काठमाडौं । दोहोरो राहदानी बोकेको भन्दै विवादमा आएका कीर्तिमानी सगरमाथा आरोही निर्मल पुर्जाले पर्यटन मन्त्री सुदन किँरातीलाई भेटेका छन् ।
राज्यको निकायको छानबीनमा रहनुपर्ने पुर्जाले सरकारकै एक मन्त्री खुलमखुल्ला छलफल गरेको तस्विर उनले सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् ।
उनले पर्यटनमन्त्रीसँग शुक्रबार विहान भेटेका हुन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि आफूले मन्त्री किँरातीलाई भेटेको पुर्जाको सामाजिक संजालमा उल्लेख छ ।
‘निम्सदाई’ को नामले चर्चित कीर्तिमानी पर्वतारोही पुर्जाले गैरकानुनी रुपमा नेपाली र बेलायतको नागरिकता लिएको खुलेको थियो ।
आफूलाई नेपाली मूलको बेलायती नागरिक दाबी गर्ने पुर्जाले बेलायती नागरिकता बनेपनि नेपाली नागरिकता प्रयोग गरिरहेका थिए । बेलायती राहदानी हुँदा हुँदै उनले नेपाली राहधानी समेत बनाएका थिए ।
उनले २०१२ जुन २८ मा बेलायती पासपोर्ट बनाएका थिए । उक्त पासपोर्टमा उनको राष्ट्रियता बेलायत उल्लेख छ ।
सन् २०२२ सम्म म्याद रहेको सोही राहदानी प्रयोग गरेर उनी पटक पटक नेपाल पर्यटक भिषामा आउने गरेका छन् । बेलायतमा बनेको उनको पासपोर्टमा जन्मस्थान भने म्याग्दी रहेको उल्लेख छ ।
बेलायती राहदानी हुँदा हुँदै उनले २०१६ मार्च १५ मा नेपाली नागरिकको रुपमा नेपाली राहदानी लिएका थिए ।
दोहोरो नागरिकता लिनुलाई नेपालको कानुनले अपराधको रुपमा परिभाषित गर्दै आएको छ । सामान्य मान्छेको हकमा दोहोरो नागरिकता लिए फौजदारी कानुन समेत आकर्षण हुने गरेको छ । अध्यागमन ऐन अनुसार बेलायती नागरिकता र राहदानी हुँदाहुँदै नेपाली नागरिकता प्रयोग गरेर राहदानी लिने व्यक्ति कारबाहीको भागिदार हुन्छन् । यो अपराध पुष्टि भएमा त्यस्ता व्यक्तिले एक वर्षदखि ३ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ ।
नागरिकता सम्बन्धी मुद्दा परेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री र सांसदबाट अयोग्य भएका थिए ।