गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यता अन्त्य

दियो पोस्ट  

कञ्चनपुर, १२ चैत । कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको शङ्करपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन सञ्चालन नहुँदा बिरामी र गर्भवती महिलालाई गोरु गाडामा राखेर शङ्करपुरका बासिन्दाले स्वास्थ्य चौकी पु¥याउने कार्य गर्दै आएका थिए ।

सडकको स्तरोन्नतिसँगै एम्बुलेन्स सेवा सञ्चालन भएपछि बिरामीलाई स्वास्थ्यचौकी पु¥याउन र अवस्था गम्भीर भएका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पठाउन निकै सहज भएको स्वास्थ्य चौकीका प्रमुख श्यामनारायण गुप्ताले बताए ।

एम्बुलेन्स सेवा सञ्चालन भएको पाँच महीनाको अवधिमा ६० बढीले एम्बुलेन्सको सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख गुप्ताको भनाइ छ । “विगतमा एम्बुलेन्स नहुँदा बाध्यतावश गोरु गाडामा बिरामी र सुत्केरी हुने महिलालाई स्वास्थ्यचौकी पु¥याउनुपर्ने बाध्यता थियो”, गाउँपालिका–३ का वडाध्यक्ष शिवनारायण चौधरीले भने, “सडक नै भरपर्दो नभएपछि यातायातका साधन सञ्चालन हुँदैनथे । सडकको स्तरोन्नति हुन थालेपछि एम्बुलेन्स सेवा सञ्चालन गर्न सहज भएको छ ।”

गाउँपालिका नजिकका बासिन्दाले अझै बिरामी बोक्न गोरु गाडा प्रयोग गरेका भए पनि टाढाका बासिन्दाले एम्बुलेन्सको प्रयोग गर्न थालेका छन् । गाउँपालिकासम्म पुग्ने सडकको स्तरोन्नतिको कार्यलाई द्रुतगतिमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष मदनसेन वडायकले बताए ।

“कर्जा काढेरै भए पनि यसवर्ष सडक स्तरोन्नतिको कार्य गरेर छाडने योजना छ”, उनले भने, “स्थानीय बासिन्दालाई सहजरूपमा स्वास्थ्यसेवा प्रदान गर्न आतुर छौँ, सडककै कारण बिरामी परेका बासिन्दाको ज्यान नजाओस् भन्ने हो । त्यसै कुरालाई मध्यजनर गरी एम्बुलेस ल्याएका हौंँ । सडकको अवस्थामा पनि सुधार हुन्छ ।”

सुत्केरीलाई स्वास्थ्य संस्थाबाटै निःशुल्क ‘घ्यू’ उपलब्ध

आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा निःशुल्क ‘घ्यू’ लगायतका सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको ‘बर्थिङ सेन्टर’मा सुत्केरी हुन आउने आमालाई विशेष सुत्केरी कार्यक्रमअन्तर्गत घ्यूसँगै नेलकटर, तौलिया, टुथब्रस, टुथपेष्ट र न्यानो झोला उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सामग्री वितरणसँगै प्रयोग गर्ने तरिकासमेत सुत्केरी हुन आउने आमाहरुलाई सिकाउने समेत गरिएको छ । “व्यवहार परिवर्तन गर्न र आमा र शिशुलाई स्वस्थ राख्न सामग्री निःशुल्क उपलब्ध गराई प्रयोग गर्न सिकाउने व्यवस्था समेत गरेका छौँ” स्वास्थ्यचौकी प्रमुख गुप्ताले बताए ।

गाउँपालिकामा रहेका लालझाडी स्वास्थ्यचौकी, नौरङ्गा स्वास्थ्यचौकी र देखतभूली स्वास्थ्यचौकीमा कार्यक्रम लागू गरिएको छ । कार्यक्रम सञ्चालन भएको दुई महीनाको अवधिमा ५५ आमाले सो सेवा लिएका छन् । गाउँपालिकाले सुत्केरी हुन आउने आमाका लागि निःशुल्क वितरण हुने सामग्री खरीदका लागि बजेटको व्यवस्था मिलाएको छ ।

जिल्लामै पहिलो पटक लागू गरिएको कार्यक्रमका माध्यमबाट मातृ र शिशु मृत्यु दरमा कमी ल्याउन मद्दत पुग्ने बताइएको छ । स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा असार मसान्तदेखि हालसम्म ५६ महिला सुत्केरी भएका छन् । गत वर्षको यसै अवधिमा स्वास्थ्यचौकीमा ६० महिला सुत्केरी भएका थिए ।