‘फेक रेस्क्यू’ का ३३ प्रतिवादीमध्ये १२ जना धादिङका, नीलकण्ठ र गंगाजमुनाका मात्रै १० जना (विवरणसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौं-  पर्यटन क्षेत्रलाई नै बदनाम बनाउने गरी सञ्चालन गरिएको ‘फेक रेस्क्यू’ (नक्कली उद्धार) र बिमा ठगी प्रकरणमा  काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा धादिङ जिल्लाका व्यक्तिहरूको ठूलो संलग्नता देखिएको छ । कुल ३२+१ (३३) जना प्रतिवादी बनाइएको यस संगठित अपराधमा १२ जना प्रतिवादीहरू धादिङका मात्रै रहेका देखिएका छन् ।

प्रतिवादीहरूमध्ये नीलकण्ठ नगरपालिकाबाट ६ जना, गंगाजमुना गाउँपालिकाबाट ४ जना, ज्वालामुखी गाउँपालिकाबाट १ जना र बेनिघाट रोराङ गाउँपालिकाबाट १ जना रहेका छन्

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को अनुसन्धानपछि सरकारी वकील कार्यालयले दायर गरेको अभियोगपत्रमा ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालका सञ्चालकहरू नै ठगीमा संलग्न रहेको उल्लेख छ ।

धादिङका कुन-कुन व्यक्ति छन् संलग्न?

अभियोगपत्रका अनुसार धादिङका निम्न व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ:

१. प्रतिवादी नं. ५ – रविन्द्र अधिकारी: धादिङ, गंगाजमुना गा.पा.-५ (साविक फुलखर्क-१) का ३९ वर्षीय अधिकारी ‘नेपाल चार्टर सर्भिस प्रा.लि.’ का अध्यक्ष/शेयरधनी हुन् ।

२. प्रतिवादी नं. ७ – सन्दिप तिवारी: धादिङ, ज्वालामुखी गा.पा.-२ (साविक मैदी-५) का २८ वर्षीय तिवारी ‘रोयल होलिडेज एडभेन्चर प्रा.लि.’ का सञ्चालक/शेयरधनी हुन् । 

३. प्रतिवादी नं. १३ – सन्दिप ढुङ्गाना: धादिङ, नीलकण्ठ न.पा.-१२ का २५ वर्षीय ढुङ्गाना ‘हिमालयन मास्टर्स एडभेन्चर एण्ड ट्राभल’ का सञ्चालक हुन् । 

४. प्रतिवादी नं. १४ – शान्त कुमार बाँनिया: धादिङ, गंगाजमुना गा.पा.-५ (साविक फुलखर्क-२) का ४४ वर्षीय बाँनिया ‘म्याजिक हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि.’ का प्रबन्ध निर्देशक र ‘हेली अन कल प्रा.लि.’ का मार्केटिङ तथा सेल्स निर्देशक हुन् । 

५. प्रतिवादी नं. १५ – विनोद सापकोटा: धादिङ, नीलकण्ठ न.पा.-१२ (साविक साङकोष-१) का ३९ वर्षीय सापकोटा ‘नेपाल ट्रेक एडभेन्चर एण्ड एक्सपिडिसन प्रा.लि’ का प्रबन्ध निर्देशक र ‘हेली अन कल’ का अपरेशन हेड हुन् । 

६. प्रतिवादी नं. १६ – जिवन पाण्डे: धादिङ, बेनिघाट रोराङ गा.पा.-३ (साविक बेनिघाट-८) का ३८ वर्षीय पाण्डे ‘एरा इन्टरनेशनल हस्पिटल’ का सञ्चालक हुन् । 

७. प्रतिवादी नं. १७ – भानु ढकाल: धादिङ, गंगाजमुना गा.पा.-६ (साविक बसेरी-५) का ४७ वर्षीय ढकाल ‘एरा इन्टरनेशनल हस्पिटल’ का सञ्चालक हुन् । 

८. प्रतिवादी नं. २३ – बद्री लम्साल: धादिङ, नीलकण्ठ न.पा.-११ (साविक ज्यामरुङ-३) का ३८ वर्षीय लम्साल ‘स्प्रिच्युल एक्सकर्सन प्रा.लि.’ का सञ्चालक हुन् । 

९. प्रतिवादी नं. २४ – कबिन्द्र लम्साल: धादिङ, नीलकण्ठ न.पा.-११ (साविक ज्यामरुङ-३) का ३७ वर्षीय लम्साल ‘स्प्रिच्युल एक्सकर्सन प्रा.लि.’ का सञ्चालक हुन् ।  बद्री लम्साल र कविन्द्र लम्साल दाजुभाइ हुन् !

१०. प्रतिवादी नं. २५ – विष्णु प्रसाद लम्साल: धादिङ, नीलकण्ठ न.पा.-११ (साविक ज्यामरुङ-३) का ४५ वर्षीय लम्साल ‘नेपाल हाइकिङ एडभेन्चर कम्पनी’ का सञ्चालक/शेयरधनि हुन् ।

११. प्रतिवादी नं. २८ – चन्द्र प्रसाद प्याकुरेल: धादिङ जिल्ला, गंगाजमुना गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भएका ३७ वर्षीय प्याकुरेल ‘एल्टिच्युड यार प्रा.लि’ का मार्केटिङ मेनेजर् हुन् ।  

१२. प्रतिवादी नं. ३० – खोमराज अधिकारी (सन्तोष अधिकारी): धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका वडा नं. १४ (साविक धुवाकोट-९) स्थायी ठेगाना भएका ३९ वर्षीय अधिकारी ‘नेपाल चार्टर सर्भिस प्रा.लि.’ का पूर्व शेयरधनि तथा फ्लाईङ याक काठमाडौं ठमेलका सञ्चालक हुन् ।  

यी सबै प्रतिवादीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता र संगठित अपराध निवारण ऐन बमोजिम ‘संगठित रूपमा राष्ट्रहित प्रतिकूल काम गरेको’ कसूरमा मुद्दा चलाइएको छ। अभियोगपत्रमा उल्लेख भए अनुसार यी व्यक्तिहरूले मिलेमतोमा पर्यटकलाई सामान्य अवस्थामा पनि बिरामी बनाई हेलिकप्टर रेस्क्यु गराउने र नक्कली मेडिकल बिल पेश गरी विदेशी बिमा कम्पनीहरूबाट डलरमा भुक्तानी लिने गरेका थिए ।

३३ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीले सिफारिस गरे पनि सरकारी वकिलले ३२ जनालाई मात्र प्रतिवादी बनाएर मुख्य नाइके मानिएका राजेन्द्रबहादुर सिंहलाई चोख्याउने काम गरेको सम्बन्धमा अडियोप्रमाण सहित यसअघि नै दियोपोस्टले समाचर प्रकाशित गरिसकेको छहाल फरार सुचीमा रहेका प्रतिवादी श्याम सुन्दर कँडेलसँग उनले रेस्क्युको प्रमाण मेटाउन भूमिका निभाएको अडियो फेला परेको हो ।