काठमाडौं । स्वर्गिय पत्रकार श्यामसुन्दर पुडासैनीलाई प्राइम टाइम टेलिभिजनले अदालतको फैसला भएको १ वर्ष वितिसक्दा समेत पारिश्रमिक भुक्तानी नदिएको पाइएको छ ।
श्रम अदालतले २०७९ चैत्र २६ गते फैसला हुँदाको अवधिसम्मको पारिश्रमिक भुक्तानी दिनु र पदमा बहाल गर्नु भनि फैसला गरेको पाइएको हो । श्रम अदालतका न्यायाधीशहरु बासुदेव आचार्य र निशा बानियाँको संयुक्त इजलाशले पुडासैनीलाई पदमा पुनर्बहाली गर्न र पारिश्रमिक दिन फैसला गरेको भेटिएको छ । सोही फैसला कार्यान्वयनका क्रममा धमलाले पुडासैनीलाई पारिश्रमिक बापत २२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएपछि १० लाख रुपैयाँको चेक दिएका थिए । तर, १० लाख रुपैयाँको चेक समेत बाउन्स भएपछि मृतकका दाई महेन्द्र पुडासैनीले विभिन्न व्यक्तिलाई गुहारेका छन् ।
प्राइम टेलिभिजनको प्रकाशन गृह टाईम्स ब्रोडकाष्टिङ नेटवर्क विरुद्ध पुडासैनीले अवकास बदरको माग गर्दै २०७८ कार्तिक ११ मा श्रम अदालतमा मुद्दा दायर गरेका थिए ।
मृतक पुडासैनीले श्रम अदालतमा दायर गरेको पुनरावेदन पत्र अनुसार उनले २०७६ वैशाख ३० गतेदेखि संवाददाताको रुपमा प्राइम टेलिभिजनमा काम गरेका थिए । तर, चार महिनापछि साउन ५ गते मात्रै नियुक्ती दिएको थियो । २०७६ चैत्र १७ देखि हाजिर हुन नदिएपछि २०७७ भदौ १७ मा प्रेस रजिष्ट्रार समक्ष निवेदन दिएका थिए । त्यसपश्चात धमला नेतृत्वको टाईम ब्रोडकास्टिङ प्रा.लीले २०७७ भदौ २८ मा प्रेस रजिष्ट्रार समक्ष पुडासैनीलाई अवकास गरेको विषय उल्लेख थिएन । तर, प्रेस रजिष्ट्रारमा भएको छलफलमा भने उनलाई २०७८ भदौ १३ गते नै पदबाट हटाइएको जानकारी गराइएको थियो ।
उनले अदालत समक्ष २०७६ चैत्र १७ गते देखिको साविक पद र तहमा पुर्नवहाली नहुँदासम्मका सम्पूर्ण पारिश्रमिक र सुविधा दिलाई पाउँ भन्दै पुनरावेदन दर्ता गराएका थिए ।
पुडासैनीलाई श्रमजीवी पत्रकार ऐन, २०५१ (संशोधनसहित) को दफा २५ विपरित गैरकानुनी रुपमा हटाएको उनका अधिवक्ताहरुले जिकिर गरेका थिए । त्यस्तै फैसलामा भनिएको छ,‘श्रेम ऐन, २०७४ को दफा १३९ विपरित उचित र पर्याप्त आधार कारण बिना सुनुवाईको मौका समेत नदिई सेवाबाट हटाउने व्यवस्थापक प्रत्यर्थीको निर्णय कानुन विपरित देखियो ।’
उनलाई हाजिर गर्न नदिएदेखि पुनर्वहाली नभएसम्मको पारिश्रमिक सुविधा सहित प्रतिष्ठानको सेवामा पुनर्वहाली हुने भनि फैसलामा ठहर गरिएको छ ।
पुडासैनी धमलाबीचकाे वार्ता अडियाे : अहिलेसम्म २२ लाख भएछ ६ महिनापछिको चेक दिनुस्
यसैबीच अदालतकौ फैसलापछि धमला र मृतक स्वर्गिय पत्रकार श्याम सुन्दर पुडासैनीबीचको वार्ता छलफलको अडियो समेत फेला परेको छ । अडियोमा पुडासैनीले अहिलेसम्म २२ लाख रुपैयाँ पाउनुपर्ने तर, आफूलाई ६ महिनापछिको १५ लाख रुपैयाँको चेक मागेका छन् ।
धमला : म काममा राख्छु । तिमीलाई सहयोग गर्छु ।
पुडासैनी : आवश्यकता र औचित्यको आधारमा हो काममा राख्ने । राख्नै पर्ने भन्ने पनि होइन । अफिसको माग आवश्यकता र औचित्य हुनुपर्यो । त्यो अलग्गै कुरा हो ।
धमला : जसरी हुन्छ मलाई तपाईंले साथ दिनुस् ।
पुडासैनी : हैन म साथ दिन्छु । मलाई पछिको दिएपनि हुन्छ त्यो म मान्छु ।
धमला : म ठूलो संकटमा छु ।
पुडासैनी : म पनि छु । मैले पहिले न्युज लेख्ने रिपोर्टिङ गर्नेदेखि हरेक काम मैले गर्थेंकी गर्थिनँ ?
धमला : म अहिले ठूलो पीडामा छु । ७ महिना, ६ महिना र ५ महिना भो तलब नखुवाएको पनि । तपाईं मित्र हुनुहुन्छ मलाई सहयोग गर्नुस् ।
पुडासैनी : तपाईंलाई मैले सहयोग गरिराखेकै छु नी ।
धमला : दाजु भाईबीच न्युनतम सहमति गरौँ । हामी जीवनमा मिलेरै काम गर्ने हो । तपाईंको पनि मलाई साथ चाहिन्छ । म केही गर्न चाहान्छु । तपाईंको साथबीना म केही गर्न सक्दिनँ ।
पुडासैनी : साथ मलाई पनि चाहिन्छ । तपाईंलाई पनि मेरो चाहिन्छ । एउटा सहमति गरौँ । अलिकति पैसा लिएर जाउँ, चेक लिएर जाउँ ।
पुडासैनी : अब २०÷२२ लाख भैसक्यो ।
धमला : तपाईं र म मिल्ने हो । दुई जना मिले हुन्छ । अरुले केही गर्ने होइन ।
पुडासैनी : यो महिनासम्म हेर्दा २२ लाख भैसक्छ । मैले कति छोड्दिम ल भन्नुस् । एकाउन्टमै गएर हिसाब गर्दा पनि हुन्छ २२ लाख हुन्छ । मलाई नगद ५ दिनुस् अनि १० लाखको चेक दिनुस् ।
धमला : २ वटा चेक काट उहाँलाई अहिले २ लाख नगद देउ । साढे २ को एउटा र साढे २ को एउटा चेक काटदेउ त ।
पुडासैनी : मलाई नगद पैसा चहिएन । १५ लाख रुपैयाँको चेक दिनुस् । अहिले पैसा चाहिएन । ६ महिनापछिको चेक काट्नुस् तर १५ लाखको हुनुपर्छ । यो महिनासकिएपछि २२ लाख रुपैयाँ हुन्छ । म ७ लाख रुपैयाँ छाड्दिन्छु । १५ लाखको चेक दिनुस् त्यो पनि ६ महिनापछिको अहिले मलाई पैसा चाहिएन । अहिले त्यो मलाई दिने नगदले अफिसमा जसलाई तलब तिर्नुपर्छ उसलाई तिर्दिनुहोला । त्यतिसम्म म सपोर्ट गर्नसक्छु । त्यो सपोर्ट भनेको त ठूलो सपोर्ट हो नी ।