जर्मनीस्थित कर्मा रेष्टुरेन्टका मालिक फलिन्द्र चौलागाइँले नेपालबाट मानव तस्करी गरेको आरोप

दियोपोस्ट संवाददाता  

 

काठमाडौँ । जर्मनीको बर्लिन शहरमा रहेको नेपाली रेष्टुरेन्ट कर्माका मालिक फलिन्द्र चौलागाइँले नेपालीहरुलाई कामदार भिषामा जर्मनी पुर्याएर मानव तस्करी गरेको खुलाशा भएको छ ।
रोजगारीको प्रलोभन देखाउँदै कर्मा रेष्टुरेन्ट मार्फत जर्मनी लैजाने र त्यहाँ पुर्याएर बिचल्ली बनाउने गरेको आरोप उनीमाथि छ ।
उनले चर्को रकम असुली गरेर जर्मन लैजाने र त्यहाँ पुर्याएपछि भने विचल्ली पार्ने गरेको खुलेको हो ।

चौलागाइँले आफ्नै लगानीमा सञ्चालन गर्दै आएको कर्मा रेष्टुरेन्टका लागि दक्ष कामदारु आवश्यक परेको कागजात मिलाएर मोटो रकम बुझाउने जस्ता पायो त्यस्तै नेपालीलाई जर्मनी पुर्याउने गर्छन् । चौलागाइँले सन् २०१२ देखि नै यस्तो कार्य गर्दै आएका छन् ।

खासगरी यूरोपमा झिकाउने कामदारसँग विशेष दक्षता हुनुपर्ने व्यवस्था भएकाले ‘नेपाली कुक’ का नाममा यूरोप मात्रै छिराउने उद्देश्यका साथ कामदार झिकाउने गर्छन्, फलिन्द्र । आफ्नो रेष्टुरेन्टलाई कामदार चाहिएको बहाना बनाएर १५ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका फलिन्द्रले जर्मनी पुगिसकेपछि भने ५/७ महिना मात्रै आफ्नो रेष्टुरेन्टमा काम लगाउँछन् । यसरी जर्मन पुगेकाहरुले अन्यत्र काम पाएपछि फेरि कामदार आवश्यक परेको भन्दै मोटो रकम असुलेर अर्को कामदारसँग पनि असुली गर्ने गरिन्छ ।

पीडितहरुका अनुसार अर्को ठाउँमा काम नपाउँदासम्म फलिन्द्रले आफ्नै रेष्टुरेन्टमा अति सामान्य पारिश्रमिक लिएर काम गर्नु पर्ने शर्त राखेका हुन्छन् ।

जसरी भए पनि यूरोप मात्रै छिर्न पाए हुन्थ्यो भन्ने आशमा रहेकाहरुलाई फलिन्द्रको प्रस्ताव आकर्षक नै लाग्छ । तर यसरी जर्मनी पुर्याएकाहरु मध्ये अधिकाँशले दुःख पाउने गरेका छन् । फलिन्द्र पछिल्लो पटक जर्मनी पुर्याएर बेस्सरी दुःख पाउनेहरुमा पर्छन् प्यूठानका नारायणप्रसाद आचार्य ।

होटल सम्बन्धी सामान्य काम समेत नजानेका आचार्यलाई फलिन्द्रले १७ लाख रुपैयाँ लिएर कुकको काम गर्ने भन्दै जर्मनी पुर्याए । तर त्यहाँ पुगेपछि आचार्यले होटलमा सबैभन्दा तल्लो तहको काम गर्न बाध्य हुनुपर्यो । फलिन्द्रले जर्मनी लग्नेक्रमा आफूसँग गरेको सम्झौता रद्द गरिदिएपछि आफू सामान्य मजदुरको रुपमा रहेको र त्यसपछि असाध्यै दुःख पाएको आचार्यको गुनासो छ । जर्मनी जाँदा उत्साहसित पुगेका आचार्य त्यहाँ पुगेपछि भने बिचल्ली अवस्थामा छन् ।

आचार्य फलिन्द्रको सल्लाह अनुसार बूढानिलकण्ठ र जावलाखेलमा रहेका रेष्टुरेन्टमा काम गरेको अनुभवसहितको सिफारिसपत्रका आधारमा सेफको रुपमा जर्मनी पुगेका थिए । आचार्यले सेफ एशोसिएशनबाटै यस्तो सिफारिस लिएका थिए । यो प्रकरणबाट सेफ एशोसिएशनका केही पूर्व र वहालवाला पदाधिकारीले चलखेलकै आधारमा मोटो रकम जो कोहीलाई कुकको सिफारिस पत्र दिने गरेको रहस्य समेत खलेको छ ।