काठमाडौं । युवतीमाथि सामाजिक संजाल मार्फत हिंसाजन्य दुर्व्यवहार गरेको अडियो सहित समाचार प्रकाशन भएपछि दियोपोस्टमाथि धम्की आउन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गोरखाका नेता समेत रहेका सांसद सुदन गुरुङका निर्वाचनमा खटिएका वाङ्चुक लामाद्वारा एक युवतीमाथि म्यासेन्जर मार्फत हिंसाजन्य दुर्व्यवहार भएको थियो । सोही अडियो प्रशारण भएपछि गुरुङ निकट व्यक्तिहरुले दियोपोस्टको कार्यालय खोज्दै आतंकित बनाउने काम गरिरहेका छन् ।
दियोपोस्टको कार्यालयमा फोन गरी मोबाइल नम्बर ९८४१७४४…९६ नम्बरबाट फोन गरी वाङचुकले दियोपोस्टको कार्यालय खोजी गर्दै आफु र सुदन गुरुङ आउन लागेको जानकारी दिएका छन् । ‘तपाईंको कार्यालय कहाँ हो म र सुदन गुरुङ दाई आउँछौँ । त्यो महिला को हो त्यो पनि भन्नु पर्यो,’ उनले धम्की दिँदै भनेका छन् ।
त्यस्तै अर्का एक व्यक्तिले पनि कार्यालयको फोनमा फोन गरेर धम्की दिएका छन् । ‘तपाईंले सुदन गुरुङको तस्विर किन राखेको ? तपाइँको कार्यालय कहाँ हो भन्नुस् अहिले हामी आउँछौँ । तुरुन्त हटाई हाल । नत्र प्रोसेसमा जानुपर्ने हुन्छ,’ ती व्यक्तिले भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा १ बाट निर्वाचित सांसद सुदन गुरुङसँगै निर्वाचनमा खटिएका वाङचुक लामाले निर्वाचन अघि एक महिलालाई सामाजिक संजाल मार्फत दुर्व्यवहार गरेको अडियो प्राप्त भएपछि दियोपोस्टले प्रशारण गरेको थियो ।
त्यस्तै अर्का एक व्यक्तिले भने ‘पीडित युवतीलाई आफूहरुले फोन गरेको र समाचारमा आएको विषयमा जानकारी गराएको तर, फेसबुक ह्याक भएको बताएको’ भन्दै समाचार हटाउन माग गरेका छन् । ‘हामीले ती पीडित महिलालाई फोन गरेका छौँ । तर, उसले आफ्नो फेसबुक ह्याक भएको भनेर बताएको छ । दुवै पक्षको कुरा नसुनी किन समाचार प्रकाशन गर्नुभयो । त्यो तुरुन्त हटाउनुहोला,’ उनले भनेका छन् ।
अर्का कैलाश नाम गरेका एक व्यक्तिले भिडियो कसले दियो भन्दै धम्की दिइरहेका छन् । उनले दियोपोस्ट दर्ता भएको नभएको विषयमा समेत सोधीखोजी गर्दै छन् ।