थाँक्रेमा ‘अबैध ढुंगा खानी’ रोक्न नसक्दा बस्ती नै भाँसियो : सीडिओ र गाउँपालिका अध्यक्षको मिलेमतो

- दियोपोस्ट  

धादिङ्ग । खानी विभागबाट स्विकृति नै नलिई मापदण्ड विपरित धादिङ्गको थाँक्रे ७ स्थित ठाडोखोलामा संचालित अवैध ढुंगाखानी कारण बस्ती भासिएको छ ।

 

जिल्लास्थित प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको मिलेमतोमा कुमारी माता रोडा ढुंगा उद्योगले खानीले रजाइँ गर्दै आएको छ । स्थानिय ७६ जना वासिन्दाले खानीका कारण बस्ती जोखिममा रहेको विषयमा विभिन्न निकायमा उजुरी गरेपनि कुनैपनि निकायले सुनुवाई गरेका छैनन् । स्थानियबासीका अनुसार अवैध खानीका कारण सोमबार राती बस्ती नै भासिएको छ । ‘अहिले वस्ति नै भाँसिएको छ । हामीले गाउँपालिका अध्यक्षलाई पनि बोलायौँ । तर, उहाँ आउनु भएन । खानी संचालकहरु आएर पहिरो छेक्न पिलर उठाएर वाल लगाइदिन्छु भनेर आश्वासन दिनु भएको छ,’ पीडित कृष्ण बहादुर प्रजाले दियोपोस्टसँग भने,‘हाम्रो वस्ती भासिन थालेपछि वाल लगाएर कहाँ हुन्छ । हामी मुद्दा हाल्न जान्छौं ।’

स्रोतका अनुसार उक्त खानी संचालन गर्ने कुमारी माता रोडा ढुंगा उद्योग खानी विभागमा समेत दर्ता छैन । तर, गाउँपालिकाले भने उक्त अवैध खानीलाई नविकरण गरिदिएको छ ।

स्थानिय बासीले अवैध खानीका कारण बस्ती जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङ्ग, गाउँपालिका कार्यालय थाँक्रे र ईलाका प्रहरी कार्यालय खानीखोलामा निवेदन दिएका थिए । तर, उनीहरुको निवेदन सुनुवाई गर्नुको सट्टा प्रमुख जिल्ला अधिकारी ढकाल जिम्मेवारीबाट भाग्दै आएका छन् । यता गाउँपालिका अध्यक्ष आचार्य पनि गाउँपालिकामा स्थानियबासी पुग्दा उनी त्यहाँबाट सम्पर्कमा आउन चाहेका छैनन् ।

सोमबार साँझ बस्ती नै भाँसिएपनि थाँक्रे ७ का स्थानियले बोलाउँदा उनी सम्पर्कमा आउन चाहेका छैनन् । यता खानी संचालक मनोज सिग्देलले भने बस्ती नै भासिएपनि आफूहरुले खानी चलाएरै छाड्ने धम्की दिँदै आएका छन् ।