धादिङ । मालपोत कार्यालय धादिङले एक व्यक्तिको जग्गा जग्गा धनीलाई थाहा नै नदिई अर्को व्यक्तिको नाममा पास गरि रोक्का समेत राखेको घटना गुपचुप मिलाएको छ ।
निलकण्ठ नगरपालिका वडा नम्बर १ का धनबहादुर गुरुङको नाममा रहेको १४ रोपनी जग्गा उनलाई थाहा नै नदिई २ वर्ष पहिले नै किशोर गुरुङ र लिला माया गुरुङको नाममा किर्ते गरेर पास गरिएको थियो । उक्त जग्गा पास गरि एक बैंकबाट ६ लाख रुपैयाँ ऋण समेत निकालिएको जिल्ला मालपोत कार्यालय धादिङ स्रोतले जनाएको छ । स्रोतका अनुसार किशोरले बैंकबाट ऋण लिएर विदेश समेत पुगेका छन् । केहीदिन अघि वास्तविक जग्गा धनि धनबहादुर गुरुङ आफूलाई ऋण चाहियो भन्दै जग्गा रोक्का राख्न मालपोत कार्यालय धादिङ पुगेका थिए । उनले आफ्नो जग्गाको लालपुर्जा देखाउँदै जग्गा रोक्काका लागि निवेदन दिँदा उनको जग्गा २ वर्ष अघि नै अर्को व्यक्तिको नाममा पास भएको र रोक्का समेत भएको थाहा पाएका थिए ।
जिल्लामै राजनीति गरिरहेका नेकपा माओवादी केन्द्रका जनप्रीय नेता रामबहादुर भण्डारी समक्ष ती पीडित पुगेर न्यायका लागि याचना गरेका थिए । भण्डारीले जनताको जग्गा वास्तविक जग्गा धनीलाई थाहा समेत नदिई कसरी किर्ते भयो भन्दै मालपोतमै गएर पीडितको पक्षमा वकालत गरेका थिए । जिल्लाकै सीडिओ र एसपीलाई समेत उक्त विषय जानकारी गराएपछि अख्तियारमा उजुरी समेत गर्ने धम्की दिएपछि मालपोत कार्यालय धादिङले फेरी रातारात उक्त जग्गा वास्तविक जग्गा धनीलाई पास गरिदिएको स्रोतले बताएको छ ।
जग्गाधनी धनबहादुरले तिर्नुपर्ने राजश्व समेत मालपोत कार्यालयले नै व्यहोर्ने गरि जग्गा फेरी राजिनामा पास गरिएको स्रोतले बताएको छ । वडाध्यक्ष गणेश गुरुङ समेत फस्ने भएपछि चारकिल्ला र घरबाटो सिफारिस रातारात बनाइएको पीडित पक्षको भनाई छ ।
जिल्ला मालपोत कार्यालयका प्रमुख रामकृष्ण तामाङमाथि समेत अख्तियार लाग्ने भएपछि उक्त घटना गुपचुप पारिएको स्रोतले बताएको छ ।
उक्त घटनाबारे सोधपुछका लागि जिल्ला मालपोत कार्यालय धादिङका प्रमुख तामाङलाई सम्पर्क गर्दा २०७५ सालमै नाम र तिन पुस्ते समेत उस्तै उस्तै भएका कारण यो घटना भएको स्विकार गरे । ‘जग्गा दिने र लिने दुवै पक्ष आएपछि हामीले फिर्ता गरेका हौँ,’ उनले भने,‘मानवीय त्रुटी भन्ने कुरा भइहाल्छ नी ।’