
धादिङ । बुढिगण्डकी जलविद्युत आयोजनाको भोगाधिकार क्षेत्र भित्र रहेको बुढीगण्डकी क्षेत्रमा धादिङ र गोरखाका विभिन्न स्थानमा अवैध रुपमा उत्खनन् भइरहेको पाइएको छ ।
बुढिगण्डकी जलविद्युत कम्पनिले स्थानिय निकाय र प्रशासनलाई पटक पटक लिखित पत्र लेख्दा समेत प्रशासन र जनप्रतिनिधिकै मिलेमतोमा अवैध उत्खनन् भइरहेको पाइएको हो ।
बुढिगण्डकी जलविद्युत कम्पनि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन रजौरियाका अनुसार केही गुण्डाहरुको समुह उनलाई समेत भ्ट्न आएका थिए । ‘केही गुण्डाहरुको समुह मलाई पनि भेट्न आएका थिए । उत्खनन्का लागि अनुमति दिनु पर्यो भनेर दबाव दिएका थिए,’ उनले भने,‘तर, मैले यसरी उत्खनन् गर्न मिल्दैन । यसले भाली आयोजना निर्माणका क्रममा भुक्षय हुन सक्छ भनी सम्झाएर पठाएको थिएँ ।’
कम्पनिले गोरखास्थित स्थानिय निकाय र जिल्ला प्रशासन र धादिङस्थित जिल्ला प्रशासन कार्यालयसहित सम्पूर्ण स्थानियलाई समेत पटक पटक पत्राचार गरेको पाइएको छ । तर, स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालयले बुढिगण्डकी जलविद्युत कम्पनिको पत्रलाई समेत बेवास्ता गरेर जबरजस्ती आफ्ना दल निकट गुण्डाहरुको समुहलाई परिचालन गरेर उत्खनन् गरिरहेका छन् ।

२०८१ पुस ९ गते धादिङको बुढिगण्डकी क्षेत्रसँग जोडिएका, सिद्धलेक गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखि गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, निलकण्ठ नगरपालिका, नेत्रावती डबजोङ गाउँपालिकालाई पत्र लेख्दै ढुंगा, गिट्टी, बालुवा जस्ता नदिजन्य पदार्थको उत्खनन् तथा उपयोगमा रोक लगाउन भनेको थियो । तर, धादिङका अधिकांश स्थानिय तहले बुढिगण्डकी जलविद्युत कम्पनिको पत्रलाई लत्याएका छन् ।
ज्वालामुखि गाउँपालिकाले त सुटुक्क ठेक्का गरेर गाउँपालिका अध्यक्ष यमनाथ दनैँले आफ्नो दल निकट गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेको समुहलाई उत्खनन्को ठेक्का दिएका छन् । राधेका भाई गोपि कृष्ण भण्डारीकै स्वामित्व रहेको कम्पनिलाई ठेक्का दिएर पालिका अध्यक्ष आफै गैरकानुनी उत्खनन्मा संलग्न भएका छन् । दनैले यतिसम्म गरेका छन्की नदिजन्य पदार्थसम्बन्धी ठेक्काको सुचना नै वेभसाइटबाट लुकाएर भूमिगत गिरोहलाई धन्दा जिम्मा लगाएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित रहेका दनैले उत्खनन्बाट लाभ लिएको समेत स्रोत बताउँछ ।
धादिङको ज्वालामुखि गाउँपालिका ५ खरी र ७ मा नदि किनारका क्षेत्रमा अवैध उत्खनन् भइरहेको विषयमा समाचार प्रकाशित हुँदा समेत सरोकारवाला निकाय मौन छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह मिडियाको सम्पर्कबाट भागेका छन् । त्यस्तै राजश्व शाखाका प्रमुख बाबुराम दुवाडी पनि संचार माध्यमको फोन समेत उठाउँदैनन् ।
‘समाचार सार्वजनिक भएपछि पनि राधे समुहको गाडीहरु चलिरहेको छ । उनीहरुले बालुवा लिएर हिँडेको देखिन्छ,’ खरिस्थित स्थानियबासीले दियोपोस्टसँग भने,‘प्रशासन र स्थानिय निकायकै मिलेमतोमा उत्खनन् भइरहेको भएर कसैको कुरा पनि सुनुवाई भइरहेको छैन ।’
जिल्ला प्रशासन कार्यालय धादिङका सुचना अधिकारी मोहन प्रसाद न्यौपानेलाई पटक पटक यस विषयमा जानकारी गराउन सम्पर्क गर्दा उनी समेत फोन उठाउँदैनन् ।