दियोपोस्ट संवाददाता
धादिङ, २५ माघ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिलवाल विरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराउन पुनरावेदन अदालत पाटनले परमादेश जारी गरेको छ ।
गत मंसिर २७ गते बाटो विस्तारको क्रममा एक महिलालाई सार्वजनिक स्थलमा गाली गलौज गरेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको थियो ।
गाउँपालिका उपाध्यक्ष सिलवालले सार्वजनिक रुपमा महिलालाई गाली गलौज र दुव्र्यबहार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न पुगेको थियो । तर, जिल्ला प्रशासन कार्यालय र प्रहरीले उनी विरुद्ध उजुरी लिन अस्विकार गरेपछि जिल्ला अदालतमा समेत पीडिन परिवारले मुद्दा दायर गरेका थिए ।
यस्तो थियो सिलवालको हर्कत
जिल्ला अदालतले पनि मुद्दा दर्ता गर्न अस्विकार गरेपछि पुनरावेदन अदालतको ढोका ढकढक्याउन पीडित परिवार बाध्य भएको थियो ।
‘सार्वजनिक शान्ति विरुद्धको कसुरमा हरिसर पाण्डेले देवि प्रसाद सिलवाल र कृष्णराज सिलवाल विरुद्ध परेको जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय धादिङले दर्ता गर्न इन्कार गरेपछि नीज हरिशरण पाण्डेले उक्त जाहेरी दर्ता गर्न परमादेश जारी होस् भनी उच्च अदालत पाटनमा दर्ता रिट उपर २०७५।१०।२३ मा भएको सुनुवाईपछि अब जिल्ला प्रहरी कार्यालय धादिङलाई उक्त जाहेरी दर्ता गर्न बाध्यकारी अवस्था सृजना भएको छ,’ उच्च अदालत पाटनको परमादेशमा भनिएको छ ।