काठमाडौँ, ५ चैत । गत आइतबार पक्राउ परेका निलम्बित सांसद ल्हारक्याल लामालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय (जिप्रका)काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।
प्रजिअ रामकृष्ण सुवेदीले लामालाई हातहतियार तथा खरखजाना ऐनअनुसार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको जानकारी दिए । यसअघि फागुन ३० गते जिप्रकाले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमा जाँच गर्दा आइतबार बन्दुकको १४ थान गोली बरामद भएको थियो । पक्राउपछि सांसदबाट निलम्बित लामालाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिंहदरबाको हिरासत कक्षमा राखेर अनुसन्धान गर्दै आएको छ ।
ठगी गर्ने दुई पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाले विदेशमा राम्रो काम लगाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले रोल्पा घर भई हाल काठमाडौँ बस्ने खुमबहादुर केसी र नुवाकोट घर भई ललितपुर बस्ने पारस लोहनीलाई बिहीबार पक्राउ गरेको हो । केसीलाई दक्षिण अफ्रिकाको थोक पसलमा काम लगाइदिन्छु भनी चार व्यक्तिलाई प्रतिव्यक्ति रु छ लाख ५० हजार र लोहनीलाई पोर्चुगलमा पानीजहाजमा काम लगाइदिन्छु भनी चार जनासँग रु ११ लाखका दरले रकम लिलएको आरोपमा पक्राउ गरिएको हो ।
केसीलाई दरबारमार्गबाट र लोहनीलाई महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केसीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ र लोहनीलाई महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ । रासस