काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अवकास समय नजिकिँदै गर्दा नयाँ गभर्नर नियुक्तीको रस्साकस्सी पनि शुरु भएको छ । बुधबार मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने निर्णय समेत गरिसकेको छ ।
गभर्नर नियुक्तीको प्रक्रिया शुरु हुँदै गर्दा केही व्यक्तिहरुको नाम समेत भावि गभर्नरको रुपमा चर्चा थालिएको छ । उमेरहद पार भइसकेका कतिपय व्यक्ति समेत भावी गभर्नरको रुपमा चर्चा भएको पाइएको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १५ मा गभर्नर नियुक्तीका लागि अर्थमन्त्रीको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने व्यवस्था छ । जसमा पूर्वगर्भर मध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित मध्येबाट नेपाल सरकारले तोकेको एक जना व्यक्ति सदस्य हुने व्यवस्था छ ।
उक्त समितिले आर्थिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरु मध्येबाट तीन जनाको नमावली नेपाल सरकार, मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्छ । मन्त्रिपरिषदले तीन जना मध्यबाट एक जनालाई गभर्नर नियुक्ती गर्नेछ ।
अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड २०७३ (पहिलो संशोधन) बुँदा नम्बर ३ अनुसार कार्यकारी प्रमुख वा गभर्नर हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य गरेको, ३० वर्ष उमेर पुगेको र ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था छ ।
यो मापदण्ड अनुसार बजारमा चर्चामा रहेका कतिपय व्यक्ति चर्चामै सिमित हुने अवस्था छ । किनकी उम्मेदवार हुनका लागि नै ६५ वर्ष उमेर ननाघेको हुनुपर्छ । पूर्व अर्थसचिव रामेश्वर खनालको नाम गभर्नरका लागि पटक पटक चर्चामा आउने गरेको छ । यसपटक पनि उनी चर्चामा छन् । तर, यो मापदण्ड अनुसार उनको उमेर ६५ वर्ष नाघिसकेको छ । अनलाइनखबरमा २०७० भदौ १३ मा प्रकाशित उनको रामकहानी अनुसार खनालको जन्म पाल्पाको तानसेनमा २०१३ साल असार २ मा भएको हो । यो मिति नै आधिकारीक हो भने उनी ६८ वर्ष पुरा भएका गभर्नरका उम्मेदवार हुन् । ६५ वर्षे उमेर पुगेका व्यक्ति गभर्नर नियुक्तीका लागि उम्मेदवार समेत बन्न पाउँदैनन् । उनको नाम समेत चर्चामा ल्याइएको छ । त्यसो त उनको नाम यसअघि पनि चर्चामा आएको थियो ।
२०७६ सालमा हालका गभर्नर महाप्रसाद अधिकारीको नियुक्ती हुनुअघि पनि उनको नाम चर्चामा थियो । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका आर्थिक सल्लाहकार समेत बनेका पात्र हुन् खनाल । डा. भट्टराई अर्थमन्त्री हुँदा अर्थसचिवको भूमिकामा समेत रहेका खनाललाई केही संचार माध्यमले फेरी गभर्नरको उम्मेदवार बनाइदिएका छन् । अर्थसचिवबाटै अवकास पाएका खनाल २०७० सालमा नेपाली कांग्रेस प्रवेश गरेका थिए । तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको हातबाट पार्टी सदस्यता ग्रहण गरेका उनी कांग्रेसमा केही वर्षपनि टिकेनन् । संविधान घोषणा भएपछि डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँ शक्तिको केन्द्रीय कार्यकारणी सदस्यको रुपमा उनी प्रवेश गरेका थिए । तर, उक्त दलमा पनि उनी लामो समय टिक्न सकेनन् । २०७३ चैत्रमा उनले भट्टराईको पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
६५ वर्ष उमेर पुगेका पूर्वमुख्यसचिव क्षेत्री पनि गभर्नरको उम्मेदवार
२०७४ असारमा मुख्यसचिव नियुक्त भएका राजेन्द्र किशोर क्षेत्री तीन महिनापछि उमेरहदका कारण पदबाट अवकास पाए । सरकारी रेकर्ड अनुसार विक्रम संवत २०१६ साल कार्तिक ८ गते काठमाडौंको लैनचौरमा जन्मिएका क्षेत्री गत कार्तिकदेखि ६५ वर्ष पुगेर ६६ वर्ष लागे । तर, उनलाई समेत केही संचार माध्यमले गभर्नरको उम्मेदवार बनाइदिएका छन् । जबकी अर्थमन्त्रालयको मातहतका सार्वजनिक पदमा नियुक्त हुने कार्यकारी प्रमुखहरुको उमेरहद ६५ वर्षसम्म मात्रै छ ।
आगामी चैत्र २४ गते हालका गभर्नर महाप्रसाद अधिकारी अवकास हुँदैछन् । अवकास हुनु एक महिना अघि नै अर्थमन्त्रीको संयोजकत्वमा गभर्नर सिफारिस हुनुपर्ने प्रावधान छ । तर, सरकारले हालसम्म सिफारिस भने गर्न सकेको छैन । एक महिना अघि नै गभर्नर विदामा बस्ने प्रचलन समेत छ ।