धाादिङ । धादिङको थाँक्रे ७ मा संचालित कुमारी माता रोडा ढुंगा खानीका कारण घरबास उठ्ने भएपछि स्थानियबासी फेरी विभिन्न निकायको शरणमा पुगेका छन् ।
स्थानीय प्रहरी प्रशासनकै आडमा खानी संचालकहरु मनोज सिग्देल, विश्व पन्त र तुल्सी पोखरेल लगायत समुहको ज्यादतीका कारण घरबास छाड्नु पर्ने अवस्था आएपछि स्थानियबासीहरुले प्रमुख जिल्ला अधिकारीको शरणमा पुगेका हुन् ।
खानीका कारण खानेपानीको मुहान सुक्ने, बाढी पहिरोको जोखिम बढ्ने र बस्ती नै पहिरोको शिकार हुने भन्दै स्थानिय ७६ जनाभन्दा बढी व्यक्तिहरुले हस्ताक्षर गरेर नै प्रमुख जिल्ला अधिकारी रमेश ढकाल समक्ष निवेदन दिएका छन् । तर, पीडितको निवेदन सुनुवाई गरि खानी बन्द गर्नुको सट्टा प्रमुख जिल्ला अधिकारी ढकालले स्थानिय निकायलाई पत्राचार गरेर चोखिने प्रयास गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङले खानी बन्द गर्नका लागि पहल गर्नुको सट्टा थाँक्रे गाउँपालिकालाई पत्राचार गरेको छ । पत्रपछि गाउँपालिकाले कुनै निर्णय गरेको जानकारी हालसम्म प्राप्त भएको छैन । स्रोतका अनुसार हाल गाउँपालिका अध्यक्ष रहेका रामकुमार आचार्यले खानी संचालनका लागि गोप्य रुपमा अनुमति दिएका छन् । स्थानियबासीले गाउँपालिका कार्यालयमै गएर हारगुहार गर्दा पनि खानीवालाको दादागिरी रोकिएको छैन ।
स्थानियबासीले प्रमुख जिल्ला अधिकारी समक्ष ७ बुँदे माग राखेर खानी बन्द हुनुपर्ने अडान राखेका थिए । तर, सीडिओ ढकालले पीडितको माग सुनुवाई गर्नुको सट्टा स्थानिय निकायलाई नै पत्राचार गरेर चोखिने प्रयास गरेका छन् । यसअघि गृहप्रशासनकै निर्देशनमा देशभरका खानीहरु बन्द भएका थिए । धादिङका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल पनि केही खानीसँग आर्थिक लेनदेन गरेका कारण विवादमा आएका थिए । उनी विवादमा मुछिएको कतिपय प्रमाण तत्कालिन गृहमन्त्री रवि लामिछानेको मोबाइलसम्म पुगेको थियो । लामिछानेले लम्साललाई कारबाही स्वरुप अन्यत्र सरुवा गरेका थिए । हाल सीडिओ भएर आएका ढकालले पनि खानी संचालकहरुको बद्मासी रोक्नुको सट्टा स्थानिय निकायलाई जिम्मा लगाएर आफ्नो जिम्मेवारीबाट भाग्ने कोशिस गरिरहेका छन् ।
यता खानी संचालकहरु भने जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत प्रहरी नेतृत्वलाई समेत सेटिङ मिलाएका कारण आफूहरुको खानी कुनै पनि हालतमा चल्ने बताउँदै आएका छन् । त्यसै कारण उनीहरुले खानी क्षेत्रमै बर्दीका प्रहरी खटाएर जनतालाई त्यहाँ आउन समेत प्रतिबन्द लगाएर अवैध रुपमा ढुंगा उत्खनन् गरिरहेका छन् ।
‘खानीवालाहरु हाम्रो सेटिङ सीडिओसम्म छ भन्दै धम्की दिने गरेका छन् । हामीले सीडिओ कार्यालयमा निवेदन दिँदा पनि कुनै सुनुवाई भएन । अहिले हामी घरबास छोड्न बाध्य भएका छौँ,’ स्थानिय एक चेपाङ समुदायका युवा भन्छन्,‘हामीले हामीमाथि भएको अत्याचारको विषयमा जानकारी गराउँदा समेत हाम्रो निगरानी गर्ने र प्रहरी लगाएर दुख दिने कामा भइरहेको छ ।’
दियोपोस्टले पीडितहरुको विषयमा समाचार प्रकाशन गरेपछि केही विचौलियाले विभिन्न प्रस्ताव गरिरहेका छन् । आफूलाई तुल्सी पोखरेल बताउने एक व्यक्तिले आफूपनि खानीको संचालक रहेको भन्दै भेट्न प्रस्ताव गरेका थिए । तर, जनतालाई उठीबास लगाउने खानी संचालकसँग आफूहरुले नभेट्ने खण्डन भए ईमेल मार्फत पठाउन दियोपोस्टकर्मीले सुझाव दिएको थियो ।