
काठमाडौं । गृहमन्त्रालयको पदभार सम्हालेको २४ घण्टा नबित्तै तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएका गृहमन्त्री सुदन गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल समेत हेर्न थालेका छन् ।
यो प्रकरणमा जोडिएका तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादल र उनकी श्रीमती नैनकला थापा मगरलाई पक्राउ गर्ने तयारी भएको खबर आइरहँदा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त रहेका प्रेम कुमार राईबारे भने गुरुङलाई सुरक्षा निकायले सहि सुचना दिएको पाइएको छ । दियोपोस्टलाई राई भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुख्य अभियुक्तको बयान र केही तथ्य समेत प्राप्त भएको छ ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल अनुसन्धान अघि बढाएको थियो । एमाले नेता टोप बहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, रायमाझीका पुत्र सन्दिप रायमाझी, बादल पुत्र प्रतिक थापा लगायतलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो ।
दिल्लीबजार कारागारमा टोपबहादुर रायमाझीसहितका व्यक्तिहरु सजाय पुर्पक्षका लागि कारागार जीवन विताई रहेका छन् ।
हाल कारागारमा रहेका तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राईसँग प्रत्यक्ष जोडिएका र मुख्य अभियुक्तहरुको बयानमा समेत पोलिएका पात्र हुन् हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई । तर, तत्कालिन सरकराले राईलाई उन्मुक्ति दिएर अनुसन्धान प्रक्रियामा सोधपुछ समेत नगरि मुद्दा अभियोजन गरेको थियो ।
यद्धपी राई पछि गृहसचिव भएका टेक नारायण पाण्डे भने हाल कारागारमा छन् । तत्कालिन सरकारले मुद्दा चलाएका पीडित अभियुक्तहरुले प्रमुख आयुक्त राईसमेतको मिलेमतोमा आफूहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने ठगी भएको बयान दिएको फेला परेको छ ।
पीडितहरु केशब कुमार दुलाल र सानु भण्डारीले राईले समेत आफूहरुलाई ठगी गरेको बयान दिएको र बयानसँग सम्बन्धित कागजात समेत फेला परेको हो ।

‘गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका लगायत तेस्रो मुलुक पठाई आफूलाई फाइदा पुग्ने कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुने कार्य देखिएकाले यस विषयमा तपाईंको धारणा के हो ? खुलाई देखाइदिनुहोस्’ भनि प्रहरी अधिकारीले सोधेको प्रश्नमा मख्यु अभियुक्त केशव कुमार दुलालले भनेका छन्,‘म र मेरो आफन्तलाई राम बहादुर थापा बादल, प्रेम कुमार राई, ईन्द्रजित राई, राजेश बज्राचार्य, प्रतिक थापा, सन्देश शर्मा, डा. अजय क्रान्ति शाक्य, राजेश्वर बज्राचार्य, समेतले भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिन्छु भनि रकम लिई म आफै ठगीएको पीडित व्यक्ति हुँ । मैले कोही कसैलाई भुटानी शरणार्थी बनाई तेस्रो मुलुक पठाइदिन्छु भनी कोही कसैसँग कुनै रकम लिएको छैन । हाल यस मुद्दामा अनुसन्धानको क्रममा छु । न्यायलयले मलाई सफाई दिने कुरामा विश्वस्त छु ।’
दुलालले यही व्यहोराको बयान सरकारी वकिल कार्यालयमा पनि दिएका छन् । तर, राई र बादल मात्रै होइन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकिय सचिव राजेश बज्राचार्यलाई सोधपुछ समेत नगरी उन्मुक्ति दिएको थियो ।

त्यस्तै हाल कारागारमै रहेका अर्का पीडित अभियुक्त सानु भण्डारीले पनि अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईबाट आफूहरु पीडित भएको बयान दिएका थिए ।
‘ म स्वयं ईन्द्रजित राई, प्रेम कुमार राई, नैनकला थापा, निरज राई, महेश्वर न्यौपाने समेत सँग पीडित भएको हुँ । सो बाहेक अरु मलाई केही थाहा छैन ।’
पीडितहरुले २०७८ मंसिर २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ईन्द्रजित राई र प्रेम कुमार राईसमेत मिलेर आफूहरुमाथि ठगी भएको भन्दै उजुरी समेत दिएका थिए । प्रमुख आयुक्त प्रेम कुमार राईले आफ्नो मोबाइल नम्बर ९८५१११००५९ बाट जाहेरवाला समेत रहेका पीडित ९८४६१०२८०३ मा दुई पटक फोन गरेर बोलाएका थिए । फोनमा राईले ‘टोप बहादुर रायमाझी नभएको भए म यसको उजुरीमा कार्बाही शुरु गर्ने थिएँ । टोप बहादुर राज्यको हाईफ्रोफाइल राम्रो मानिस भएकाले यसको अब कुनै कारबाही गर्न सकिँदैन अब सीआईबी र अपराध महासाखामा उजुरी गर्नुहोस्’ भनेर जानकारी गराएको व्यहोरा प्रहरी अनुसन्धान प्रतिवेदनमै उल्लेख छ ।
सरकारी वकिलको रोहबरमा प्रहरीसँगको बयानमा सानु भण्डारीले राईलाई एक करोड रुपैयाँ दिएको बयान समेत दिएका थिए ।

‘मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यू (तत्कालीन सचिव प्रेमकुमार राई)को हो, उक्त रकम गाडीमा राखीदिनु’ भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम एक करोड गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र अब तपाईंहरुको काम हुन्छ तपाई जानु भनी प्रेमकुमार राईले मलाई भनेकोले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ,’ उनले बयानमा भनेका छन् ।

त्यस्तै अर्का अभियुक्त केशव दुलाले पनि सरकारी वकिलको रोहबरमा दिएको बयानमा रकम दिएको नै बताएका छन् ।
‘गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतिक थापा मार्फत मन्त्री क्वाटरमा पुल्चोकमा बोलाई ३ करोड नगदै बुझी लिएको, नक्सालस्थित निलगिरी थकाली भान्सार घरको आगनको उक्ततर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई (थप) एक करोड बुझी लिएको, तत्कालिन गृह सचिव प्रेम कुमार राईलाई डा. इन्द्रजित राई मार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल श्रावण महिनामा ३ करोड नगदै बुझी लिएको,’ दुलालले बयानमा भनेका छन् ।

जिल्ला अदालत काठमाडौंमा बुझाइएको एउटा मिसिलमा राईको नाम किटान गरेर रकम बुझाएको पत्र समेत सामेल छ । हाल कारागारमा रहेका पूर्वगृहमन्त्री बादलका सल्लाहकार ईन्द्रजित राईलाई निवेदन लेखेको देखिएको छ । जसमा तत्कालिन गृहसचिव प्रेम कुमार राई सचिवबाट अवकाश हुनुअघि एक महिना विदामा बसेको समयमा राईलाई घर किन्नका लागि होटल हिमालयनमा पैसा ल्याएर दिएको समेत उल्लेख गरिएको छ ।

हाल कारागारमा रहेका ईन्द्रजित राईले हिमालयन होटलमा आफूहरुका लागि केटी समेत ल्याइदिन भनेको र केटीसहित रात विताएको पैसा समेत आफूहरुले तिरेको उक्त मिसिलमा भेटिएको एउटा निवेदनमा उल्लेख छ ।
राईले राखेका थिए उजुरी तामेलीमा
नक्कली भुटानी शरणार्थी प्रकरणमा अपराधमा प्रहरीले संगठित अपराध, राष्ट्रहित प्रतिकुल कसुर, ठगी, किर्तेसहित एकिकृत कसुरमा मुद्दा चलाएको छ । २०८० जेठमा पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । तर, यही मुद्दा शुरुमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो ।

गृहसचिवबाट अवकास पाएको केही समयपछि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका राईले आफूसमेत आरोपित बनेको यो प्रकरणलाई शुरुमै तामेलीमा राखेको थियो ।
अख्तियारमा ३ मंसिर २०७८ मै उजुरी दर्ता गराएका पीडितहरुलाई राईकै मिलेमतोमा अन्याय गरिएको थियो । सुरुमा क्षेत्राधिकार आकर्षित नहुने भन्दै फाइल थन्क्याएको अख्तियारले दोस्रो पटक आफ्नै प्रमुखलाई सम्बोधन गरेको उजुरी नै तामेलीमा राखेको थियो ।