श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमाथि शंकाष्पद ‘कालोधन’ कारोबारको आरोप

- दियोपोस्ट  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा कालोधन लुकाउने गरेको आरोप लगाएको छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको उक्त पार्टीले विभिन्न बुँदामा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीमाथि आरोपको श्रङ्खला नै लगाएको छ ।
सहकारी र भण्डारी विरुद्ध प्रशारित पर्चामा १४ बुँदामा आरोप लगाइएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भण्डारीले आपसी मिलेमतोमा संस्थाको करिब ४० करोड रकम व्यक्तिगत नाफा कमाउने निकृष्ट उद्देश्यसहित घरजग्गामा लगानी गरि संस्था डुबाउने काम गरेको उक्त पार्टीको आरोप छ ।

त्यस्तै संस्थाकै ४० करोड भन्दाबढी लगानी रहेको भैरवकुण्ड हाइड्रोपावरमा समेत लगानी फसेको आरोप छ । सुरेन्द्र भण्डारी आफै संचालक रहेको उक्त हाइड्रोपावरले ऋण विभिन्न बैंकसँग ऋण समेत लिएर ऋण नतिरेको आरोप समेत सो पार्टीले लगाएको छ ।

सहकारीले प्रचलित नीति, नियम र नियमावली विपरित संचालक समितिमा निश्चित व्यक्ति र व्यक्तिगत स्वार्थ हावी गराई मनपरी ढंगले संस्था संचालन गर्दा संस्थागत बेतिथि, वित्तिय कुशासनअपचलन जस्ता खराब परिणाम देखिएको उनीहरुको आरोप छ ।

त्यस्तै भण्डारीले विभिन्न झूटो कागजात तयार पारी अदालतलाई समेत गुमराहमा राखेर नेवारी सभ्यतासँग जोडिएको ऐतिहासिक ‘समे फल्चा’ निर्माणमा अवरोध सिर्जना गरी नेवा समुदायको भावनामा खेलबाड गरेको समेत आरोप छ ।
गायक रामकृष्ण ढकाल, केशव पुरी लगायतको घर समेत गैरकानुनी रुपमा हडपेको आरोप समेत भण्डारीमाथि छ ।

आफैले संकटग्रस्त बनाएको सहकारीबाट भण्डारीले मासिक ४–५ लाख रुपैयाँ तलब लिएर व्यक्तिगत लुट मच्चाएको आरोप उक्त पार्टीले लगाएको छ । त्यस्तै भण्डारीले राजनीति र प्रशासनिक क्षेत्रका दलाल एवम् माफियाहरुले लुटेको कालोधनलाई सेतो बनाउन सहकारी संस्थाको दुरुपयोग गरेको आरोप नेकपा बहुमतले लगाएको छ ।

 

सम्बन्धित खबर