काठमाडौं । गत भदौ २३ गते नेपालमा सुशासनको माग गर्दै जेनजी पुस्ताले ऐतिहासिक शान्तिपूर्ण आन्दोलन गरेको थियो । तर, तत्कालिन सरकारले सुशासनको माग गर्ने किशोर किशोरीमाथि गोली चलाउँदा सोही दिन १९ जनाको ज्यान गयो । भदौ २४ मा आक्रोशित भिडले संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास लगायत अधिकांश सरकारी कार्यालयमा आगजनी गरिदिए । सोही आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री केपी ओली हेलिकोप्टर लिएर भाग्नु परेको थियो । फलस्वरुप मुलुकमा पूर्वप्रधानन्यायधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार बन्यो । सरकारले यही फागुन २१ म शान्तिपूर्ण निर्वाचन समेत गरिसकेको छ । निर्वाचनबाट नयाँ राजनीतिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब २ तिहाई हाराहारीको बहुमत पाएको छ । अब छिट्टै नयाँ सरकार बन्दै छ । तर, यसरी भएको ठूलो राजनीतिक उपलब्धीलाई नै चुनौती दिने गरी पर्यटन मन्त्रालयका एक सचिवले भने नातावाद, कृपावाद र अनियमिततामा किर्तिमानी बनाएका छन् ।
पर्यटन मन्त्रालयको सचिव रहेका मुकुन्द निरौलाले नेपाली कम्युनिस्ट पार्टीका सांसद समेत रहेका धनबहादुर बुढालाई कमिशनको लोभमा भुक्तानी दिन दबाव दिएको खुलेको छ । निर्वाचनको ७ दिन अघि मात्रै लुम्बिनी विकास कोषको ढुंगा छाप्ने लगायतको ठेक्का पाएको बुद्ध हिमाली निर्माण सेवालाई १० प्रतिशत कमिशनको लोभमा भुक्तानी दिन निरौलाले दबाव दिएको स्रोतले बताएको छ ।
‘करिब एक वर्षदेखि रोकिएको भुक्तानी दिन सचिव ज्यूले निरन्तर दबाव दिनु भयो,’ स्रोतले भन्यो,‘लुम्बिनी विकास कोषका विभिन्न पदाधिकारीलाई समेत उहाँले रकमानान्तर गरेर भुक्तानी गर्न दबाव दिनु भएको हो ।’
लुम्बिनी विकास कोषकै एक अधिकारी भने माथिल्लो निकायको दबावको आधारमा निर्वाचन अगाडीसम्म डेढ करोड रुपैयाँ भुक्तानीको दबाव आएको स्विकार गर्छन् । तर, उनले को बाट आयो भन्ने खुलाएनन् ।
सचिव निरौलाले नागरिक उडयन प्राधिकरणको महानिर्देशक नियुक्तीमा समेत चलखेल गरेको पाइएको छ । हाल कायममुकायम प्रमुख रहेका देव चन्द्र लाल कर्णलाई नै नियुक्त गर्न भन्दै निर्वाचन आयोगले समेत सहमति दिएको थियो । तर, सचिव निरौलाले आफ्नै नातेदार समेत रहेका जगन्नाथ निरौलालाई महानिर्देशक बनाउन टिप्पणी उठाउन दबाव दिएका छन् ।
प्राधिकरणको १२ औ तहमा अहिले प्रतापबाबु तिवारी रहेका छन् । त्यसपछि प्रेमनाथ ठाकुर, देवचन्द्र कर्ण, हंसराज पाण्डे र त्यसपछि जगन्नाथ निरौला रहेका छन् ।
पोखरा विमानस्थलमा भएको १८ अर्ब घोटाला प्रकरणमा समेत भ्रष्टाचार मुद्दा दायर भई हाल कारागारमा रहेका पूर्व महानिर्देशक प्रदिप अधिकारीका अति निकट पात्र रहेका निरौलालाई ल्याउन सचिव निरौलाले चलखेल गरिरहेका छन् । आफूलाई नेपाली कांग्रेस निकट बताउने अन्तिम बरियताका कर्मचारी निरौलालाई प्रदिप अधिकारीकै सिफारिसमा १२ औँ तहको उपनिर्देशक विमानस्थलको प्रमुख हुने व्यवस्था लत्याएर नियुक्ती गरिएको थियो ।
उनी विमानस्थलको प्रमुख हुँदा १७ करोड बराबरको सफ्टवेर खरिद गर्दा निरौलाले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा विचाराधिन छ । अख्तियारमा निरन्तर बयान दिइरहेका निरौलालाई नियुक्त गरेर नागरिक उडयन प्राधिकरणमा प्रदिप अधिकारीकै जस्तो ठूला घोटाला गराउने तयारीमा सचिव निरौला लागि परेका छन् ।
तत्कालिन एमाले सांसद महेश बस्नेतबाट बलात्कार भएको भन्दै हाल कानुनी लडाइँमा रहेकी शोभा पाठकको कोठामा डाँकाचोरीमा संलग्न निर्भय बाबु पर्साइँको स्वामित्व रहेको विमानस्थल नजिकैको एक होटलमा निरन्तर भेटिने सचिव निरौलाले नागरिक उडयन प्राधिकरणको नयाँ नियुक्तीलाई लिएर उक्त होटलमा शंकाष्पद भेटघाट गरेको समेत स्रोतले दियोपोस्टलाई बताएको छ ।