करोडौँ ठगी गर्ने ‘केपी’ ताम्राकारलाई पक्राउ गर्न भक्तपुरका एसपी हिमालय श्रेष्ठ असफल !

दियो पोस्ट  

काठमाडौं, १२ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा भक्तपुर जिल्ला पूर्व अधयक्ष कृष्ण प्रसाद ताम्राकारको ठगीभन्दामा भक्तपुरकै प्रहरी प्रमुखको संरक्षण रहेको पाइएको छ ।
भक्तपुरमा सञ्चालित ‘होटल यातु’ मा शेयर लगानी गराएर मनसुन विक्रम शाह र उनकी पत्नि शरु महतलाई एक करोड १५ लाख रुपैयाँ ठगी गर्ने ताम्राकारलाई एसपी श्रेष्ठले एक वर्षसम्म पक्राउ गर्न सकेका छैनन् । तर, ताम्राकार भने खुलमखुल्ला हिँडिरहेका छन् ।


होटल सञ्चालनमा आउनु अघि नै व्यवस्थापनमा गुण्डा नाइके गणेश लामाका मान्छे भनेर चिनिएिका कुन्साङ लामालाई ल्याएर आफूलाई त्यहाँबाट योजना बद्ध रुपमा बाहिर निकालेको र आफूलो लगानी गरेको १ करोड १५ लाख रुपैयाँ अहिलेसम्म नपाएको पीडित शरु महतको आरोप छ ।


पीडित महतले आफूलाई ठगी गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय भक्तपुर, गृहमन्त्रालय, प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबी, महानगरीय अपराध अनुसन्धान महासाखा लगायत विभिन्न निकाय धाएका थिए ।


गृहमन्त्रालयले ताम्राकारलाई पक्राउ गरी कानुनी कारबाही गर्न निर्देशन दिएको २४ दिनपछि गत असार ठगी मुद्दा दर्ता भएको थियो ।

ठगी आरोपमा पटक पटक पक्राउ पछि छुटेका कृष्ण प्रसाद ताम्राकार


बुटिक होटलको रुपमा परिचित होटल यतुमा मनसुनका श्रीमती शरु महतको २४ प्रतिशत र उनीहरुकै अर्को होटल कोटियार्डको २४ प्रतिशत गरी जम्मा ४८ प्रतिशत शेयर रहेको छ । महत र होटल कोटियार्डको तर्फबाट ९६ लाख शेयरमै लगानी गरेको कागजमा उल्लेख छ । त्यस्तै होटल निर्माणमा आफूले ३० लाख भन्दा धेरै लगानी गरेको शाहको भनाई रहेको छ । होटल सञ्चालनमा नआउँदै गुण्डार्दी शैलीमा शेयर कब्जा गरेका ताम्राकारले अहिले आफ्नो श्रीमतीको नाममा होटल याचु नाम राखेर सोही भौतिक संरचनामा होटल सञ्चालन गर्दै आएका छन् ।


भक्तपुर उद्योग वाणिज्य संघको ५० वर्ष पुगेको स्वर्ण महोत्सवमा स्मारिका प्रकाशित भएपछि उक्त स्मारिकामा होटल यचुको विज्ञापन देखेपछि उनले आफू ठगिएको चाल पाएका थिए ।


ठगिएको चाल पाएपछि २०७४ चैत्र १२ गते उनी भक्तपुर प्रहरीको सरणमा पुगेका थिए । तर तत्कालिन प्रहरी प्रमुख एसपी किरण राणाले जाहेरी समेत लिन अस्विकार गरेकी थिइन् ।


पीडित शरु महतले भक्तपुर प्रहरीले जाहेरी लिन समेत अस्विकार गरेपछि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीमा जाहेरी दिएकी थिइन् । सिआइबीका तत्कालिन डिआइजी पुष्कर कार्कीले एसपी जीवन श्रेष्ठ र कवित कटुवाललाई उक्त मुद्दा हेर्ने जिम्मा दिएका थिए । डिएसपी कटवालले ताम्राकारलाई फोन गरी सिआइबीको कार्यालयमा बोलाएपछि भने उनले १ हप्ता भित्र रकम दिने सम्झौता गरेर बाहिरिएका थिए ।


तर ठगी धन्दामा लागेका ताम्राकारले सिआइबीलाई छक्याउँदै उच्च अदालत पाटनमा निषेधाज्ञा आदेशका लागि मुद्दा जाहेर गरेका थिए । तर, पाटन जिल्ला अदालतले उनको निषेधाज्ञा माग खारेज गरिदिएपछि उनलाई सिआइबीले पुन पक्राउ गरेको थियो । पक्राउपछि उनलाई सम्पूर्ण कागजात सहित मुद्दा चलाउनका लागि भन्दै भक्तपुर प्रहरी परिसर पठाइएको थियो । तत्कालिन एसपी राणाले ताम्राकारलाई मुद्दा चलाउनुको सट्टा ‘केपी दाई त्यस्तो मान्छे होइन’ भन्दै जाहेरी समेत दर्ता नगरी भगाएकी थिइन् ।


‘उहाँलाई ताम्राकारले इन्सपेक्टर हुँदादेखि नै चिन्नु हुँदो रहेछ । सिआइबीको डिआइजीले पठाएको चिठीलाई एसपी राणाले ‘यस्तो भएन, उस्तो भएन’ भन्नु भयो । उल्टै हामीलाई थर्काउनु भयो,’ पीडित शाह भन्छन्,‘तत्कालिन एसपीले ताम्राकारलाई थुन्न आवश्यक नभएको भन्दै छाडिदिनु भयो । त्यतिबेला एसपीले भन्नु भयो, ‘नत्र तिमीहरुलाई पनि म समस्या पार्छु । अहिले उहाँलाई पठाइदिन्छु । यो डकुमेन्ट स्टडी गर्छु । ४/५ दिनपछि तपाईंहरुलाई म सम्पर्क गर्छु । केपी दाई त्यस्तो हुँदै होइन । म इन्सपेक्टर हुँदैदेखि चिन्छु ।’

तत्कालिन एसपी राणाको सरुवा भएपछि आएका एसपी हिमालय श्रेष्ठले पनि मुद्दा दर्ता समेत नगरेपछि पीडित परिवार महानगरीय प्रहरी अपराध महासाखा टेकु पुगेको थियो ।


अपराध महासाखाका एसएसपी धिरज प्रताप सिंहको निदेशनमा ताम्राकारलाई त्यतिबेला नै भक्तपुरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका ताम्राकारलाई छुटाउन भक्तपुरका प्रतिनिधिसभा सदस्य महेश बस्नेत समेत पुगेका थिए । बस्नेतले एसएसपी सिंहलाई ‘जागिर खाइदिने’ धम्की दिएपछि ताम्राकार छुटेको पीडित परिवारको भनाई छ ।


पीडित परिवारका अनुसार ताम्राकारलाई २ दिनसम्म म्याद थप नै नगरी छाडिएको थियो ।
प्रहरीले जाहेरी समेत दर्ता नगरेपछि पीडित परिवारले गृहमन्त्री राम बहादुर थापालाई समेत भेटेका थिए । ४५ मिनेट लगाएर घटना सुनेका गृहमन्त्री थापाले तुरुन्त प्रहरी प्रमुख सर्वेन्द्र खनाल, भक्तपुरका सिडिओ, तत्कालिन उपत्यका हेर्ने डिआइजी मनोज नेउपाने र भक्तपुरका एसपी हिमालय श्रेष्ठलाई गृहमन्त्रालयमा बोलाएका थिए ।

गृहमन्त्रीकै अगाडी प्रहरी प्रमुख खनालले ‘यस्तो विषय मन्त्रालयमा कसरी आइपुग्यो ?’ भन्दै डिआइजी मनोज नेउपानेलाई हप्काएका थिए ।
गृहमन्त्री थापाले समेत निर्देशन दिएपछि पीडित परिवार गृहमन्त्रालयबाट न्याय पाउने आसमा बाहिरिएका थिए । तर, एसपी श्रेष्ठले भने पीडित परिवािरलाई नै तनाव दिन थाले ।


‘हामीलाई केही बेरमा एसपी हिमालय कुमार श्रेष्ठको फोन आयो । ‘मेरो कम्प्लेन गृहमन्त्रालयमा पुर्याउने ? तिमीहरु बोलाउँदा परिसर नआउने ? माथिको पावर लगाउने ?’ यस्तै यस्तै शब्दले मलाई थर्काउनु भयो ,’ पीडित शाह भन्छन् ।

गृहमन्त्रालयले ताकेता गरेको झन्डै २३ दिनपछि मात्रै एसपी श्रेष्ठले जाहेरी दर्ता गरेका थिए । गत असार २४ गते जाहेरी दर्ता भएपनि ठगी गर्ने ताम्राकार खुलमखुल्ला हिँडी रहेका छन् । भक्तपुरका विभिन्न कार्यक्रममा प्रहरी एसपी श्रेष्ठसँगै उनी भेटिएपनि कुनै कारबाही भएको छैन ।


‘अदालतको स्टेअर्डरले पक्राउ गर्न मिलेन, प्रक्रियामै छ : एसपी श्रेष्ठ


भक्तपुरका प्रहरी प्रमुख उपरिक्षक हिमालय श्रेष्ठले जिल्ला अदालत र उच्च अदालतको स्टे अर्डरका कारण ताम्राकारलाई पक्राउ गर्न नसकिएको बताए ।


‘म मिटिङमा छु । त्यो प्रक्रियामै छ । छानबीन गरिरहेका छौँ,’ एसपी श्रेष्ठले दियोपोस्टसँग भने,‘जिल्ला अदालत र उच्च अदालतको स्टे अर्डर छ ।’


तर एक वरिष्ठ अधिवक्तका अनुसार ठगी मुद्दा फाैजदारी मुद्दा भएकाले निषेधाज्ञा जारी हुँदैन । लेनदेन विवादमा देवानी मुद्दामा भने प्रहरीले धरपकड गर्ने कार्य गरे अदालतले निषेधाज्ञा जारी गर्ने गर्छ ।


गत मंसिरमा उच्च अदालत पाटनले दिएको आदेशमा ‘फौजदारी अपराध सम्बन्धमा अनुसन्धान गर्ने कार्य उपर रोक नलगाएको’ र लगाउन नहुने भन्दै प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो लगायत प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।

याे पनि पढ्नुहाेस्

उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष ताम्राकारको ‘ठगीधन्दा’मा सांसद बस्नेत, एसपी श्रेष्ठकै सेटिङ !

उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारबाट यसरी ठगिए मनसुन दम्पती