तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकता भएपनि एकताले मुर्त रुप भने लिन सकेको छैन । एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी पछिल्लो समय अन्यौलता र अस्थिरतामा घुमेको छ । पार्टी नेतृत्वको दुई तिहाई बहुमत प्राप्त सरकार चौतर्फी रुपमा चालोचित बनेको छ । पार्टी एकता भएको वर्षौंसम्म दुई वटा अध्यक्ष कायम छन् । दुई अध्यक्षबीच भेनेजुएलाको पछिल्लो राजनीतिक संकटलाई लिएर तिब्र मतभेद समेत सार्वजनिक भइरहेको छ । यी र यस्तै विषयमा नेकपाका केन्द्रीय सदस्य तथा युवा तथा ठाकुर गैरेसँग दियोपोस्टले अन्तर्वार्ता लिएको थियो । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको विस्तृत विवरण :
भेनेजुएलाको विज्ञप्ती प्रकरणले नेकपाभित्र त ठूलै विवाद देखियो नि ?
– पार्टीको अध्यक्ष, प्रधानमन्त्री देश बाहिर भएको बेला अर्का अध्यक्ष प्रचण्डले भेनेजुएलाको बारेमा विज्ञप्ती निकाल्नु भो । वक्तव्यमा भेनेजुएलाको बारेमा निर्णय गर्ने अधिकार भेनेजुएलका जनतालाई रहेको उल्लेख गरिएको छ । त्यो विषयले पार्टीभित्र छलफलको माग गर्यो र पार्टी सचिवालको बैठकले औपचारिक रुपमा भेनेजुएलाको बारेमा वक्तव्य दिएपछि त्यो विज्ञप्ती नै पार्टीको आधारिक कुरा हो । पार्टीले गरेको संस्थागत निर्णय र विज्ञप्तीपछि पनि भेनेजुएलाको बारेमा विवाद छ भन्ने मलाई लाग्दैन ।
तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले त प्रचण्डको विज्ञप्ती हतारो र चिप्लिएको अभिव्यक्ति दिनु भो यसलाई कसरी बुझ्ने ?
–अध्यक्ष ओलीको अभिव्यक्ति त्यसपछि अर्का अध्यक्ष प्रचण्डको अभिव्यक्तिले यी विषयले गर्दा विवाद त देखिन्छ । तर पार्टीको औपचारिक बैठकको निर्णय भएपछि पुनः फरक खालको अभिव्यक्ति आउनुको पछाडि त्यसको फरक उदेश्य होला ।
सचिवालयले भेनेजुएलाको बारेमा निकालेको विज्ञप्ती प्रचण्डले जारी गरेको विज्ञप्ती र सरकारले जारी गरेको विज्ञप्तीको अपनत्व पार्टीले लिन्छ । यसलाई विवाद बनाउनु पर्ने, यसको पक्ष÷विपक्षमा बहस गर्नुपर्ने आवश्यकता नै छैन् ।
दुई अध्यक्षबीच विज्ञप्तीको विषयलाई लिएर सुरु भएको विवादले पार्टी एकता प्रक्रियालाई नै असर गरेको हो ?
– भेनेजुएलाको बारेमा सचिवालयले गरेको निर्णयको पक्षमा सबै उभिनु पर्छ । अब पनि भेनेजुएलाको बारेमा अनावश्यक विवाद गर्नुभन्दा आफ्नो राष्ट्रिय जिम्मेवारमा केन्द्रीत हुनु पर्यो भन्ने मेरो आग्रह हो ।
विगतमा नेपालको सार्वभौमिकता, नेपाली जनताको पक्षमा लडदै गर्दा जसरी भेनेजुएलाले नेपाली जनताको संघर्ष र स्वाभिमानको पक्षमा उसले नैतिक समर्थन गरेको थियो, हो त्यसैगरी नेकपाले पनि भेनेजुएलाको सरकार कसले बनाउने त्यहाँको बारेमा के निर्णय हुने ? भन्ने विषय भेनेजुएलाको जनताको अधिकारको कुरा भनेको विषयमा संसारका अरु देशले टाउको दुखाउनु पर्ने र त्यसबाट आतङकित हुनुपर्ने कारण म देख्दिनँ ।
अमेरिकाको सरकार कसले बनाउने कसरी चलाउने भन्ने निर्णय गर्न जसरी अमेरिकी जनता सार्वभौम छन । नेपालको सन्दर्भमा नेपाली जनता र भेनेजुएलको पक्षमा त्यहाँका जनता उत्तिकै सार्वभौम छन् भन्ने कुरा स्वीकार गर्नुपर्छ ।
अमेरिकालाई धेरै चिढ्याउनु हुँदैन भन्ने बहस पनि सुरु भएको छ नि ?
–त्यो बहस र तर्कलाई म महत्व दिन चाहन्न । हामीलाई सहयोग गरेको होस् वा नगरेको होस् । विदेश सम्बन्ध, छिमेक राष्ट्रसँगको सम्बन्ध, संसारको देशहरुसँगको सम्बन्ध एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतले सबै देशहरुको सम्बन्ध कसले कति पैसा दिएको छ भन्ने आधारमा हुँदैन । त्यो गलत हो ।
पार्टी एकता भएको नौ महिना वित्यो तर एकता प्रक्रियाले पूणर्ता किन नपाएको होला ?
–यो चाहीँ ज्यादै चिन्ताको विषय हो । हिजो पार्टी एकीकरण हुँदाखेरि सिंगो देशमा जुन खालको उत्सव थियो । आशा जगाएको थियो । त्यो क्रमश निराशामा बदलिदै आएको छ ।
स्थायी समितिका सदस्य सहित पार्टीका केन्द्रीय सदस्यहरुले पार्टी एकता प्रक्रियालाई छिटो टुंगो लगाउन एकतालाई विधिसम्म, पद्दतीसम्मत टुंगो लगाउनको लागि, पोलिटब्यूरोको गठन, केन्द्रीय समितिको कार्यविभाजन गर्नको लागि, नेकपाको वैचारिक राजनीतिक प्रतिवेदन बनाउन र त्यो सार्वजनिक गर्नको लागि हामीले लिखित रुपमा नै नेतृत्वको ध्यानाकर्षण गराएका थियौं ।
पार्टीभित्र न्यायको सूनिश्चितता हुनको लागि पार्टी र सरकारको सम्बन्ध नङ र मासुकोजस्तो बनाउनको लागि, नेकपाको सरकारलाई असफल हुने छुट छैन, यो सरकारलाई सफल बनाउन यो सिंगो पार्टीलाई एकताबद्ध बनाएर परिचालन गरेर राष्ट्रिय अभियान सञ्चालन गर्नका लागि हामीले केन्द्रीय सदस्यहरुले औपचारिक रुपमा ज्ञापनपत्र नै बुझायौं ।
त्यसपछि बसेको स्थायी समिति बैठकले एउटा सकारात्मक सन्देश दियो । स्थायी समिति बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनलाई स्थायी समिति सदस्यहरुले दिएको सुझावलाई समावेश गरेर दुई अध्यक्षले सच्याउने र सचिवालय बैठकले पास गरेर प्रकाशन गर्ने कुरा सुनिएको हो । आजसम्म त्यो राजनीतिक प्रतिवेदन, कहाँ छ ? कस्तो छ ? सुझाव अनुसार सच्चियो कि सच्चिएन ? यो कसैलाई थाहा छैन ।
स्थायी समिति बैठकले नौ सदस्यीय कार्यदल बनायो । कार्यदलले विधान संशोधन, विगतमा भएका कामको मुल्याङकन गर्ने, एकीकरणको बाँकी कामको लागि मापदण्ड बनाउने र त्यसलाई टुंगो लगाउनेदेखि लिएर अधिकार सम्पन्न कार्यदल बन्यो ।
तर यसको दुई तीन पल्ट भन्दा बढी बैठक बस्न सकेन । एकै पटक सचिवालयले पुनः बैठक बसेर जहाँ छ त्यहीँ प्रतिवेदन बुझाउने कुरा आयो । त्यसले थप निराशालाई एक कदम बढवा दियो ।
त्यो कार्यदलले थप समय मागेको छ । यो के कारणले भइरहेको छ ? किन भइरहेको छ ? यो चिन्ताजनक कुरा हो । यो नेपालको भोलीको भविष्यसँग सम्बन्धित विषय हो ।
यस्तो गम्भीर विषयमा स्थायी समितिको बैठकमा पक्ष विपक्षमा बोलेपछि निष्कर्षमा ज्यादै राम्रो बैठक भयो भनेर अभिव्यक्ति दिएका थिए । अब पार्टी अगाडि बढछ भनेर सकारात्मक सन्देश दिनुभएको थियो । त्यो सकारात्मक सन्देशलाई पानी खन्याएर फेरि चिसो बनाउने काम भइरहेको छ । यो अन्यौलता, निराशा र अनिर्णयको बन्दी कहिलेसम्म ? यो एकता पार्टीलाई सुदृढ बनाउनको लागि हो ।
सैद्धान्तिक वैचारिक दृष्टिकोण स्पष्ट गर्नको लागि, पार्टीलाई मजबुद्ध बनाएर सरकारलाई पनि सफल बनाउने र सिंगो देशलाई विकसित बनाउने प्रयोजनको लागि भएको हो । अन्यौलताको स्थिति अन्त्य गर्नको लागि नेताहरुले ध्यान दिनुपर्छ । यसमा गम्भीर पहलकदमी लिनुपर्छ ।
के शीर्ष नेताहरुको स्वार्थको कारण पार्टी एकतामा ढिलाई भइरहेको छ ?
– पार्टीलाई कमजोर बनाउने छुट कसैलाई पनि छैन् । अब ज्यादा ढिलो नगरौ । कमजोरी भइसकेको छ । अब धेरै ढिलो गर्दा दुर्घटना हुन सक्छ । दुर्घटना हुने परिस्थितमा जान नदिनको लागि हामी सबै जिम्मेवार भएर सही ढंगले अगाडि बढेर सही निष्कर्षमा पुर्याउनु पर्छ ।
दुई तिहाई बहुमत प्राप्त सरकार जताततै आलोचित छ नि ?
–२०१५ सालमा कांग्रेसले दुई तिहाई पाएको थियो । उसले त्यो जोगाउन सकेन । ०४८ सालको निर्वाचनमा कांग्रेसले पुनः बहुमत प्राप्त गर्यो । तर त्यो बहुमतको रक्षा गर्न सकेन । त्यो जनताको हितमा भएन । कांग्रेसभित्रकै आन्तरिक कलहले त्यो समाप्त भयो ।
त्यसपछि पनि बहुमतको सरकार चलाउने अवसर कांग्रेसले पायो । तर उसले लिएको नीति नै गलत भएको कारण असफल भयो । जनताको हितमा राष्टको हितमा जान तयार नभएको हामीले आरोपित गर्दै आयौ । त्यो वास्तविकता पनि थियो । तत्कालिन एमालेको नेतृत्वमा ०५१ अल्पमतको सरकार बन्यो ।
त्यसपछि कुनै पनि दलले बहुमतको सरकार गठन गर्न सकेन । त्यसैले हामीले स्पष्ट घोषणापत्र सार्वजनिक गरेर लागू गर्नको लागि दुई तिहाई बहुमत प्राप्त सरकारको आवश्यकता रहेको कुरा जनतालाई बुझाउन सफल भयौँ ।
विगतमा भएको कमीकमजोरी हुँदैन, हामीले सफलतापूर्वक सरकारको नेतृत्व गछौं । उदेश्य कार्यान्वयन हुने देशमा स्थिर सरकार चाहियो, नेकपालाई बुहमत चाहियो ।
हामीले पाएको विश्वास गुमायो भने ०१५ सालको कांग्रेस भन्दा नेकपा कसरी फरक भनेर दावी गर्ने ?
संसारमा सायद त्यस्तो देश हो, नेपालको कम्युनिष्ट पार्टी नै त्यस्तो पार्टी हो जसले चुनावको माध्यमबाट दुई तिहाई बुहुमत प्राप्त गरेको छ ।
संसारमा जसरी कम्युनिष्ट पार्टी असफल भयो नेपालमा पनि बहुमत प्राप्त कम्युनिष्ट पार्टी असफल हुन्छ भन्ने शक्तिकेन्द्र, प्रतिक्रियावादी शक्तिहरु सफल हुने कि नेकपा सफल हुने ?