
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारमा कारागार व्यवस्थापनको लापरबाहीले एक कैदीले राष्ट्रिय दैनिक पत्रिकामा सुचना छाप्न सफल भएका छन् । सहकारी ठगी अभियोगमा कारागार सजाय भोगिरहेका देउराली बचत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाइँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो नै उनको सम्पत्ति बेचविखनमा सक्रिय रहेको भन्दै गत फागुन १२ गते प्रकाशित अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा सुचना निकालेका हुन् ।
भाषिक रूपमा असुद्द र प्रमाणित नभएको उक्त सुचना कारागार सुरक्षा प्रणालीलाई चुनौती दिँदै कसरी दैनिक पत्रिकाबाट प्रकाशित भयो भन्ने विषयमा सबै निकाय अन्यौल छन् । चौलागाइँले हाल सिआइबीका अधिकारीहरुले नै आफ्नो सम्पत्ति बेचविखनमा षडयन्त्र गरेको गम्भिर आरोप लगाउँदै सुचना छपाएका छन् ।
नख्खु कारागारका प्रमुख भिम कोइरालालाई यसबारेमा प्रश्न गर्दा उनले अनभिज्ञता प्रकट गरे । त्यस्तै प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सीआइबीबा प्रमुख दिपक थापालाई यसबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले पनि सुचना प्रकाशन भएको विषयमा थाहा पाएपनि विस्तृतमा आफूले नबुझेको बताए । तर, गत फागुन १२ मा प्रकाशित सुचनामा अनुसन्धान तथा अभियोजन गर्ने निकायमाथि नै बद्नामी गर्ने प्रकारका आरोप लगाइएको छ ।
कोइरालाले कसैले पनि त्यस्ता सुचना पत्रिकामा प्रकाशन गर्न नपाउने बताए । तर, कारागार सुरक्षामा आफू नेतृत्वको समुह प्रतिबद्ध रहेको उनको जिकिर थियो ।
कारागार ऐन २०७९ को दफा ४९ को (१) को घ (५) कारागारभित्र निषेध गरिएको कुनै चीज वा मालसामान लिएमा, राखेमा वा पठाएमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था छ ।
कारागार ऐन अनुसार यसरी कर्मचारीले लापरबाहीपूर्वक निषेधित सामग्री पठाउन सहयोगी भूमिका निभाएमा ती कर्मचारी वा राष्ट्रसेवकलाई समेत सजाय गर्नसक्ने छ ।
कारागार नियमावलीमा भने त्यस्तो कसुर गर्नेलाई नेल लगाउन पाउने समेत व्यवस्था छ । २०८० असोजमा बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको अभियोगमा चौलागाइँ पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । विगत एक वर्षदेखि उनी नख्खुस्थित कारागारमा छन् । उनी विरुद्ध १ सय ९६ जना पीडित वचतकर्ताले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई सीआईबीले पक्राउ गरि मुद्दा चलाएको थियो ।