काठमाडौँ, १० चैत । एकीकृत नेकपा(माओवादी )का निलम्बित सभासद् ल्हारक्याल लामाको अहिले वैदेशिक रोजगार विभागले बयान लिइरहेको छ ।
विभागका प्रवक्ता एवम् निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा लामाको अहिले बयान लिने भईरहेको बताए ।
गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनको क्रममा बैङ्कको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उनी समातीएका थिए ।
पक्राउ परेका लामालाई गोली बरामद विषयमा गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडे पनि वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनः पक्राउ गरेको थियो ।
केशवबहादुर लामाले दुई वर्षअघि निलम्बित सांसद् लामाले वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर पनि नपठाएको भन्दै विभागमा उजुरी दिएका थिए ।
रेग्मीले आज दिनभर लामाको बयान हुने र साँझसम्म निर्णय आउने बताए । “बयान सकिएपछि धरौटीमा छोड्ने की अदालतमा मुद्दा हाल्ने निर्णय हुन्छ, सोही अनुरुप उनी आज रिहा हुने वा नहुने तय हुन्छ ” रेग्मीले बताए ।
प्रवक्ता रेग्मीले दुई वर्षअघिनै आफूहरुले लामालाई पक्राउ गर्न प्रहरीलाई पत्र पठाए पनि आइतबार मात्रै विभागमा उपस्थित गराइएको बताए ।