काठमाडौं । सत्ता गठबन्धनमा खटपट आएपछि केहीदिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन मात्रै फिर्ता लिएन दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले समेत सामुहिक राजिनामा दिए ।
राष्ट्रपति निर्वाचनलाई लिएर दलहरुबीच विभाजन र धुर्विकरण भएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टी उपप्रधान तथा उर्जामन्त्री समेत रहेका राजेन्द्र लिंङ्देनसहितका मन्त्रीहरुले ४२ दिन मात्रै सरकारमा रहेर बाहिरिए । यतिबेला नेपाली कांग्रेससहित ८ दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड सरकारलाई समर्थन गरेका छन् । तर, संसदमा विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री छन् ।
नयाँ धुर्विकरणसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र समेत विवाद शुरु भएको छ । स्रोतका अनुसार राप्रपाका बरिष्ठ नेता पशुपति शम्शेर जबरा नेतृत्वको समुहले हाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने र राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्नुपर्ने अडान राखेका छन् ।
यता राजेन्द्र लिङ्देन र प्रकाशचन्द्र लोहनी नेतृत्वको समुहले भने एमाले नेतृत्वको गठबन्धनमा सामेल भएर सरकारको विरोध गर्नुपर्ने तर्क राख्दै आएका छन् । स्रोतका अनुसार पशुपति शम्शेर जबराको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट सम्बन्ध रहेको छ ।
राणाकी छोरी देव्यानी राणा संलग्न भएको बहुराष्ट्रिय कम्पनि कोकाकोलाले राज्यलाई ७ अर्बभन्दा बढी कर छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले मुद्दा चलाएपनि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु राणाले सहयोगी भूमिका निभाएकी थिइन् । उनले मुद्दामा चलखेल गर्न तत्कालिन महान्यायधीवक्ता खम्ब बहादुर खाती मार्फत चलखेल गरेकी थिइन् ।
पशुपतिको परिवारलाई देउवा पत्नि आरजुले हरेक समय सहयोग गर्दै आएका कारण पनि राप्रपा भित्र पशुपतिले कांग्रेस नेतृत्वलाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन् । केहीदिन अघि एक टेलिभिजन अन्तर्वार्तामा राप्रपा नेता राणाले देउवाको प्रशंसा गरेका थिए । ५–५ पटक प्रधानमन्त्री भएर देउवाले ईतिहास रचेको उनको दाबी थियो ।
स्रोतका अनुसार पशुपतिको पक्षमा राप्रपामा बहुमत सांसद रहेका छन् । उनलाई ८ जना सांसदले साथ दिएका छन् भने लिङ्देनलाई ६ जना सांसदको मात्रै साथ रहेको छ । यद्धपी राप्रपाको संसदीय दलको नेता भने लिङ्देन नै रहेका छन् ।
केहीदिन अघि जिवित देवी कुमारीको रुपमा चितृत समिता बज्राचार्य राप्रपा प्रवेश गर्दा उनले पशुपतिलाई खबर नगरी प्रकाशचन्द्र लोहनीलाई बोलाउनुले समेत राप्रपा भित्रको विवादलाई सतहमा ल्याएको चर्चा हुन थालेको छ ।