सालमा आएको विनाशकारी भूकम्पका बेला सहरी विकास मन्त्रालयका सचिव रहेका कार्कीले त्रिपाल खरिद गर्दा चरम भ्रष्ट्राचार गरेको अभियोग थियो । ११ करोड रुपैयाँको गुणस्तरहिन त्रिपाल खरिद गरेको अभियोगमा उनलाई अख्तियारले विभागिय कारबाही सिफारिस गरेको थियो ।
उर्जामन्त्री खड्काले मंगलबार नै लगेका थिए प्रस्ताव
उर्जामन्त्री दिपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सो पदबाट हटाएर उनको स्थानमा कार्कीलाई नियुक्त गर्ने प्रस्ताव मंगलबार नै गरेको स्रोत बताउँछ । तर, कांग्रेस र सत्तारुढ एमालेकै मन्त्रीहरुले चर्को विरोध गरेपछि अहिले यो प्रस्ताव स्थगित भएर बसेको छ ।
लोडसेडिङका सुत्रधारलाई किन ल्याउन खोज्दैछन् खड्का ?
उर्जामन्त्री दिपक खड्का मन्त्रालय सम्हालेदेखि नै विवादित बनेका छन् । हाइड्रोपावरको ठेक्कामा चेक लेनदेन गरेको भन्दै उनीमाथि अख्तियारले नै छानबीन गरिरहेको छ । एक हाइड्रोपावरका संचालक समेत रहेर स्वार्थको द्वन्द देखिने मन्त्रालयको नेतृत्वमा रहेका उनले लोडसेडिङ माफियाहरुसँग शंकाष्पद साँठगाँठ बनाएका छन् । डेडिकेटेड तथा ट्रंकलाइन सुविधा बापतको रकम नतिर्ने व्यापारीहरुको उक्साहटमा उनले विद्युत प्राधिकरणमा कार्यालय नै खडा गरेर घिसिङको काममा अवरोध गर्ने कोशिस गरेका थिए । लोडसेडिङ माफियाले तिर्नुपर्ने अर्बौ रुपैयाँ मिनाह गर्ने योजनाका साथ कार्कीलाई प्राधिकरणको बागडोर जिम्मा लगाउन उर्जामन्त्री खड्कालाई माडवारी घरानाका व्यापारीले उक्साएको स्रोतले जनाएको छ । उनीहरुले नै खड्कालाई प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने र सो स्थानमा कार्कीलाई ल्याउने गरि बोलकबोल गरेको स्रोतको भनाई छ ।